काठमाडौं । आइएमई पे र खल्ती वालेट मर्ज भई, साउन १ गते, आजबाट ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु भएको छ । यसरी एउटै एपमा समेटिएपछि साविकका १ करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिएका छन् । यो मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ ।
सेवाग्राही र पुँजीले ‘खल्ती बाइ आइएमई’लाई देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनाएको छ । मर्जरले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ । यी दुई वालेट मर्जरमा जानु अघि झन्डै एक दशकयता विभिन्न डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएका थिए ।
ब्याज दिने एक मात्र वालेटको रूपमा चिनिएको आइएमई पे रेमिटेन्स, इन्ड्राइभ भुक्तानीजस्ता सेवामा लोकप्रिय थियो भने खल्ती मुभी बुकिङ, इभेन्ट टिकटिङ र आफ्ना इनोभेटिभ फिचरहरूका कारण युवापुस्तामा रुचाइएको थियो ।
अब यी दुवै वालेट मर्ज भएर आ–आफ्ना उत्कृष्ट सेवाहरूलाई अझ परिष्कृत, सहज, सरल र सुरक्षित रूपमा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । साबिक आइएमई पे प्रयोगकर्ताहरूका लागि ‘खल्ती बाइ आइएमई’ मा माइग्रेट हुने सुविधा उपलब्ध छ । यस प्रक्रिया मार्फत आइएमई पे वालेटमा रहेको रकम, ब्याज, रिवार्ड प्वाइन्ट तथा सम्पूर्ण विवरणहरू नयाँ एपमा स्थानान्तरण हुनेछन् । खल्ती प्रयोगकर्ताहरूले चाहिँ आफ्नो एप अपडेट गरी नयाँ अनुभव लिन सक्ने छन् ।
आइएमई पे – आइएमई ग्रुप अन्तर्गत सञ्चालन हुँदै आएको थियो । अर्कोतर्फ, चार जना सह–संस्थापकद्वारा स्थापना गरिएको खल्तीमा पछि वल्डलिंक, त्रिवेणी ग्रुप जस्ता कर्पोरेट लगानीकर्ताहरू आबद्ध भएका थिए ।
आइएमई डिजिटल सोलुसन्सका अध्यक्ष कृष्णप्रसाद शर्माले आइएमई पे र खल्तीबीचको मर्जरबाट बनेको आइएमई खल्ती लिमिटेडले डिजिटल नेपालको सम्भावनालाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
खल्तीका अध्यक्ष मनोज कुमार अग्रवालले नेपाली डिजिटल वित्तीय क्षेत्रको दीर्घकालीन समृद्धिका लागि यो मर्जर ऐतिहासिक कदम भएको र आइएमई खल्ती लिमिटेडले देशभर वित्तीय पहुँचको नयाँ युग सुरु गर्ने बताए ।
आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल पहुँच विस्तार, डिजिटल साक्षरता तथा समावेशीकरणका लागि थप योजनाहरू रहेको जानकारी दिए ।
दुवै कम्पनीले आज विशेष कार्यक्रम आयोजना गरि मर्जरको औपचारिक घोषणा समेत गर्ने छन् ।
आइएमई पेले ‘डिजिटल सर्भिस आइसिटी अवार्ड २०२४’, ‘एचआरएम अवार्ड फर एक्सेलेन्स इन द फिनटेक क्याटेगोरी २०२३’ र ‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२३’ मा एक्सेलेन्स इन फिनटेक पार्टनरसिप अवार्ड प्राप्त गरेको थियो ।
त्यस्तै, खल्तीले ‘विस्टा ग्लोबल इन्नोभेसन एण्ड टेक एक्सेलेन्स अवार्ड’ २०२२, २०२३ र २०२४ मा देशकै सबैभन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने सेवा प्रदायक (एनसिएचएल बाट लगातार २ वर्ष) र नेपाल राष्ट्र बैंकबाट डिजिटल कारोबारमा पु¥याएको योगदानको उच्च कदरस्वरूप सम्मान प्राप्त गरेको थियो । यी दुई वालेटबीचको मर्जर र एकीकृत कारोबार डिजिटल वालेटको क्षेत्रमा ऐतिहासिक हुने विश्वास गरिएको छ ।
Comments are closed.