लुम्बिनी प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले भेडा स्रोत केन्द्र बनाउने स्थानको स्थलगत अनुगमन गरेकी छन् । भेडा स्रोत केन्द्रको लागि छनोट गरिएको जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका वडा नम्बर ११ मा रहेको उपल्लो सेराको उनले स्थलगत अनुगमन गरेकी हुन् । अनुगमनपश्चात मन्त्री पौडेलले गाउँपालिका पशुपालनको लागि उपयुक्त ठाउँ भएको बताईन् । पशुपालनलाई निर्वाहमुखी नभइ अब व्यावसायिक बनाउनुपर्नेमा उनको जोड थियो ।
सो अवसरमा स्थानीयवासीले मन्त्री पौडेल समक्ष विभिन्न माग राखेका छन् । यहाँका स्थानीयले केही वर्ष अघिसम्म पशुपालन व्यवसाय गर्दै आएका थिए । अहिले भने सरकारले संरक्षण नगरेकै कारण पशुपालन व्यवसया धरापमा पर्दै गएको उनीहरुले गुनासो गरे ।
पशुवस्तुलाई विभिन्न रोग लाग्दा बेलैमा उपचार र प्राविधिक नपाउँदा पनि आफूहरु समस्यामा परेको उनीहरुले बताए ।
उनीहरुले गाउँपालिकामै साना उद्योग सञ्चालन तथा कृषि एम्बुलेन्स सञ्चालनको माग गरेका छन् भने कृषकका लागि आएको बजेट र कार्यक्रम सोही शीर्षकमा खर्चिनुपर्नेमा माग गरेका छन् । स्थानीय कृषकले राखेका मागको सम्बोधन गर्दै मन्त्री पौडेलले भेडा पालनलाई उद्योगसँग जोड्ने तयारी प्रदेश सरकारले गरिरहेको बताईन् ।
पशुपालकसँगै कृषिलाई पनि मुख्य प्राथमिकतामा राखेर काम गरिने विश्वास दिलाउँदै उनले स्थानीयको सल्लाह, सुझावलाई समेटेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। मन्त्री पौडेलले भनिन्, “कृषकको लागि आएको बजेट कृषकमै पुग्छ, यसमा कुनै शङ्का मान्नुपर्दैन, तपाईँहरु ढुक्क हुनुहोस् ।”
Comments are closed.