पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि. केही वर्ष पहिलासम्म पृथ्वी राजमार्ग बस संचालक समितिको नामले चिनिन्थ्यो । २०३१ सालमा यसको स्थापना भएको हो । हर्कबहादुर गुरुङ संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । छोटो समयमा नै यसले आफ्नो परिचय देशभर दिन सफल भएको छ । अहिले पनि नेपालकै ठुलो यातायात व्यवसायी संस्थाको रुपमा चिनिएको छ । मेरो बुबाले पनि कोषाध्यक्षको जिम्मेवारी पुरा गर्नुभएको थियो । संस्थालाई व्यवसायमैत्री तरिकाले संचालन गर्न महत्वपूर्ण भुमिका खेल्नुभएको थियो ।
२०७४ मा संस्थालाई नवीकरण नगरिकन खारेज गरियो र भएका सम्पत्ति तथा घर जग्गा पनि राज्यको नाममा राख्ने काम गरियो । जुन समयमा रामबहादुर थापा वादल गृहमन्त्री हुनुहुन्थ्यो । यातायात व्यवसायी माथि धर पकड हुने अवस्था पनि आयो । व्यवसायीलाई दुःख दिने काम भयो । राज्यले नीति संशोधन गरेर विशेष नीतिका रुपमा ल्याएपछि अहिले पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रा.लि को नाममा संचालनमा छ ।
प्रालि अन्तर्गत करिव १ हजार ३ सय व्यवसायी आवद्ध हुनुहुन्छ । म अहिले कम्पनीको संरक्षक छु । हामीले विभिन्न नीतिलाई परिवर्तन गर्दै ल्याएका छौं । राज्यलाई पनि टेवा पुग्ने, आम व्यवसायीले व्यवसाय संचालन गर्न पाउने, यात्रुले पनि आफ्नो रोजाइ अनुसारका सवारी साधन चढ्न पाउने व्यवस्था गरेर कम्पनीले सुविधा सम्पन्न तथा उत्कृष्ट गाडी संचालनमा ल्याएको छ । विशिष्ट श्रेणीदेखि मध्यम वर्ग सबैले उपयोग गर्नसक्ने गाडी संचालनमा छन् ।
नेपाली सडकमा स्तरीय बस सञ्चालन भएपनि सडकको भौतिक पुर्वाधारको अवस्था भने निकै दयनीय छ । यसको उदाहरणको रुपमा नारायणगढ बुटबल सडकखण्डलाई हेर्न सकिन्छ । करिव डेढ घण्टा समय लाग्ने बाटोमा यात्रा गर्दा अहिले करिव ७ घण्टा लाग्छ । करोडौं लगानी गरेर व्यवसायीले संचालन गरेका गाडीको आयु छोट्टिने अवस्था छ । राज्यले विकास निर्माणको कामलाई प्राथमिकतामा राखेर छिटो छरितो तरिकाले काम सम्पन्न गर्नुपर्छ । हामीले गाडी संचालन गरेर राज्यलाई टेवा पुर्याइरहेका छौं, राज्यले पनि पूर्वाधारमा ध्यान दिन जरुरी छ ।
राज्यले व्यवसायीमैत्री नीति नियम ल्याएर व्यवसाय गर्न सहज वातावरण सृजना गर्नुपर्छ । लगानीका लागि सहजीकरणको अवस्था बनाउनुपर्छ । रुट पर्मिटलाई सहज बनाउनुपर्छ । ट्याक्स, लोन, भन्सार आयात दर लगायतका विषयमा पनि राज्यले सहजीकरण गर्नुपर्छ । हामीले संघर्ष गरेर नै यस क्षेत्रमा काम गरिरहेका छौं ।
मैले यस व्यवसायमा संघर्षपूर्ण तरिकाले करिव ३५ वर्ष बिताइसकेको छु । पोखरा जगदम्वा ट्राभल्सले कम्पनीमा आवद्ध भएर ३० वटा गाडी संचालनमा ल्याएको छ । पोखरा दिल्लीमा नेपाल भारतमैत्री बस संचालन गरिरहेका छौं । पोखरा काठमाडौं रुटमा अति विशिष्ट गाडी संचालन गरिरहेका छौं ।
पृथ्वीराजमार्ग बस संचालक कम्पनीमा आवद्ध गाडी दुर्घटना भएमा संस्थाले जिम्मेवारी लिदै आएको छ । घाइतेलाई तुरुन्तै अस्पताल पु¥याउने तथा उपचार खर्च दिने गरेको छ । यसले राज्यलाई पनि सहयोग पुग्दै आएको छ । क्षतिपूर्तिको व्यवस्था पनि गर्दै आएको छ ।
कम्पनीमा रुपान्तरण भएपछि हामी अहिले छैठौं वार्षिक साधारण सभा गर्दैछौं । व्यवसायीलाई कसरी राहत दिन सकिन्छ र यात्रुलाई कसरी सहज बनाउन सकिन्छ भनेर हामी सोही अनुसार लागिरहेका छौं । कम्पनीले नयाँ नयाँ नीति ल्याएर अगाडि बढिरहेको छ । संस्थालाई धेरै समस्या तथा चुनौती आए, फितलो बनाउन प्रहार पनि भए । ती समस्याहरुसँग जुध्दै हामी अहोरात्र खटेर संस्था बलियो बनाउनतर्फ लागिरहेका छौं । योगेन्द्रबहादुर केसी नेतृत्वको बर्तमान कार्यसमितिले पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिमा आबद्ध व्यवसायीहरुको व्यावसायिक हितमा सफलताका साथ काम गरिरहेको मैले पाएको छु ।
कुराकानीमा आधारितः
Comments are closed.