अपाङगता क्षेत्रमा काम गर्न करुणा फाउण्डेसनलाई सानिमा बैंकको साथ

प्रदेश १ सरकारद्वारा १४ करोड ५८ लाख रुपैयाँ बिनियोजन

काठमाडौं । सानिमा बैंक लिमिटेडले करुणा फाउण्डेसन नेपाललाई सहयोग गरेको छ । अपाङगता क्षेत्रमा काम गर्ने गरी बैंकले फाउण्डेसनलाई १० लाख रुपैयाँ सहयोग गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

जन्मजात हुने अपाङगता रोकथाम तथा अपाङगता भएका व्यक्तिहरु लक्षित कार्यक्रमका लागि बजेट खर्च हुने बताइएको छ । ‘अपाङगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम’ मार्फत अपाङगता भएकाहरुका लागि ह्विलचियर, श्रवणयन्त्र लगायत आवश्यक सहायक सामग्रीहरु खरिद प्रयोजनका लागि बैंकले फाउण्डेसनलाई सहयोग गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो रकम उपलब्ध गराइएको बैंकले जनाएको छ ।

प्रदेश १ सरकार, पालिकाहरु र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत तथा सञ्चालन साझेदारीमा कार्यक्रम सञ्चालन हुनेछ । उक्त कार्यक्रमले अपाङगता भएका व्यक्ति तथा उनीहरुको परिवारको जीवनको गुणस्तर बढाउन योगदान पुग्ने विश्वास गरिएको छ । उपलब्ध गराइएको सहयोगले फाउण्डेसनद्वारा सञ्चालित उक्त कार्यक्रममा मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । प्रदेश १ का १४ जिल्लाहरु तथा १३७ पालिकाहरुमा मात्रै करिब १ लाख जना अपाङगता भएका व्यक्तिहरु रहेको करुणा फाउण्डेसनले जनाएको छ ।

सानिमा बैंकले देशका सातै प्रदेशबाट ७९ शाखा, ६ वटा विस्तारित काउन्टर, ८१ वटा एटिएम मार्फत ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

यसैबीच, प्रदेश १ मा अपाङगता भएका क्षेत्रमा काम गर्न करुणा फाउण्डेसन नेपालसँग सहकार्य गर्ने गरी प्रदेश सरकारले १४ करोड ५८ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । असार १ गते सार्वजनिक गरिएको बजेटमा ‘अपाङगता भएका व्यक्तिको अधिकारको सम्मान र संरक्षण गर्दै प्रदेश सरकार, स्थानीय तह र साझेदार संस्थाको साझेदारीमा अपाङगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम सञ्चालन गरिनेछ,’ उल्लेख छ ।

करुणा फाउण्डेसन नेपालले र स्थानीय तहहरुले समेत प्रदेश सरकारले बिनियोजन गरे बराबरको रकम अपाङगता भएका क्षेत्रमा काम गर्नेगरी छुट्याउने बताइएको छ । पहिलो चरणमा सुनसरी, मोरङ, धनकुटा, पाँचथर, भोजपुर, शंखुवासभा र इलामका स्थानीय तहमा यो कार्यक्रम लागु हुनेछ । प्रदेश १ का अन्य जिल्लामा आगामी वर्ष यो कार्यक्रम सञ्चालन हुने करुणा फाउण्डेसन नेपालले जनाएको छ ।

You might also like

Comments are closed.