बागलुङ ।
नेपालीको महान पर्व दसैं तिहार नजिकिएसँगै च्याङ्ग्रा, खसी र बोकाको जोहो गर्न थालिएको छ । दसैं तिहारमा मासुका लागि प्रयोग गरिने च्याङ्ग्रा कम आयात र मूल्यमा वृद्धि भएका कारण नागरिकको ध्यान खसीबोकामा जान थालेको छ ।
बागलुङको एक गाउँमा दसैं र तिहारका लागि बिक्रीका लागि १ हजार खसी बोका तयार गरिएको छ । नजिकिँदै गरेको दसैं तिहारलाई लक्षित गरी काठेखोला गाउँपालिका–४ तंग्रामका महिलाहरुले एक हजार खसी बोका बिक्रीका लागि तयार गरेका हुन् । तंग्रामका दुई सहकारीमा आवद्ध महिलाले खसी तथा बोका बिक्रीबाट वार्षिक २ करोड रुपैयाँ भित्र्र्याउँदै आएका छन । जसमध्ये दसैं तिहारमा मात्रै करिब १ करोडको खसी बोका कारोवार गर्दै आएका छन् ।
तंग्राममा सञ्चालित सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारी संस्था र वसन्त सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध महिलाले सहकारीमार्फत विगत छ वर्षदेखि बाख्रापालन व्यवसाय गर्दै आएका छन् ।
दसैं तिहारका लागि सप्तरङ्गी सहकारीले ३ सय ९५ र वसन्त सहकारीले ६ सय खसीबोका गरी जम्मा ९ सय ९५ खसीबोका बिक्रीका लागि तयार भएका जनाएका छन् । दसैं तिहार नजिकिएसँगै अहिले बागलुङ बजारमा धमाधम खसीबोका बिक्रीका लागि पठाउन थालिएको वसन्त सहकारी संस्थाका प्रबन्धक हेमा विकले जानकारी दिईन् । “वर्षभरीमा हाम्रो खसीबोकाको बढी व्यापार दसैं तिहारमा हुन्छ”, विकले भनिन्, “गाउँमा उत्पादन भएका खसीबोका सहकारीमार्फत बजारीकरण गरिन्छ, कूल खसीबोकाको कारोवारमध्ये आधा कारोवार दशैँ तिहार लक्षित हुने गरेको छ ।”
दुई सहकारीमा आबद्ध महिला शेयर सदस्यले उत्पादन गरेका खसीबोका सहकारीमार्फत बागलुङ बजारमा बिक्री गरिँदै आएको सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारीका प्रबन्धक मनकुमारी पुनले जानकारी दिईन् । दुवै सहकारीले आफ्ना सदस्यहरुको खसीबोका प्रतिकेजी रु ४ सय ५० मा सङ्कलन गर्ने र रु ४ सय ५५ मा बिक्री गर्ने गरेका छन् । प्रतिकिलो जम्मा ५ सय रुपैयाँ बढी लिएर सदस्यहरुका उत्पादन सङ्कलन गरी बजारमा लगेर बिक्री वितरणको व्यवस्था गरिएका कारण उत्पादन गर्ने महिलालाई सहज भएको छ । सहकारीका शेयर सदस्यमध्ये एक वर्षमा ५ देखि ३० वटासम्म खसीबोका उत्पादन गर्दै आएका सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारीका प्रबन्धक पुनले बताईन् ।
Comments are closed.