नेपाल चेम्बर अफ कमर्सले ८औं संस्करणको चेम्बर एक्स्पो आयोजना गरेको छ । भृकुटीमण्डपमा माघ १७ देखि २१ सम्म पाँच दिन एक्स्पो चल्नेछ । यसैक्रममा एक्स्पो आयोजना गर्नुको कारण लगायत विविध विषयमा केन्द्रित रहेर नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालसँग गरिएको संक्षिप्त कुराकानीः
एक्स्पो आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?
आर्थिक गतिविधिलाई चलायमान बनाउन यस्ता खालका एक्स्पोले महत्वपूर्ण भुमिका खेलेका हुन्छन् । यसले बजारलाई धेरै सहजता प्रदान गरेको हुन्छ । नयाँ नयाँ ब्राण्ड तथा प्रोडक्ट प्रदर्शनीमा देख्न सकिन्छ । यही उद्देश्यलाई पुरा गर्न हामी एक्स्पो गर्दैछौं ।
यस पटक चेम्बर एक्स्पोमा सफ्टवयर एण्ड एआई प्रोजेक्टलाई प्राथमिकता दिनुको कारण के हो ?
सूचना तथा प्रविधिको विकासलाई हामीले प्राथमिकतामा राखेका छौं । सूचना तथा प्रविधिको विकास बिना मुलुकको विकास सम्भव छैन । एआईको क्षेत्रमा संसारभर भएका नयाँ प्रविधिलाई हामीले सोकेस गर्नेछौं । ‘सफट्वयर एण्ड एआई प्रोजेक्ट’का १२ वटा स्टल चेम्बर एक्स्पोमा रहने जानकारी गराउन पाउँदा गौरव महसुस भएको छ । सूचना र प्रविधिका लागि सरकारले पनि प्राथमिकता राखेको छ । हामीले पनि यो क्षेत्रलाई प्रवद्र्धन गर्दैछौं ।
एक्स्पोमा कति वटा स्टल रहन्छन् ?
एक्स्पोमा हामीले नेपाली उत्पादनलाई प्राथमिकता दिन्छौं । तरपनि, विदेशी उत्पादन र व्यवसायीलाई पनि हामी समेट्छौं । विभिन्न नयाँ नयाँ ब्राण्ड तथा प्रडक्ट एक्स्पोमा रहन्छन् । स्वदेशी र विदेशी गरी १ सय २५ भन्दा बढी स्टलहरु एक्स्पोमा राख्नेछौं ।
कति दर्शकले एक्स्पो अवलोकन गर्ने तपाईंहरुको अपेक्षा छ ?
हामीले सन् २०१५ बाट एक्स्पोको सुरुवात गरेका हौं । अहिले आठौं चरणमा आइपुगेको छ । प्रत्येक चेम्बर एक्स्पोमा दर्शकको उत्साहजनक उपस्थिति देखिन्छ । यसपटक पनि अझ बढी दर्शक अपेक्षा गरेका छौं । सूचना तथा प्रविधिलाई फोकस गरिएकाले पनि दर्शकको आकर्षण रहनेमा विश्वस्त छौं । पाँच दिनसम्म ५० हजार भन्दा बढी दर्शकले एक्स्पो अवलोकन गर्नेमा हामी विश्वस्त छौं ।
एक्स्पो सफल बनाउन कसकसको साथ छ ?
चेम्बरका सबै साथीहरु एक्स्पो सफल बनाउन लाग्नुभएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसंगको सहकार्यमा चेम्बर एक्स्पो हुँदैछ । विभिन्न प्रायोजकहरुको पनि उत्साहजनक साथ रहेको छ । सबैको साथ र सहयोगबाट नै एक्स्पो सफल हुनेछ ।
एक्स्पोमा केकस्ता बस्तुहरु प्रदर्शनीमा रहन्छन् ?
हामीले एक्स्पोलाई विविधीकरणमा जोड दिएका छौं । विगतमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय बस्तुहरु प्रदर्शनीमा रहनेछन् । कृषिजन्य वस्तुहरु, हस्तकला, लत्ता कपडाका सामानहरु रहन्छन् । अटोमोबाइल, इलेक्ट्रोनिक्स, होम एप्लायन्सेस, लोजिस्टिक्स, टेक्सटाइल, फर्निचर, गार्मेन्ट्स, लेदर्स, ज्वेलर्स, कस्मेटिक्स, खाद्य तथा डेरी उत्पादन लगायतका स्टल एक्स्पोमा रहन्छन् ।
नेपाल बाहेक कुन कुन देशका सामानहरु देख्न सकिन्छ ?
चेम्बर एक्स्पोमा नेपालकै उत्पादन प्राथमिकतामा पर्छन् । बंगलादेश, भारत, चीन, थाइलाइण्ड, युएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तान लगायतका देशहरुमा उत्पादित बस्तुहरुको प्रर्दशनी र व्यवसायीहरुको सहभागिता पनि रहनेछ ।
विदेशका बस्तुहरु प्रदर्शनीमा राखेर नेपालले कसरी लाभ लिन सक्छ ?
विदेशबाट प्रदर्शनीमा आएका बस्तुहरुको माग राम्रो भएमा ती बस्तुहरुलाई नेपालमा नै उत्पादनको वातावरण बनाउन हामीले भूमिका खेल्नेछौं । ती देशहरुको प्रविधिलाई झिकाएर नेपालमै लगानी गर्ने वातावरण बनाउने पहल हुनेछ । विदेशी उत्पादन र प्रविधिलाई नजिकबाट सिक्नका लागि समेत सहयोग पुग्नेछ ।
Comments are closed.