‘प्रथम काठमाडौं महोत्सव’को तयारी तिब्र, स्टल बुकिङ जारी

काठमाडौं । व्यापार, संस्कृति र पर्यटनलाई एउटै थलोमा जोड्ने उद्देश्यसहित आयोजना हुन लागेको ‘प्रथम काठमाडौं महोत्सव २०८२’ तयारी तिब्र बनेको छ । ‘समृद्धि काठमाडौं, हाम्रो अभियान’ नाराका साथ महोत्सव आगामी माघ १४ देखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा हुन लागेको महोत्सवले काठमाडौंको प्रवद्र्धनसँगै व्यापार-व्यवसाय विस्तारमा महत्वपूर्ण योगदान दिने विश्वास संघका अध्यक्ष दिनेश श्रेष्ठले व्यक्त गरेका छन् । ‘महोत्सवले स्वदेशी उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्नेछ,’ उनले भने ।

संघका महासचिव दुर्गाराज श्रेष्ठका अनुसार पहिलो पटक आयोजना हुन लागेको काठमाडौं महोत्सवमा स्वदेशी औद्योगिक उत्पादन, हस्तकला, कृषि सामग्री, लत्ताकपडा तथा रैथाने खानाको प्रदर्शनी तथा प्रतियोगिता हुनेछ । फुड फेस्ट, सांस्कृतिक झाँकी, चर्चित कलाकारहरूको कन्सर्ट र लाइभ म्युजिकले महोत्सवलाई थप आकर्षित गर्ने आयोजकको विश्वास छ । महोत्सव अवधिभर निःशुल्क स्वास्थ्य शिविर, फोटो खिच्न मिल्ने विशेष स्पट र बालबालिकाका लागि किड–जोनको व्यवस्था पनि गरिनेछ ।

आयोजकका अनुसार महोत्सवमा एक लाखभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा गरिएको मेलाका संयोजक उज्ज्वल जंग शाहले जानकारी दिए । ‘पहिलो पटक आयोजना हुन लागेको महोत्सवमा दर्शकको उत्साहजनक साथ रहनेमा हामी विश्वस्त छौं,’ उनले भने, ‘हामीले तयारीलाई तिब्र बनाएका छौं । महोत्सव उत्कृष्ट बन्नेछ ।’ स्टल बुकिङ अन्तिम चरणमा पुगेको पनि उनले जानकारी दिए ।

महोत्सवलाई नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आयोजना गर्दैछ भने काठमाडौं महानगरपालिका सहआयोजकको भूमिकामा रहनेछ । सहआयोजकमा राइजिङ नेपाल, प्रवर्द्धकमा व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्र रहनेछ । सहयोगी संस्थामा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल वितरक संघले साथ दिएका छन् । महोत्सवमा रैथाने खानाहरूको स्टलहरुको व्यवस्थापन जिल्ला होटल व्यवसायी संघ काठमाडौले गर्नेछ ।

नेपाल वितरक संघका अध्यक्ष प्रेमहरि मैनालीले महोत्सव सफल बनाउन सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको बताउँदै संस्थागत रूपमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

You might also like

Comments are closed.