काठमाडौं । शैक्षिक परामर्श व्यवसाय गर्ने व्यवसायीले अनिवार्य रुपमा धरौटी राख्नुपर्ने व्यवस्था लागु हुन लागेको भन्ने विषय सुन्नमा आएको भन्दै कोरिया शैक्षिक परामर्श संघ (केक्यान) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘शैक्षिक परामर्श व्यवसाय सञ्चालन गर्दा धरौटी राख्नुपर्ने व्यवस्था लागु गर्न प्रस्ताव गरिएको भन्ने समाचार विभिन्न सञ्चार माध्यमबाट हामीले सुनिरहेका छौं,’ केक्यानका अध्यक्ष गणेश शर्माले भने, ‘यदि, यस्तो व्यवस्था लागु हुन लागेको हो भने व्यवसायीहरुलाई अन्याय हुन्छ ।’
सरकारले शैक्षिक परामर्श व्यवसायीलाई नियमन गर्न नयाँ निर्देशिका बनाउने क्रममा उक्त निर्देशिकामा व्यवसायीले एक करोड रुपैयाँ धरौटी राख्नुपर्ने प्रस्ताव गरिएको भन्दै पछिल्लो समय विरोध भइरहेको छ ।
‘विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण व्यवसायीहरु मर्कामा परेका छन्,’ अध्यक्ष शर्माले भने, ‘यस्तो विषम परिस्थितिमा व्यवसायीलाई संरक्षण गर्नुपर्नेमा धरौटी प्रस्ताव गरिन्छ भने त्यो निकै अन्यायपूर्ण हुन्छ ।’
शैक्षिक परामर्शदातृ संस्थाहरुले सेवामुलक व्यवसाय गरिरहेको बताउँदै केक्यानले धरौटीको व्यवस्था नगर्न सरकारसँग मागसमेत गरेको छ । ‘यो व्यवस्था लागु गरिए धेरै व्यवसायी व्यवसायबाट नै पलायन हुने अवस्था आउँछ,’ केक्यानले भनेको छ ।
व्यवसायीलाई अन्याय हुने गरी धरौटी राख्ने व्यवस्था भएमा केक्यान सशक्त विरोधमा उत्रने समेत शर्माले बताए ।
Comments are closed.