पोखरा । कास्कीका होटल व्यवसायीहरुले होटल व्यवसायीहरुका लागि राहत प्याकेज ल्याउन माग गरेका छन् । कास्कीमा रहेका पृथ्वी होटल व्यवसायी समिति कास्की, पोखरा सिटी रेवान, लेखनाथ होटल व्यवसायी समिति, लोकदोहोरी व्यवसायी समिति कास्की र धम्पुस पर्यटन व्यवसायी समिति कास्कीले आइतबार पोखरामा पत्रकार भेटघाट गरी उनीहरुले १२ बुँदे मागसहित राहत प्याकेज घोषणा गर्न माग गरेका हुन् ।
व्यवसायीहरुले लकडाउन अवधीभर घरभाडा छुट दिनुका साथै संक्रमणकाल रहेसम्म ५० प्रतिशतदेखि शतप्रतिशतसम्म घरभाडा छुट दिन, वैंक व्याज तथा करहरुमा सहुलियत, लकडाउन र संक्रमण काल रहेसम्म बिजुली, पानी, टेलिफोन र ईन्टरनेट लगायतको महशुलमा विशेष सहुलियत दिन, लकडाउन र संक्रमणकाल अवधीभर व्यवसाय कर तथा अन्य सबै प्रकारका राजश्व छुट दिन, वैंक तथा वित्तिय संस्थाबाट लिएको लोन तिर्ने अवधी २ वर्ष थप गर्न तथा सो अवधीभरको ब्याजमा सहुलियत प्रदान गर्न, सफ्ट लोनको ब्यबस्था गर्न माग गरेका छन् । विदेशबाट फर्केका नेपालीहरुलाई आफूले ईच्छाएको होटलहरुमा क्वारेन्टिन बनाएर बस्न पाउने ब्यबस्था गर्न सिटी रेवानका अध्यक्ष दीपक तिमिल्सिनाले बताए ।
व्यवसायीहरुले माग पूरा नभए होटल तथा रेष्टुरेण्ट बन्द गरेर होटलको चावी सरकारलाई बुझाउने चेतावनी दिएका छन् । आफूहरुले मागहरु समेटिएको ज्ञापन पत्र कास्कीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई पठाएको पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष हरिप्रसाद पाण्डेले जानकारी दिए ।
यसैबीच होटल व्यवसायीहरुले होटल खोल्न दिनसमेत माग गरेका छन् । सरकारले जारी गरेको मापदण्ड पूरा गरेर होटल सञ्चालन गर्न दिन उनीहरुले माग गरेका हुन् । राज्यले अत्यावश्यक सेवामा राखेकाले होटल सञ्चालन गर्न पाउनुपर्ने तिमिल्सिनाको तर्क छ।
राज्यले दिने हो भने आफूहरु होटल सञ्चालन गर्न तयार रहेको सिटी रेवान पोखराका निवर्तमान अध्यक्ष केपी पाठकले बताए । राज्यले होटल सञ्चालन गर्ने वातावरण बनाओस्,‘उनले भने,‘हामी सरकारले तोकेको मापदण्ड पूरा गरेर होटल सञ्चालन गर्न तयार छौं ।’ होटल सञ्चालनका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री सरकारले निःशुल्क वा सहुलियत दरमा उपलब्ध गराउनुपर्ने उनको भनाई छ ।
लेखनाथ होटल व्यवसायी समितिका अध्यक्ष अर्जुुुन लम्सालले होटल खोल्न आफूहरु तयार रहेको बताए । कोरोना तत्काल अन्त्य हुन्छ भन्ने देखिएन,‘उनले भने,‘त्यसैले कोरोनासँग जुध्दै पेशा व्यवसायमा फर्किनुको विकल्प छैन ।’
कास्कीमा ६ हजार होटल तथा रेष्टुरेण्ट रहेको र तिनमा करीब ४५ हजार बेडहरु रहेको बताइन्छ । कास्कीका होटल तथा रेष्टुरेण्टहरुले मात्र वार्षिक ५÷६ अर्ब राजश्व बुझाउने गरेको होटल व्यवसायीहरुको दाबी छ । कास्कीका सम्पूर्ण होटलहरुमा करीब ५० अर्ब लगानी रहेको र त्यसमा व्यवसायीहरुको २० अर्ब र बाँकी सबै वैंक तथा वित्तिय संस्थाबाट लोनका रुपमा निकालेर लगानी गरेको उनीहरुको भनाई छ ।
Comments are closed.