‘होटल व्यवसायको दिगो विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवस्यक’

काठमाडौं । जिल्ला होटल व्यवसायी संघ काठमाडौंले नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रमुख अतिथि निरौलाले पर्यटन तथा होटल व्यवसायको दिगो विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवस्यक रहेको बताए।
सचिव निरौलाले होटल तथा पर्यटन क्षेत्रको विकासमा अवरोध बनेका कानुनी व्यवस्थाहरू परिमार्जन गर्न सरकार तयार रहेको बताए। होटल व्यवसायीको समस्या समाधानका लागि सरोकारवालाको सहभागितामा कार्यदल गठन गरिने उनले बताए। साथै, होटल तथा पर्यटन क्षेत्रलाई उद्योगको रूपमा स्थापित गर्ने सरकारको प्रतिबद्धता पनि उनले व्यक्त गरे। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्या तथा चुनौतीहरूलाई सम्बन्धित निकायसँग समन्वय गरी चरणबद्ध रूपमा समाधान गरिने पनि बताए।

कार्यक्रममा होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष शेरु थापा, महासचिव टी.आर भण्डारी (शंकर), होटल संघ नेपालका महासचिव साजन शाक्य, गोर्खा ब्रुअरी प्रा।लि।का सेल्स डाइरेक्टर काजीमान सुब्बा र नेपाल ग्रीस तथा संस्कृतिक संघका अध्यक्ष मनोज नेवा स् लगायतले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै होटल तथा पर्यटन क्षेत्रको गुणस्तर अभिवृद्धि, व्यावसायिक एकता र दिगो व्यवस्थापनमा जोड दिएका थिए।

त्यसैगरी, बागमती प्रदेशका होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष दामोदर नेपाल, नेपाल पानी उद्योग महासंघका अध्यक्ष विक्रम सुब्बा चेम्जोङ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रतिनिधि पूर्ण चुडाल लगायतले बोलेका थिए ।

कार्यक्रमकै अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को एकता महाधिवेशनबाट प्रवक्तामा चयन भएका सोम सापकोटालाई सम्मान गरिएको थियो। कार्यक्रममा क्यालेन्डर प्रकाशन उपसमितिका संयोजक तथा उपाध्यक्ष कुमार श्रेष्ठले कार्यक्रम व्यवस्थापनबारे जानकारी दिएका थिए।

संघका अध्यक्ष सुरेश बरालको अध्यक्ष्तामा कार्यक्रम भएको हो । वरिष्ठ उपाध्यक्ष भविश्वर दुवेले स्वागत मन्तव्य राखेको कार्यक्रम संघका महासचिव शैलेन्द्र विक्रम थापाले सञ्चालन गरेका थिए।

अध्यक्ष बरालले आगामी चैत २७ र २८ गते पोखरामा आयोजना हुन लागेको नेपाल होटल व्यवसायी महासंघको कार्यक्रममा देशभरका व्यवसायीलाई एकताबद्ध भई सक्षम र इमान्दार नेतृत्व चयनतर्फ अग्रसर हुन आग्रह गरे।

You might also like

Comments are closed.