‘सहकारी दिवस सम्पूर्ण सहकारीकर्मीहरुको साझा पर्व हो, सबै मिलेर सफल बनाऔं’

काठमाडौं । ६५औं राष्ट्रिय सहकारी दिवस सफल बनाउन राष्ट्रिय सहकारी बैंकले आफ्नो ठाउँबाट सहयोग र सहकार्य गर्ने भएको छ । सहकारी बैंकले देशभर रहेका शाखा सञ्जालमार्फत सहकारी अभियानमा जोडिने र जिल्लास्तरमा केन्द्रमा आयोजना हुने कार्यक्रम सफल बनाउन आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने बैंकका अध्यक्ष केवि उप्रेतीले आर्थिक आवाजलाई बताए । नेपालमा हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ ।

‘सहकारी दिवस सफल बनाउन हामीले आफ्नो ठाउँबाट सहकार्य गर्छौं,’ उनले भने, ‘सातै प्रदेशमा रहेका शाखा सञ्जाल र केन्द्रबाट हामी सहकारी अभियानमा जोडिन्छौं ।’ देशभर बैंकका ६८ वटा शाखा छन् । ३८ जिल्लामा शाखा विस्तार गरिसकेको बैंकमा करिब ५ सय जना कर्मचारी आबद्ध छन् । सहकारी दिवस सम्पूर्ण सहकारी अभियानसँग जोडिएकाहरुको साझा पर्व रहेकाले सबै मिलेर सफल बनाउनुपर्ने उप्रेती बताउँछन् ।

यस वर्ष नेपालमा ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ मूल मन्त्रका साथ साताव्यापी रुपमा राष्ट्रिय सहकारी दिवस मनाउन सुरु भइसकेको छ । ‘बैंक आफैले कार्यक्रम आयोजना गर्नुभन्दा पनि मूल समारोह समिति अन्तर्गत हुने कार्यक्रम सफल बनाउन हामी सक्रिय हुन्छौं,’ उनले भने ।

बैंकमा देशभर रहेका करिब १५ हजार प्रारम्भिक सहकारी संस्थाहरु आबद्ध छन् । सेयर पुँजी ३ अर्ब रुपैयाँ, निक्षेप ६६ अर्ब र ब्यालेन्स सिट ७२ अर्ब रुपैयाँ छ ।

You might also like

Comments are closed.