करुणा फाउण्डेसनद्वारा कोशी प्रदेशमा निःशुल्क कृत्रिम हात वितरण गरिने

काठमाडौं करुणा फाउण्डेसन नेपालले जर्मन ह्यान्ड्स प्रोजेक्टसँगको सहकार्यमा कोशी प्रदेशमा २०४ जनालाई निःशुल्क कृत्रिम हात वितरण गर्ने भएको छ । आगामी कात्तिक १७ गतेदेखि २६ गतेसम्म इटहरीमा संचालित हुने विशेष कार्यक्रममा लाभग्राहीहरूलाई हल्का, सहज र प्राकृतिक देखिने फङ्सनल तथा कसमेटिक विशेषतायुक्त कृत्रिम हात (Functional and Cosmetic Prosthetic Hand/Arm) जडान गरिने फाउण्डेसनले जानकारी दिएको छ ।

नेपालमा हरेक वर्ष दुर्घटना, करेन्ट, संक्रमण लगायतका कारणले हात गुमाउने व्यक्तिको संख्या बढ्दो क्रममा रहेको छ । हाल देशभर करिब ५० हजारभन्दा बढी व्यक्ति विभिन्न प्रकारका कृत्रिम अङ्ग प्रयोग गरिरहेको अनुमान गरिएको छ । करुणा फाउण्डेसनले कृत्रिम हातका लागि सूचना जारी गरेपछि देशभरका ४२८ जनाले आवेदन दिएका थिए । तीमध्ये पहिलो चरणमा कोशी प्रदेशका २०४ जनालाई प्राथमिकताका साथ सेवा प्रदान गर्न लागिएको हो ।

फाउण्डेसनका अनुसार मानव जीवनमा हात दैनन्दिन गतिविधिदेखि सीप, श्रम, आत्मविश्वास तथा रोजगारसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक अङ्ग भएकाले यस कार्यक्रमले लाभग्राहीको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । कृत्रिम हात जडानपछि लाभग्राहीहरूले खाना पकाउने, लेख्ने, वस्तु समात्ने, लुगाफाटा लगाउने, खेतीपाती तथा पेशागत कामहरू समेत सहज रूपमा गर्न सक्ने परिस्थिति बन्ने छ। यसले उनीहरूलाई आत्मनिर्भर र सम्मानजनक जीवनतर्फ फर्काउन सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।

कृत्रिम हात जडानका लागि जर्मनी, न्यूजिल्यान्ड र युगान्डाबाट विशेषज्ञहरूको प्राविधिक टोली नेपाल आउने तयारी भइरहेको फाउण्डेसनले जनाएको छ। प्रतिदिन २० देखि २५ जनासम्म लाभग्राहीलाई दुई समूहमा विभाजन गरी कृत्रिम हात जडान गरिनेछ । पहिलो चरणको कार्यक्रम विशेष रूपले कोशी प्रदेशका नागरिकलाई लक्षित गरी सञ्चालन भए पनि आगामी चरणहरूमा अन्य प्रदेशमा पनि विस्तार गर्ने योजना रहेको फाउण्डेसनले जनाएको छ ।

कोशी प्रदेशमा हात गुमाएर दैनन्दिन जीवनमा कठिनाइ भोगिरहेका व्यक्तिहरूलाई आत्मबल अभिवृद्धि गराउँदै पुनः उत्पादक जीवनतर्फ अघि बढ्न प्रेरित गर्ने उद्देश्यले सञ्चालन गरिएको यस अभियानलाई सफल बनाउन फाउण्डेसनले सबै सरोकारवालाको सहकार्य र सक्रिय सहभागिताको अपेक्षा व्यक्त गरेको छ ।

You might also like

Comments are closed.