तनहुँ जिल्लामा छरिएर रहेका व्यवसायीलाई एकताबद्ध गर्दै आजभन्दा करिव ९ वर्ष अघि नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ स्थापना गरेर संगठित रुपमा काम गर्दै आइरहेका छौँ । अमृतबहादुर घिमिरेको अध्यक्षतामा करिव १० जना सदस्यबाट संस्था स्थापना गरेका हौँ । हाल संस्थामा करिव ५० जना व्यवसायी आबद्ध हुनुहुन्छ । संस्थापक सदस्य, कोषाध्यक्ष हुँदै हाल नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ तनहुँको अध्यक्षको कार्यभार सम्हालेको छु ।
संस्थाले भूकम्प प्रभावित, बाढीपहिरो, दैवि प्रकोपमा उद्धार तथा राहतका कार्यक्रम, मिर्गौला पीडितलाई आर्थिक सहयोग जस्ता सामाजिक कार्य पनि गरेको छ । संघले जिल्लाभित्र रहेका विभिन्न संघसंस्था, निकाय लगायतका क्षेत्रमा सामाजिक सेवाभावले काम गर्दै आइरहेको छ ।
संस्था स्थापनाको सुरुका वर्षहरुमा यो क्षेत्रमा व्यवसाय राम्रो थियो । व्यवसायी पनि ऊर्जाका साथ आफ्नो क्षेत्रमा खटिनुहुन्थ्यो । काम पाइएन भन्ने अवस्था व्यवसायीले झेल्नु पर्दैनथ्यो । पछिल्ला वर्ष स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि भने हेभी इक्विपमेन्टको क्षेत्रमा कामको खडेरी लागेको छ । जनप्रतिनिधि आफैले उपकरण खरिद गर्ने वा आफ्ना आफन्तलाई खरिद गर्न लगाएर प्रयोग गर्न थालेपछि व्यवसायीले काम पाउन छाडेका हुन् ।
यो क्षेत्रमा लगानी गरेको रकम उठ्न नसक्नु पनि ठूलो समस्याको बनेको छ । लगानी गरेको पैसा उठेको छैन भने अर्कोतिर बैंकले किस्ता बुझाउन ताकेता गरिरहेको हुँदा व्यवसायीलाई यो व्यवसाय निल्नु न ओकल्नु जस्तै बनेको छ । पाउनुपर्ने रकम उठाउन राज्यले चासो दिएको पाइदैन । यसले गर्दा बैंकमा बुझाउनुपर्ने किस्ता थपिदै गएको छ । समयमा किस्ता बुझाउन नसक्दा बैंकले ताकेता गरिरहेको छ । काम गरेको ठाउँमा समयमा नै पैसा उठाउन सकियो भने व्यवसायी अन्यत्र पलायन हुनुपर्ने स्थिति आउदैनथ्यो ।
पछिल्ला वर्षमा यो क्षेत्रमा आबद्ध रहेका व्यवसायी बिस्तारै पलायन हुँदै गएको अवस्था छ । तनहुँ जिल्लामा नेपाल हेभी इक्विपमेन्टको क्षेत्र पूर्ण रुपमा धरासायीको अवस्थामा रहेको भन्दा पनि फरक पर्दैन । यहाँका व्यवसायीको कुरा गर्नुपर्दा अवस्था अत्यन्तै नाजुक छ । यस क्षेत्रमा काम पाइन छाडेपछि केहीले व्यवसाय छाडिसकेका छन् भने केही यो व्यवसायबाट पलायन भएर वैदेशिक रोजगारमा जान बाध्य भएका छन् ।
Comments are closed.