कास्कीमा ४६ जनालाई बैंकिङ कसुर मुद्दा, के तपाईंले बाउन्स चेक दिनुभएको छ ?

पोखरा । कास्कीमा ४ महिनामा ४६ जना विरुद्ध बैंकिङ कसुर मुद्दा दर्ता भएको छ । गत माघदेखि वैशाखसम्ममा ४६ जना विरुद्ध यो मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

मुद्धा दर्ता भएका ४६ जना मध्ये ९ जना पक्राउ परेका छन् । ३७ जना फरार छन् । मुद्दा दर्ता हुनेहरुमा माघमा २३ जना, फागुनमा १३ जना, चैतमा ४ जना र वैशाखमा ६ जना छन् । खातामा नगद नभइकन चेक दिनेहरुलाई कास्की प्रहरीले यस अगाडि पनि मुद्दा दर्ता गर्दै आइरहेको थियो ।

वैशाखमा मुद्दा दर्ता भएकाहरु कसैलाई कास्की प्रहरीले पक्राउ गरेको छैन । अहिले मुद्धा दर्ता भएपनि लकडाउन पछि मात्रै पक्राउ गर्ने तयारी भएको कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए । ‘उजुरी नलिए हदम्याद गुज्रिने भएकाले मुद्दा दर्ता भएका छन्,’ कार्कीले भने, ‘पक्राउ र थुनछेक लकडाउन पछि हुन्छ ।’ चैतमा १ जना, फागुनमा ४ जना र माघमा ४ जना पक्राउ परेका छन् । ९ जना पक्राउ परेकोमा प्रायले धरौटी राखेर छुटेको कास्की प्रहरीका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

४ महिनामा ४६ वटा मुद्दा दर्ता हुँदा माघमा २ करोड ६१ लाख, १७ हजार ५ सय रुपैयाँ, फागुनमा १ करोड ७१ लाख २३ हजार रुपैयाँ, चैतमा ४० लाख ६१ हजार रुपैयाँ र वैशाखमा १ करोड ३० लाख ७० हजार रुपैयाँका चेक बाउन्स भएको कार्कीले जानकारी दिए ।

बैंकिङ कसुर तथा सजाय ऐन, २०४६ को दफा ३ (ग) अनुसार आफ्नो खातामा मौज्दात रकम नभएको जानी जानी चेक काटिदिनु हुँदैन भन्ने उल्लेख छ । कसैले त्यस्तो गरेमा दफा १५ (१)ले सो कसुरमा बिगो भराई बिगो बमोजिम जरिवाना र ३ महिनासम्म कैद हुने व्यवस्था छ ।

You might also like

Comments are closed.