पर्यटनको राजधानी शहर पोखरामा पहिलो संस्करणको ‘अटो शो’ हुँदैछ । पोखरामा अटो शो आयोजना गर्नका लागि नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले साथ दिइरहेको छ । नाडाको प्रत्यक्ष साथमा नाडाकै च्याप्टर संस्था पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)ले अटो शोको नेतृत्व गरिरहेको छ । यसै सन्दर्भमा नाडाका अध्यक्ष करण चौधरीसँग गरिएको संक्षिप्त कुराकानीः
नाडाको आयोजनामा काठमाडौंमा ‘नाडा अटो शो’ हुँदै आइरहेकोमा मोफसलमा पनि अटो शो हुन लागेको छ । यसपटक पोखरामा अटो शो गर्दै हुनुहुन्छ । राजधानीबाहिर हुने यस्ता ‘शो’ले के सन्देश देला ?
नाडा अटो शो अघिल्लो समयसम्म राजधानीमै केन्द्रित रहँदै आएको थियो । लामो समयदेखि यसलाई राजधानी बाहिर बिस्तार गर्नुपर्ने माग र छलफल हुँदै आएपनि विभिन्न कारणले गर्दा यो सम्भव हुन सकेको थिएन । तर यसपटक पोखरामा अटो शो आयोजना गर्न पाउँदा हामी निकै उत्साहित र हर्षित छौँ । अब राजधानीबाहिर रहेका ग्राहक, अटो क्षेत्रका विशेषज्ञ तथा अटोप्रेमीहरूले पनि यस बृहत अटो शोको लाभ लिन सक्नेछन् । यसले अहिलेको केही चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको अटो उद्योगलाई थप सबल बनाउने विश्वास लिएको छ, साथै ग्राहकहरू माझ सकारात्मक सन्देश समेत प्रवाह गर्नेछ ।
राजधानीबाहिर पनि यस्ता शो किन आवश्यक छ ? यसले अटो क्षेत्रलाई चलायमान बनाउन र बिस्तारित गर्न कस्तो भूमिका खेल्न सक्छ ?
हाल अटो व्यवसाय राजधानीमा मात्र सीमित नरही राजधानी बाहिर पनि तीव्र रूपमा फैलिंदै गएको छ । गाडीदेखि कम्पोनेन्टसम्म सम्पूर्ण अटो क्षेत्रको बजार क्रमिक रूपमा मजबुत हुँदै गएको छ । राजधानीजस्तै, बाहिरी शहरहरूमा आयोजना हुने यस्तो बृहत अटो शोले त्यहाँका ग्राहकहरूमा नयाँ उत्साह थप्नेछ र स्थानीय अटो बजारलाई अझ सशक्त बनाउनेछ । राजधानी बाहिरको मागमा वृद्धि आउनाले अटो क्षेत्रलाई अझ मजबुत र स्थायी बनाउने छ । यसले सम्पूर्ण अटो उद्योगलाई अझ चलायमान, सक्रिय र समृद्ध बनाउन उल्लेखनीय भूमिका खेल्नेछ ।
पोखरामा हुने अटो शोमा कस्ता गाडी आउलान् ? यस्तो शोहरु खासमा गाडीहरुको ब्यापारमा जोड दिइन्छ कि ग्राहकलाई बुझाउनेमा केन्द्रित हुन्छन् ?
अटो शोमा सबै सेग्मेन्टका गाडीहरू, चाहे त्यो इभी होस् वा इन्धनबाट चल्ने, दुबै प्रकारका गाडीहरूको प्रदर्शनी गरिनेछ । यस प्रदर्शनीमा ग्राहकलाई गाडीहरूबारे विस्तृत जानकारी प्रदान गरिनुको साथै व्यापारिक पक्षलाई पनि विशेष प्राथमिकता दिइनेछ । सबै गाडीहरू एउटै स्थानमा प्रदर्शित हुने हुँदा ग्राहकको ध्यान आकर्षित गर्न विभिन्न योजनाहरू उपलब्ध गराइने छन् । यस कारणले, यो शो ग्राहकहरूका लागि गाडी अवलोकन र जानकारी हासिल गर्नको साथ सहि निर्णयलिने एक उत्कृष्ट अवसर पनि हुनेछ ।
सडकको पहुँच बढेसँगै गाडीका पारखीहरु पनि बढेका छन्, अत्याधुनिक र सुविधासम्पन्न गाडीहरु जिल्ला जिल्लामा पुगिरहेका पनि देखिन्छन्, अहिलेको धेरै माग र आपूर्ति हेर्दा कस्ता गाडीहरु बढी रोजाइमा देखिन्छन् ?
हालको समयमा इभी गाडीप्रति उपभोक्ताको रुचि उल्लेखनीय रूपमा बढिरहेको छ । बजारमा एकपछि अर्को गरी उत्कृष्ट र नयाँ प्रविधियुक्त इभी गाडीहरू लन्च भइरहेका छन्, जसले ग्राहकको आकर्षण थप बलियो बनाएको छ । साथै, भन्सारमा सरकारले प्रदान गरेको सुविधा समेतले यो सेग्मेन्टको गाडीप्रति माग उच्च रहेको देखिन्छ । तर, पछिल्लो समयमा लागु गरिएको ४०% डाउनपेमेन्ट नीतिले भने केही हदसम्म निराशा उत्पन्न गराएको छ ।
राज्यले अहिले पनि अटो क्षेत्रलाई बिलासिताको साधनकै रुपमा हेरेको देखिन्छ, खासमा यो क्षेत्र नागरिकको अत्यावश्यक बनिसक्यो कि राज्यको नजर नदलिएको हो ?
नाडाले यो विषयमा पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । विकासको आधारभूत तत्व नै मोबिलिटी हो, तर यसलाई विलासितासँग जोडेर हेर्नु सम्पूर्ण राष्ट्रको समग्र विकासमा अवरोध सिर्जना गर्नु सरह हो । दुःखद पक्ष चाहिँ यही हो कि थुप्रै प्रयासहरू हुँदाहुँदै पनि यो दृष्टिकोणमा आवश्यक परिवर्तन ल्याउन सकिएको छैन ।
तथ्यांकले नेपालमा गाडीका संख्या र सौखिन पनि बढेकोबढ्यै छन् भन्छ, तर व्यवसायीका पीरमर्का र गुनासा पनि कम सुनिन्न, खासमा नेपाली अटो बजारको वास्तविक धरातल के हो यो बेला ?
विकाससँगै गाडीको माग पनि स्वाभाविक रूपमा वृद्धि हुन्छ । अटो क्षेत्रले राष्ट्रिय ढुकुटीमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको विषयमा कुनै द्विविधा छैन । तर दुर्भाग्यवश, यो क्षेत्रप्रति हेर्ने दृष्टिकोण अझै पनि नकारात्मक नै देखिन्छ । अटो क्षेत्रको समुचित विकासका लागि इन्धन सवारीमाथि लागेका निरुत्साहजनक नीतिहरू पुनर्विचार गर्न आवश्यक छ । त्यससँगै, इभी चार्जिङ पूर्वाधारको विकास, खुला सिमानाका कारण उत्पन्न भएका कम्पोनेन्टसम्बन्धी समस्याहरूजस्ता मुद्दाहरूमा नाडाले विभिन्न चरणमा सरकारसमक्ष सुझाव प्रस्तुत गरे पनि उल्लेखनीय प्रगति हासिल हुन नसक्नु दुःखद पक्ष हो । हाल इभी सेग्मेन्टले राम्रो प्रदर्शन गरिरहेको भएता पनि, बाँकी सम्पूर्ण अटो क्षेत्र विभिन्न समस्याबाट गुज्रिरहेको छ, जसका कारण थुप्रै व्यवसायी पलायनको अवस्थामा पुगेका छन् ।
सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने पनि भनिरहेको छ, वास्तविक अवस्था के हो ? समस्या कहाँनेर हो ?
मुख्य समस्या नीतिगत अस्थिरता र विकासोन्मुख सोचको अभावमा रहेको देखिन्छ । सरकारले इभीमा दिएको प्रोत्साहनले गर्दा यस सेग्मेन्टको माग उल्लेखनीय रूपमा बढेको छ, र ग्राहकहरूमा पनि यसको प्रति विश्वास बढिरहेको छ । तर पछिल्ला नीतिगत परिवर्तनहरूले बजारमा अन्योलता पैदा गरेको छ । साथै, राज्यस्तरबाट चार्जिङ पूर्वाधारको बिस्तार नहुनु पनि एक गम्भीर चुनौती बनेको छ, जसका कारण इभीप्रति चाहिएको विश्वास अझै पूर्ण रूपमा स्थापित हुन सकेको छैन ।
अटो क्षेत्रलाई हेर्ने सरकारको एउटा आँखा छ र बैंकिङ क्षेत्रको अर्को आँखा छ भन्ने गुनासो तपाईंकै छातामुनिका व्यवसायीको छ ? अहिले अटो क्षेत्रका व्यवसायीको आर्थिक जोखिमको अवस्था र मूल समस्या के हो ?
यसको एउटै समाधान छ, र त्यो हो यस क्षेत्रप्रति दृष्टिकोणमा परिवर्तन । यदि यो परिवर्तन भयो भने, सबै कुरा सहज रूपमा अघि बढ्नेछ ।
Comments are closed.