व्यवसाय र बैंक एक अर्काका परिपुरक हुन्, एउटा टाट पल्टिने, अर्को नाफामा जाने हुँदैन

कपिल शिवाकोटी, कार्यसमिति सदस्य, नाडा

समग्र अटो मोबाइल्स क्षेत्रको अवस्थामा मन्दी छाएको छ । त्यसमा पनि हामी कमर्शियल गाडी बिक्री गर्नेहरुको अवस्था झनै गाह्रो अवस्थामा पुगेको छ । उपभोक्ताको आम्दानी घटेको कारण पनि होला, उपभोक्ताले बजारमा खर्च गर्ने ट्रेन्ड नै घट्दै गएको छ ।

अर्थतन्त्रमा सुधार हुँदै गएको भनिन्छ तर हाम्रो केसमा झनै नकारात्मक प्रभाव पर्दै गएको छ । पहिलेदेखि नै कमर्शियल गाडीमा बैंकले कम लगानी गर्दै आएको क्षेत्र हो । त्यस माथि सबै खालको अटो मोबाइल्समा बैंकले लगानी गर्न छाडेकाछन् । निरुत्साहित गर्दै गएकाछन् । बैंकको सहयोग नभएपछि गाडी किन्ने भन्ने नै हुन्न । एकातिर माग कम त्यसमाथि बैंकको सहयोग नहुँदा गाह्रो परेको छ । जसले गाडी किनेका थिए, त्यसको ब्याजदर पनि धेरै नै बढेको छ । इएमआई तिर्न सक्ने अवस्था छैन । तिर्न नसक्दा गाडी थन्काएर बस्नुपर्ने अवस्था छ । ठेकेदारहरुले काम पाएका छैनन् । काम नहुँदा मेसिन चल्ने कुरा भएन, यसले तिनै गाडीको कर्जा तिर्न सक्ने अवस्था पनि छैन । यही अवस्था रहेमा सबै क्षेत्रमा अफ्ठ्यारो पर्छ ।

सरकारले बजारलाई नियन्त्रण गर्ने र ब्याजदरमा कमी नगरेको अवस्थामा स्थिति झनै बिग्रेर जाने निश्चित छ । सरकारले बजारलाई कुन बेला नियन्त्रण गर्ने र कुन बेला छाड्ने भन्ने कुरामा त ध्यान पुराउनुपर्ने हो । राज्यले स्थिति थप नबिग्रदै ध्यान पु¥याए ठिकै हो नत्र ब्याजदर बजारले नियन्त्रण गर्ने हो, सरकारको कुनै भूमिका नै हुँदैन भनेर पन्छिँदै गए सबै तिर असर पुग्छ । व्यवसायीले पनि यति कारोबार गर्छु, यति ब्याज तिर्छु, यति नाफा राख्छु भनेर व्यावसायिक योजना बनाएको हुन्छ, त्यो अनुसार नभएपछि व्यवसाय चौपट हुन्छ । व्यवसाय बिग्रिएपछि ऋण तिर्न सक्ने अवस्था हुन्न ।

अहिले बैंकले यति नाफा कमायो भन्ने सुनिन्छ, व्यवसाय र बैंक एक अर्काका परिपुरक हुन्, एउटा टाट पल्टिने, एउटा नाफामा जाने भन्ने हुँदैन । बैंकलाई मात्र राम्रो बनाउँछु, व्यवसाय जेसुकै होस् भनेको अवस्था ढिलोचाँडो बैंकलाई असर पर्छ । अहिले बैंकमा प्रभाव देखिएको छैन । यो वर्ष व्यवसायीलाई सहयोग नगरेको अवस्थामा अर्को वर्ष बैंकमा त्यसको प्रत्यक्ष प्रभाव पर्छ, त्यति खेर सुधार गर्न खोज्दा व्यवसायी उठ्न नसक्ने अवस्थामा पुगिसकेका हुन्छन् । बैंकले व्यवसायीलाई अहिले नै उठाउन सहयोग गर्नुपर्छ । अहिले आयात खोलिएको छ, जुन हाम्रो मागको एक प्रतिशत मात्र हो । मुख्य कुरा अटोमोबाइल क्षेत्रलाई बिलासिताको क्षेत्र मान्ने नीति नै गलत छ । अझ कमर्शियल भेयिकल्स त देशको मेरुदण्ड हो । यति धेरै नागरिक गरिबीको रेखामुनी रहेको देश छ । धेरैले सार्वजनिक यातायात प्रयोग गर्छन् । तिनमा लगानी निरुत्साहित गरेर सरकारले गल्ती गरेको छ । हामीले भन्दा भन्दा थाकिसक्यौं, सुन्ने निकाय कोही छैन ।

कुराकानीमा आधारित

You might also like

Comments are closed.