‘सहकारीहरु सुशासनमा जानुपर्छ, सदस्यहरुले सचेत भएर सहकारीलाई वाच गर्नुपर्छ’

केबी उप्रेती, अध्यक्ष, राष्ट्रिय सहकारी बैंक लिमिटेड

राष्ट्रिय सहकारी बैंक लिमिटेड स्थापनाको २१औं वर्ष प्रवेश गरेको छ । पछिल्लो समय मुलुकमा देखिएको आर्थिक मन्दीको प्रभाव समग्र क्षेत्रमा परेको छ । सहकारी क्षेत्र झनै बढी प्रभावित भएको छ । सहकारी क्षेत्रमा देखिएको प्रभाव सहकारी बैंकमा पनि देखिनु स्वभाविकै हो । यसै सन्दर्भमा बैंकका अध्यक्ष केबी उप्रेतीसँग आर्थिक आवाजले गरेको कुराकानीः

पछिल्लो समय आर्थिक क्षेत्रमा देखिएको मन्दीको असर राष्ट्रिय सहकारी बैंकमा कत्तिको परेको छ ?

अहिलेको आर्थिक मन्दीले सहकारी बैंकमा पनि प्रत्यक्ष असर परेको छ । धेरै ऋणिहरुले पैसा तिर्न नसकेको अवस्था छ । धेरैले पैसा तिर्न नसकेपछि प्रोभिजन धेरै छुट्याउनुपर्छ । लाभांश बाड्नसक्ने अवस्था रहदैन । गत वर्षको असरलाई यो वर्ष सुधार हुनेमा हामी विश्वस्त छौं । मुलुकभर रहेका १६ हजार भन्दा बढी सहकारी संघ/संस्थाहरुको एउटै र आफ्नै बैंकको रुपमा सात वटै प्रदेशमा रहेका ६८ वटा शाखा र केन्द्रीय कार्यालय गरि ६९ कार्यालयबाट सदस्य सहकारी संघ/संस्थाहरुलाई वित्तीय सेवा प्रदान गरिरहेका छौं । संस्थागत सुशासन एवं वित्तीय अनुशासनका लागि सहकारी स्तरीकरण, तालिम शिक्षा, सहकारी अभियानको संरक्षण र सम्वर्द्धनको लागि पहलकदमी जस्ता विविध गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छौं । सदस्य संस्थाहरुको अपार विश्वास र मायाको कारणले बैंकको आर्थिक वर्ष २०७९/८० मा कुल सम्पति रु.६५ अर्ब ९१ करोड पुगेको छ ।

सहकारीबाट धेरै पीडित भए भन्ने सुनिन्छ । समस्या समाधानको लागि कस्तो पहल भएको छ ?

सहकारी क्षेत्रमा सुशासनका कुरामा, शुद्धीकरण गर्ने, प्रमोट गर्ने कुरामा हामी लागिरहेका छौं । बचत पीडितहरुसँग सम्झौता पनि भएको छ । म कार्यदलमा पनि छु । बचत फिर्ता गर्ने, बचत सुरक्षित गर्ने, बचत पीडितहरुलाई कार्यदतमा प्रतिनिधित्व गराउने लगायतका कुरामा सम्झौता भएका छन् । सदस्यहरु संयम भएर संस्थालाई सहयोग गर्नु आजको आवश्यकता हो । हामी यसका लागि सदस्यसँग अनुरोध पनि गर्छौं । बचत कर्ताहरुको बचतको सुरक्षा हुनुपर्छ भन्नेमा हामी प्रतिबद्ध छौं । आफ्नो ठाउँबाट पहल पनि गरिरहेका छौं ।

बैंकप्रति सहकारीहरुको आकर्षण कस्तो छ ?

राष्ट्रिय सहकारी बैंक देशभरका सहकारीहरुको अभिभावक जस्तै बनेको छ । जुन सहकारी संस्थाहरुको सहयोगले बैंक अहिलेको अवस्थामा आएको छ त्यसका लागि सहकारीहरुप्रति आभार व्यक्त गर्दै निरन्तर साथ सहयोग र सहकार्यका लागि आग्रह गर्दछु । विविध कारणले जोडिन नसकेका सहकारीलाई पनि सहकारी बैंकसँग आवद्ध भएर सहकारी अभियानलाई अगाडि बढाउन आग्रह गर्दछु । बैंकप्रति सहकारीको आकर्षण बढ्दो छ ।

पछिल्लो समय सहकारीप्रति नकारात्मक धारणा बढेको हो ?

सहकारी क्षेत्रप्रति अहिले नकारात्मक सन्देश तथा भ्रमको सृजना भएको अवश्य पनि हो । यसलाई चिर्नु आवश्यक छ । प्रतिकुल अवस्था पनि आयो । यसलाई सामना गरेर अगाडि बढेका छौं । क्रमिक रुपमा सुधार भएको अवस्थालाई अगाडि बढाउँदै पहिलाको अवस्थामा ल्याउनुपर्छ । सहकारीहरु सुशासनमा जानुपर्छ । सदस्यहरु पनि सचेत भएर सहकारीलाई वाच गर्नुपर्छ ।

समस्या कसरी सिर्जना भयो ?

पालिका, प्रदेश तह र संघलाई अनुगमनको जिम्मा दिइयो, तर परिणाम राम्रो आएन । परिणाम राम्रो ल्याउनका लागि अनुगमनलाई विशेष रुपले अगाडि बढाउनुपर्छ । अब केन्द्रीय विभाग अन्तर्गत पहिलेको ढाचाँमा नै अगाडि बढ्नुपर्छ । दर्ता पनि जथाभावी भएका छन् भने सेवा केन्द्र खोल्ने काम पनि जथाभावी भएको छ । राजनीतिक दवावका कारणले पालिका तहमा धेरै सहकारी दर्ता भए भन्ने खालका कुरा पनि आएका छन् । यी सबै कुरालाई सुधार गरेर अगाडि बढ्नुपर्छ । राष्ट्रिय सहकारी बैंकलाई वित्तीय हिसावले सम्पन्न, प्रभावकारी, वैज्ञानिक र पूर्ण बैकिङ तथा छुट्टै सहकारी बैंक ऐन ल्याएर सक्षम ढंगले अगाडि बढाउनुपर्छ ।

बैंकको अबको योजनाहरु के–के छन् ?

उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंकको परिकल्पना सहित चार वटा वृहत रणनीतिक स्तम्भहरुमा केन्द्रित रही दश वर्षे योजना कार्यान्वयनको लागि बैंकको व्यवस्थापन तदारुकताका साथ लागिरहेका छौं । अर्थतन्त्रका तीन स्तम्भ मध्ये महत्वपूर्ण एक क्षेत्र सहकारीको विकास र प्रबर्द्धनका लागि बैंकले आफ्नो भुमिका निर्वाह गर्दै आइरहेको छ । सदस्यहरु बीच लोकप्रिय रहेको सदस्य शिक्षा अन्तर्गत इ–पुस्तकालय, समसामयिक विषयमा हरेक हप्ता परामर्श र सहयोग, जानकारी मुलक कार्यक्रम तथा सदस्य सम्मान कार्यक्रमको आयोजनाको कारणले पनि सदस्यहरुमा हौसला तथा उत्प्रेरणा जगाउने कार्यमा मद्धत पुगेको छ र बैंक प्रतिको सम्बन्ध अझ प्रगाढ बन्दै गएको छ । हालको विद्यमान प्रतिकुल समयमा पनि बैंकले आफ्नो कार्य सञ्चालन गर्ने दौरानमा नियमकीय प्रावधानहरुको प्रारुपलाई पालना गर्दै आएकाले पनि बैंकले सदस्यमैत्री सेवा प्रदान गर्न सक्षम छ । बैंकले तत्कालको लागि हुने लाभहानी भन्दा पनि दिगो र मर्यादित सेवा उपलब्ध गराउन क्रियाशील रहेको जानकारी गराउँदछौं ।

अन्त्यमा के भन्नुहुन्छ ?

राष्ट्रिय सहकारी बैंक लिमिटेड २०६० असार २५ गते दर्ता भई २०६१ साउन १९ गतेबाट कारोवार शुभारम्भ गरेको दिनलाई स्थापना तथा कारोबार शुभारम्भ दिवसको रुपमा स्मरण गर्दै स्थापनाको २१ औं स्थापना दिवस मनाएका छौं । यस अवसरमा बैंकका परिकल्पनाकार संस्थापक पूर्व सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, शेयर सदस्य सहकारी संघ÷संस्थाहरु, नियमनकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साकेदार संघ÷संस्थाहरु, कर्मचारीहरू सहकारी अभियानमा रहेर साथ र सहयोग गर्नुहुने शुभेच्छुक तथा सरोकारवाला निकायहरु सबैमा हार्दिक आभार प्रकट गर्दछौं । वितीय संस्था सञ्चालन गर्दा जोखिम व्यवस्थापनको लागि पर्याप्त प्रावधानहरु पुरा गरेर सञ्चालन गर्नुपर्ने कुरालाई मध्यनजर गर्दै यस बैंकले नेपाल राष्ट्र बैंकबाट तोकिएका जोखिम व्यवस्थापनका मापदण्डहरु, पूँजी पर्याप्तताको पालना, अनिवार्य नगदको पूर्णता, कर्जा जोखिम कोषमा यथेष्ट प्रबन्ध, एकल कर्जा लगानी तथा कर्जा सदुपयोगितालाई विशेष ध्यान दिँदै सञ्चालन गरिरहेको यस परिप्रेक्षमा समग्र सहकारीको वित्तीय जोखिम व्यवस्थापन गर्न अनुकरणीय मापदण्डहरु विकास र विस्तार गरि सेवा उपलब्ध गराउन प्रयत्नशील छ । आगामी दिनमा पनि सदस्यहरुको सदभाव सहयोग पाउँदै अझ मर्यादित र व्यवसायिक सेवा प्रदान गर्न हामीलाई प्रेरणा मिल्नेछ भन्ने अपेक्षा सहित सेवाको गुणस्तरमा वृद्धी गर्दै जाने प्रतिवद्धता व्यक्त गर्दछौं ।

You might also like

Comments are closed.