काठमाडौं । काठमाडौं महानगरपालिका ले गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थाहरूलाई आग्रह गरेको छ ।
महानगरले केही सहकारीहरूले विदेशी नागरिकलाई सदस्य बनाइ बचत तथा ऋण सम्बन्धी आर्थिक कारोबार गरेको गुनासो आएको भन्दै यस्तो कार्य तत्काल बन्द गर्न सबै सहकारी संस्थालाई निर्देशन दिएको हो ।
महानगरको सहकारी विभागका प्रमुख धुव्रकुमार काफ्ले का अनुसार गैरनेपाली नागरिकलाई सहकारी संस्थाको सदस्य बनाउने कार्य प्रचलित कानुनविपरीत हो । त्यसैले सहकारीहरूले कानुनी व्यवस्था अनुसार मात्रै सदस्यता र आर्थिक कारोबार सञ्चालन गर्नुपर्नेमा महानगरले जोड दिएको छ ।
उनले महानगरको आग्रहलाई बेवास्ता गरे प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत दिएका छन्। उनका अनुसार सहकारी ऐन २०७४ को दफा ३० तथा काठमाडौं महानगरपालिका सहकारी ऐन २०७४ को दफा २० मा सहकारी संस्थामा नेपाली नागरिक मात्रै सदस्य हुन सक्ने स्पष्ट व्यवस्था गरिएको छ ।
त्यसैगरी, सहकारी ऐन २०७४ को दफा ५० र काठमाडौं महानगरपालिकाको सहकारी ऐन २०७४ को दफा ३९ अनुसार सहकारी संस्थाहरूले सदस्य केन्द्रित भई बचत तथा ऋण कारोबार सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था रहेको पनि काफ्लेले जानकारी दिए ।
महानगरले लामो समयदेखि साधारणसभा नगरेका तथा प्रतिवेदन नबुझाएका सहकारीहरूलाई खारेजीको प्रक्रियामा लैजाने तयारीसमेत गरेको छ । तर प्रक्रियामै नआएका सहकारीलाई सिधै खारेजी गर्दा बचतकर्ताको रकम हिनामिना हुन सक्ने भएकाले पहिले प्रतिवेदन बुझाउने र त्यसपछि मात्रै खारेजी प्रक्रिया अघि बढाइने महानगरको योजना रहेको विभागले जनाएको छ ।
खारेजी प्रक्रियामा जाने सहकारीहरूले सबैभन्दा पहिले बचतकर्ताको रकमको यकिन विवरण र आर्थिक कारोबारको स्पष्ट अभिलेख पेश गर्नुपर्ने पनि महानगरले जनाएको छ ।
महानगरले दुई महिनाअघि नै सूचना जारी गर्दै तोकिएको समयमा प्रतिवेदन पेश नगर्ने र साधारणसभा नगर्ने सहकारीलाई निष्क्रिय घोषणा गरी कानुनी कारबाही गरिने चेतावनी दिएको थियो । हाल काठमाडौं महानगरपालिकामा करिब १ हजार ९०० सहकारी संस्था दर्ता रहेको बताइएको छ।



Comments are closed.