बारी छैन ? कौसी छँदैछ !

कृष्ण न्यौपाने/दमौली । तनहुँका मुख्य भाग आजभोलि घरले भरिएका छन् । कङ्क्रिटले बनेका संरचनाका कारण शहरमा खाली ठाउँ भेट्न मुस्किल छ । खेतीका लागि बारी भेट्नु त परको कुरा । शहरमा खेतीका लागि बारी नभए पनि एक महिलाले भने विगत केही वर्षदेखि आफ्नै घरको कौसीमा तरकारी फलाइरहेकी छन् ।

दमौलीको मुख्य बजार व्यास नगरपालिका–२ कालिकामार्ग निवासी कल्पना गौलीले खेतबारी नभए पनि कौसीमा प्रशस्त तरकारी उत्पादन गर्न सकिन्छ भन्ने पुष्टि गरेकी छन् । कालिका मार्गमा बनेको घरको कौसीमा गौलीले करीब विभिन्न जातका तरकारी र जडीबुटी लगाएकी छन् । उनको घरको कौसीमा मात्र होइन, हरेक तलाको बरण्डामा समेत गमलामा तरकारी फलेको छ ।

घरमा भ¥याङलगायतको भाग छोड्दा जम्माजम्मी आधा आनाभन्दा केही बढी ठाउँ बाँकी छ । त्यसमा पनि पानी जम्मा गर्ने दुई वटा ठूला ट्याङ्की त्यसभित्रै अटेका छन् । त्यो बाँकी रहेको ठाउँमा उनले सिमेन्टको गारो उठाएर त्यसमा माटो भरेर तरकारी लगाएकी छन् । बाँकी रहेको ठाउँमा गमला, ड्रम, प्लाष्टिकका बाल्टीमा मौसमअनुसारको तरकारी लगाएकी छन् ।

उनको कौसीमा मौसमअनुसारको तरकारी लगाइएका छन् । उनले मौसमअनुसार काउली, ब्रोकाउली, कुरिलो, बोडी, साग, धनियाँ, मेथी, सुप, चम्सुर, सिमी, मूला, स्थानीय जातको गोलभेँडा, प्याज र लसुन, घिरौँला, चिचिन्डा, काँक्रो, बोडी, लौका, फर्सी र पिँडालु उत्पादन गर्ने गर्छिन् । त्यसैगरी जडुबुटीतर्फ घोडटाप्रे, तितेपाती, सिस्नो, कालो हलेदो, पतिना, घ्युकुमारी पनि कौसीमा उत्पादन हुन्छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहँु शाखा महिला उद्यमी समितिको अध्यक्ष र माँ दुुर्गा नामक धार्मिक संस्थाको संस्थापक अध्यक्ष रहेकी गौलीले सामाजिक कामबाट बचेको समयको व्यवस्थापन र तरकारीमा आत्मनिर्भर बन्ने उद्देश्यले नै कौसीखेती गरेको सुनाइन् । “छिमेकीहरुले तरकारी बेच्न सुझाव दिए पनि बिक्री गर्ने प्रयोजन अहिलेसम्म छैन, बरु कहिलेकाहीँ धेरै उत्पादन भयो भने छिमेकी र साथीभाइलाई उपहार पठाउँछु”, उनले भनिन् ।


घरमा उपभोग गर्ने तरकारी घरमै उत्पादन गर्न सक्ने हो भने धेरै रकम बचत हुने गौलीको भनाइ छ । उनले कौसीखेती गर्न थालेको करीब १५ वर्ष भइसकेको छ । दमौलीमा घर बनाएर बसेदेखि नै अहिलेसम्म तरकारी किनेर खानु नपरेको उनको भनाइ छ ।

तरकारी उत्पादनका लागि गौलीले कम्पोष्ट मल बनाएकी छन् । खेर गएका तरकारी र खानेकुरालाई ठूलो ड्रममा कुहाएर कम्पोष्ट मल बनाउने उनले बताइन् । त्यसबाहेक तरकारीमा किरा नलागोस् भनेर पिना तथा गाईको गहुँत पनि कहिलेकाहीँ प्रयोग हुन्छ । पानीका रुपमा भाडा माझेको पानीलाई थोपा सिँचाइमार्फत सिञ्चित गर्ने गरेको उनले सुनाइन् ।

अहिले बजारमा बिक्रीका लागि राखिने प्रायजसो तरकारीमा विषादी प्रयोग हुने गरेका कारणले उपभोग गर्न नहुने अवस्था भएको भन्दै गौलीले आफ्नो घरमा उपभोग गर्ने तरकारी जग्गा जमिन हुनेले जमीनमा र नहुनेले कौसी या छतमा लगाउन सुझाव दिइन् ।

दमौली बजारमा थोरै क्षेत्रफलको जग्गा लिएर घर बनाउनेको सङ्ख्या अत्यधिक रहेकाले कौसीखेतीका बारेमा सबै जानकार हुनसके घरमै तरकारी फलाउन सकिने गौलीको भनाइ छ । कौसीखेतीलाई प्राथमिकतामा राखेर योजना बनाउन नगरपालिकालाई पनि अनुरोध गरेको उनले जानकारी दिइन् ।

बजार क्षेत्रमा तरकारी लगाउने जग्गाको अभाव भएका कारण कौसीखेती उपयुक्त विकल्प रहेको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले बताए । उनका अनुसार विषादीरहित तरकारी उपभोग गर्न पाइने, तरकारी किन्ने पैसाको बचत हुने, घरमा खेर गएको खानेकुरा र पानीको उचित व्यवस्थापन हुने, छतको सदुपयोग हुने, समयको व्यवस्थापन हुने हुँदा यसका धेरै फाइदा छन् ।

You might also like

Comments are closed.