नाडाको अध्यक्षमा करण चौधरीद्वारा उम्मेद्वारी घोषणा, नाडालाई दरिलो बनाउने प्रतिबद्धता

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसनको आगामी अध्यक्षका लागि करण चौधरीले उम्मेदवारी घोषणा गरेका छन् । सिजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक चौधरी नाडाको हालको कार्यसमितिमा उपाध्यक्ष भएर काम गरिरहेका छन् ।

‘नाडा सातवटै प्रदेशमा विस्तार भइ सकेको अवस्थामा सबै प्रदेश संरचनालाई अझै व्यवस्थित र बलियो बनाई नाडालाई संस्थागत रुपमा दरिलो रुपमा अगाडि बढाउने उद्देश्यका साथ उम्मेद्वारी प्रस्तुत गरेको छु,’ उनले भने ।

सरकारलाई सर्वाधिक कर बुझाउने एवं निजी क्षेत्रमा ठूला रोजगार प्रदान गर्ने व्यवसाय अटोमोबाइल क्षेत्र भएको बताउँदै चौधरीले सरकार र व्यवसायी दुवैको उच्चतम हितमा काम गर्न मिल्ने सहज वातावरण वनाउन आफूले पहल गर्ने उनले बताए । ‘सरकारको नीतिगत रुपमा समेत अटो व्यवसायलाई कसरी सहज बनाउने भन्ने कुरामा काम गर्ने मेरो उद्देश्य छ,’ उनले भने ।

कोरोना महामारी र लकडाउनका कारण नेपालका अटोमोबाइल व्यवसाय संकटमा परेकाले यस व्यवसायको पुनरुत्थानसँगै यस क्षेत्रमा नयाँ आकर्षण, नयाँ उत्साह ल्याउन जरुरी रहेको उनले बताए ।

देशभरका अटोमोबाइल व्यवसायीलाई समेटर नाडाको गरिमालाई अझ उच्च बनाउने गरी काम गर्ने चौधरीले बताएका छन् । नाडाको बर्तमान अध्यक्ष कृष्णप्रसाद दुलाल छन् । नाडाको अधिवेशन भदौ अन्तिम साता गर्ने तयारी भइरहेको छ ।

You might also like

Comments are closed.