‘काठमाडौँ फन भ्याली’को नयाँ वर्ष अफर, टिकटमा २०% छुट

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित पलाँसेमा हालै सञ्चालनमा आएको ‘काठमाडौँ फन भ्याली’ले नयाँ वर्ष २०७८ को अवसरमा छुट अफर सार्वजनिक गरेको छ । नयाँ वर्षको अवसरमा फन भ्यालीको काउन्टर टिकटमा २० प्रतिशत छुटको व्यवस्था गरिएको सञ्चालक सुजन थापाले जानकारी दिए । यो अफर वैशाख १ देखि १५ गतेसम्म जारी रहने उनले बताए ।

फन भ्याली सञ्चालनमा आएको छोटो समयमा धेरैको आकर्षण देखिएको छ । युवाहरुमात्रै होइन बालबालिकादेखि बृद्धहरुसम्मको गन्तव्य फन भ्याली बन्न सफल भएको थापाले बताए । ‘लाइभ म्युजिकका साथमा पानीका खेल गतिविधिमा रमाउन चाहनेहरुका लागि काठमाडौं फन भ्याली आकर्षक गन्तव्य बनेको छ,’ थापाले भने ।

फन भ्यालीमा जल र स्थल गरी ११ प्रकारका खेलको मज्जा लिन सकिन्छ । ३ वटा स्विमिङ पुल छन् । एउटा रेनडान्स छ । ५५ रोपनी जग्गामा बनेको काठमाडौं फन भ्याली निकै आकर्षक र सुन्दर छ । ११ करोड रुपैयाँ लगानीमा सुरु भएको फन भ्यालीमा गार्डेन र रुफटप रेस्टुरेन्टको सुविधा पनि छ । जहाँ ग्राहकले आफ्नो रोजाई अनुसारको परिकार अर्डन गर्न सक्छन् ।

फन भ्यालीमा एकै पटकमा २ हजार जनासम्मले खेलेर मज्जा लिन सक्नेछन् । फन भ्यालीमा प्रवेशका लागि स्कुलका विद्यार्थी र बालबालिकालाई ४ सय ५० रुपैयाँ र अन्यलाई ६ सय ५० रुपैयाँको टिकट काट्नुपर्छ । यो शुल्कमा नयाँ वर्षको अवसरमा १५ गतेसम्म २० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । स्कुल विद्यार्थीले आफ्नो परिचयपत्र लिएर आएमा ४ सय ५० रुपैयाँको टिकट काट्न सक्छन् । ४ वर्ष भन्दा साना बालबालिका र ६५ वर्ष भन्दा माथिका बृद्धहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको अर्का सञ्चालक दामोदर उपाध्यायले जानकारी दिए ।

आन्तरिक पर्यटनको विकास, आर्थिक विकाससँगै काठमाडौँ उपत्यकाका बासिन्दालाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले नयाँ व्यवस्थापन र नयाँ स्वरूपमा फन भ्याली सञ्चालनमा आएको उपाध्यायले बताए । कर्णाली म्युजियम (संग्रहालय) यहाँको अर्को मुख्य आकर्षण हो । कर्णालीको वेषभूषा, रहनसहन, खानपान, सांस्कृतिक पर्व एवं परम्परा, यहाँ प्रयोग भएका धेरै वर्ष अगाडिका सामग्री कर्णाली म्युजियममा राखिएको छ । काठमाडौं उपत्यकामा बालबालिका, युवायुवतीदेखि परिवारसम्म एकै ठाउँमा घुम्न र रमाइलो गर्न यो पार्क सुरक्षित र व्यवस्थित रहेको भन्दै उनले अन्तर्राष्ट्रियस्तरको काठमाडौं फनपार्क मनोरञ्जनको प्रमुख गन्तव्य बन्ने बताए ।

सूर्यविनायक चोकबाट चार किलोमिटर पूर्वस्थित अरनिको राजमार्गसँगै भक्तपुरको पलाँसेमा सञ्चालित फनपार्कमा उमेरअनुसारको पौडी पोखरीको व्यवस्था छ । पार्कमा वाटरपार्क, एम्युजमेन्टपार्क, लेजी रिभर, गो कार्टिङ र लार्जेस्ट वेभ पुलमा मनोरञ्जल लिन सकिन्छ । पार्कमा १२ वटा ‘गेमिङ जोन’ र चारवटा ‘वाटर जोन’ छन् । पार्कमा रोटेपिङ शैलीको हेलिकोप्टर, ४० फिट उचाइको ह्वीलचियर ट्रेन, वेभ पुल, ४० फिट उचाइबाट १५० देखि २०० फिटसम्म स्लाइडिङ गर्न मिल्ने पुल छ । लाइभ म्युजिकका साथ पौडीको मज्जा लिन सकिन्छ ।

अक्वा डान्स, वेभ पुल, स्लाइडिङ, टिप्स पुलको मज्जा लिन सकिन्छ । त्यस्तै बालबालिकाले ट्रेन, स्मल बन्जी, समुन्द्रमा मात्र देख्न पाइने समुन्द्री छालमा रमाउन सकिने गरी विभिन्न खेलको आनन्द लिन सक्छन् । हरेक दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म पार्क सञ्चालन हुनेछ । त्यस्तै ५०० जनाले एकैपटक खान सकिने क्षमता रहेको विवाह, जन्मदिन, विवाह, वैवाहिक वार्षिकोत्सव, इन्गेजमेन्टदेखि विभिन्न पार्टी गर्न सकिने रुफटपसहितको रेष्टुरेन्टले फन भ्यालीमा थप आकर्षण थपेको छ ।

lcci
You might also like

Comments are closed.