नेपालमा चेन होटेलको अवधारणा, विकास र चुनौती

कृष्ण न्यौपाने, प्रमुख कार्यकारी अधिकृत, सिद्धार्थ ग्रुप

कोरोना महामारीपछि मुलुकको पर्यटन क्षेत्र पुुनः चलायमान बन्दै गएको छ । विदेशी पर्यटक आगमनका हिसाबले हेर्दा सन् २०२४ को अन्त्यसम्म कोरोना महामारीभन्दा अघि अर्थात् २०१९ को अवस्थामा पुग्ने संकेत देखिएको छ । जसरी पर्यटन क्षेत्र चलायमान बन्दै गएको छ, त्यसैगरी पर्यटन क्षेत्रको प्रमुख आधार होटेल क्षेत्रमा पनि लगानी बढेको छ । कुनै समय विदेशी पर्यटकका भरमा सञ्चालित पर्यटक स्तरीय होटेलमा पछिल्लो समय आन्तरिक पर्यटकको उपस्थिति बलियो बन्दै गएको छ ।

पर्यटन क्षेत्र चलायमान हुनुको पछाडि होटेलले दिने सेवा तथा सुविधा पनि पर्छ । त्यसमा चेन होटेलहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । नेपालमा पनि चेन होटेलले पर्यटन क्षेत्रमा विशेष भूमिका निर्वाह गरेको देखिन्छ । नेपालको पहिलो पाँचतारे होटेल सोल्टीदेखि ह्यात रिजेन्सीसम्म आउँदा होस् वा पछिल्लो समय मेरियट र हिल्टन होटेल सञ्चालनमा आउँदा पनि चेन होटेलको महत्त्व कम भएको छैन । तारागाउँमा सञ्चालित ह्यात रिजेन्सी होटेल स्थापना हुनुुअघि सरकारले तयार पारेको गुरुयोजनामै अन्तर्राष्ट्रिय स्तरका चेन होटेलको परिकल्पना गरिएको थियो । यो अवधारणा पर्यटक बढाउनकै लागि थियो भन्न सकिन्छ ।

अन्तर्राष्ट्रिय चेन होटेलको दबदबाबीच पनि नेपालमा पछिल्लो समय स्वदेशी चेन हस्पिटालिटीको प्रभाव बढ्दो छ । यस्ता चेन होटेलमा पनि ग्राहकको विश्वास बढ्दो छ । अन्तर्र्राष्ट्रिय चेन होटेलले जस्तै स्वदेशी चेन होटेलहरूको गुणस्तरीय सेवा तथा सुविधा, सेवाप्रतिको प्रतिबद्धताकै कारण ग्राहकको विश्वसनीयता बढेको हो भन्न सकिन्छ ।

नेपालमा चेन होटेलको विकास

नेपालको हस्पिटालिटी क्षेत्रको इतिहास हेर्ने हो भने व्यावसायिक सफलताले चेन होटेलको अवधारणा सुरु भएको देखिन्छ । कुनै एक ठाउँमा होटेलले व्यावसायिक सफलता प्राप्त गरेपछि अर्को ठाउँमा पनि सोही नाममा होटेल खोल्ने क्रमले सफलता पाउन थालेपछि चेन होटेलको सुरुवात भएको हो । यद्यपि चेन होटेलको प्रकृति भने त्यस्तो होइन ।

सिद्धार्थ हस्पिटालिटी पनि एक स्थानमा प्राप्त व्यावसायिक सफलताले अन्य स्थानमा व्यवसाय सुरु गर्न प्रेरित गरेको अवस्थाबाट चेन होटेलको अवधारणामा आएको हो । अहिले भने हामीहरूले चेन होटेल निर्माणका लागि ठूलो नीतिगत परिवर्र्तन गरेका छौँ । नेपालमा चेन होटेलको क्षेत्रमा रिसर्च एन्ड डेभलपमेन्ट, आवश्यक तथा आवश्यकताका विषयमा पर्याप्त अध्ययन हुन सकेको छैन । चेन होटेलसँग नीति पनि स्पष्ट छैनन् । एउटै कम्पनीअन्तर्गत धेरै होटेल सञ्चालन हुनुलाई मात्रै चेन होटेल भन्न सकिँदैन । कुनै ग्रुपद्वारा सञ्चालित होटेललाई ग्रुप अफ कम्पनिज भन्न सकिए पनि चेन होटेलको अवधारणामा सञ्चालित भएको भन्न सकिँदैन ।

अहिले केटीएम, सोल्टी र बाराहीलगायत ब्रान्डले पनि आफूलाई चेन हस्पिटालिटीका रूपमा अगाडि बढाउन प्रयासरत छन् । यी कम्पनीले अहिले विभिन्न स्थानमा विभिन्न वर्गका होटेल सञ्चालनमा ल्याई चेनको अवधारणामा काम सुरु गरेको देखिन्छ । सोल्टी होटेलले लामो समयसम्म विदेशी कम्पनीसँग काम गरेको हो । आफैंले सुरुवात गरेको होइन । यद्यपि अहिले चेन होटेलको अवधारणमा आफूलाई विस्तार गर्ने प्रयासरत छ ।

सिद्धार्थ हस्पिटालिटी पनि सुरुवाती दिनमा चेन अवधारणामा खोलिएको होइन । तर, पछिल्लो एक दशकयता चेन अवधारणामा अगाडि बढाइएको छ । यसका लागि हामीले आफ्नै आन्तरिक नीति बनाएका छौं । यस क्षेत्रमा एक दशकभन्दा लामो समयदेखि अध्ययन, अनुसन्धानको काम पनि गरिरहेका छौं । सुरुमा धेरै नीतिगत समस्या आए । सिद्धार्थले आफ्नै होटेल सञ्चालन गर्नु र अरूको होटेल सिद्धार्थका नाममा व्यवस्थापन तथा सञ्चालन गर्नु निःतान्त बेग्लै विषय हुन् । त्यसैले सुरुवाती दिनमा हामीलाई चेन होटेलका रूपमा आफूलाई विकास गर्न नीतिगत स्पष्टता जरुरी थियो । त्यसका लागि हामीले लामो समय खर्चिएका पनि छौं ।

सोल्टीलगायत होटेलले सुरुमा विदेशीसँग काम गरे पनि चेन होटेलको अवधारणामा काम सुरु गरेको धेरै भएको छैन । नेपालका अन्य होटेलहरूले पनि चेनमा आधारित काम निकै ढिलो सुरु गरेका हुन् । सिद्धार्थले अन्तर्राष्ट्रिय चेन होटेलसँगको प्रतिस्पर्धामा आफूलाई अब्बल साबित गर्दै आएको छ । गुणस्तरीय सेवा र सुविधामा एकरूपता ल्याउनु सबैभन्दा चुनौतीपूर्ण काम हो । सिद्धार्थ चेन हस्पिटालिटीका रूपमा आफूलाई बलियो गरी स्थापित गर्न सफल भएको छ । सिद्धार्थले अहिले पनि चेन होटेलको अवधारणा बुझेका र विदेशी चेन होटेलमा काम गरिसकेका नेपालीहरूलाई काम दिएको छ । यसबाट उहाँहरूले विदेशमा सिकेको सीपलाई नेपालमा प्रयोग गर्न सम्भव भइरहेको छ ।

ब्रान्डप्रतिको विश्सनीयता

वैश्विक अर्थतन्त्रमा एउटा उदाउने र अर्को अस्ताउने क्रम चलिरहन्छ । लामो समयदेखि राम्रो काम गरिरहेको अस्ताउने र नयाँ आएको कम्पनीले राम्रो गर्ने पनि हुन्छ । यो आधुनिक अर्थतन्त्रको माग र आपूर्तिसँग सम्बन्धित विषय हो । प्रविधि हावी भएको बजारमा आफूलाई कसरी अगाडि बढाउने र टिकाइराख्ने भन्नेले विशेष अर्थ राख्छ । यो विषय चेन हस्पिटालिटीमा पनि लागु हुन्छ । प्रविधिको विकासअनुसारको सीप र लगानी भएन भने समस्या सुरु हुन थाल्छ । यसमा राम्रो सेवा दिन्छु भनेर मात्रै पनि पुग्दैन ।

चेन हस्पिटालिटीको सबैभन्दा राम्रो पक्ष भनेको विश्वसनीयता हो । विश्वसनीयता कायम राख्न सकियो भने त्यसअन्तर्गतका होटेलमा अकुपेन्सीको समस्या हुँदैन । आज विदेशबाट आउने पर्यटकहरू पनि कुन होटेलमा बस्ने भन्ने निर्णय यसैका आधारमा लिन्छन् । किनभने उनीहरूलाई त्यो ब्रान्डप्रति विश्वास हुन्छ । नेपालमा पनि अहिले ब्रान्डप्रति सचेत हुने र सोहीअनुसारको सेवा खोज्नेहरू बढेका छन् । सिद्धार्थकै हकमा पनि यो लागु भएको हामीले पाएका छौं । सिद्धार्थमा विश्वास गर्ने ग्राहकहरू सिद्धार्थअन्तर्गतकै होटेल, रिसोर्ट तथा क्याफेमा पुगेको देखिन्छ । सिद्धार्थमा स्वदेशी मात्रै होइन विदेशी पर्यटकको पनि आकर्षण बढ्दो छ ।

ओटीए प्लेटफर्मममा पनि स्वदेशी चेन होटेलहरूको राम्रो प्रतिक्रिया आइरहेको देखिन्छ । अन्तर्राष्ट्रिय चेन होटेलहरूले मूल्यमा कडाइ गर्छन् भने स्वदेशी चेन होटेलहरू अलिकति लचक हुन्छन् । तर सेवा–सुविधाका हिसाबले आजका दिनमा स्वदेशी चेन होटेलहरू स्तरअनुसारको सेवा दिन अन्तर्राष्ट्रिय चेन होटेलसँग प्रतिस्पर्धा गर्ने भइसकेका छन् ।

सिद्धार्थको यात्रा

सिद्धार्थ २६ वर्षअघि कैलालीको टीकापुरबाट सुरु भएको हो । मोफसलबाट सुरु भई देशका अधिकांश स्थानमा पुग्न धेरै काम गर्नुपरेको छ । हामीले सुरुवात नै मध्यम स्थानबाट गरेको र अधिकांश व्यवसाय ठूलो स्थानमा भन्दा पनि मध्यमस्तरका सहरबाट गरेकाले हामीलाई व्यावसायिक रूपमा सफलता प्राप्त गर्न सहज भयो । त्यति मात्रै होइन, स्थानीय स्तरमा काम गर्दा प्रतिस्पर्धा पनि कम हुने र स्थानीयको माया पनि पाइरहेकाले सफलता मिलेको जस्तो लाग्छ ।

सिद्धार्थलाई ठुला सहर जस्तै काठमाडौं, सौराहा र भैरहवामा सेवा सुरु गरेपछि भने चेन होटेलका रूपमा आफ्नो अस्तित्व स्थापित गर्न सहज भयो । आफ्नो पहिचान र अस्तित्व कायम राख्न ठुला सहरमा उपस्थिति आवश्यक थियो भन्ने लाग्छ । सिद्धार्थले अधिकांश स्थानमा त्यहाँका होटेलसँग प्रतिस्पर्धा गर्नुुपरेको छैन । तर, केही थप मूल्य लिएर गुणस्तरीय सेवा–सुविधाको अनुभव गराएका छौँ । यही संस्कारमा हुर्किएकाले होला सबैजसो स्थानमा सफलता मिलेको छ ।

सिद्धार्थ हस्पिटालिटीअन्तर्गत हाल पाँचतारे स्तरमा सिद्धार्थ भिलासा सञ्चालनमा छ भने सिद्धार्थ वैभव चारतारे स्तरको होटेलका रूपमा छ । सिद्धार्थ वाटिका तीनतारे होटेलका रूपमा मात्र नभएर प्रिमियम ब्रान्डका रूपमा सञ्चालित छ । प्रिमियम ब्रान्डले तीनतारे र चारतारे स्तरका होटेलबीचको सेवा दिनेछ । कम्पनीले आगामी दिनमा बजेट होटेलका रूपमा एस होटेल सञ्चालनको तयारी गरिरहेको छ । तर, सेवा–सुविधाका हिसाबले अन्य होटेलको तुलनामा राम्रो र स्तरीय बनाउने योजना छ । यस ब्रान्डमा सिद्धार्थ कटेज र एस क्याफे पनि सञ्चालनमा छन् । कटेजमा परिवारसँग कुनै कार्यक्रम आयोजना गर्न, खान र रमाइलो गर्न सकिने सुविधा छ भने क्याफेमा सिद्धार्थले उत्पादन गरेका अरेबिका कफी, बेकरीका साथै फास्डफुड उपलब्ध छन् ।

सिद्धार्थ अन्य क्षेत्रमा पनि

सिद्धार्थले हस्पिटालिटीसँगै अन्य क्षेत्रमा पनि लगानी गरेको छ । हामी कृषि क्षेत्रमा काम गरिरहेका छौँ । आफैंले कफी खेती पनि गरिरहेका छौँ । सूचना प्रविधिसँग सम्बन्धित कम्पनी पनि सञ्चालन गरिरहेका छौँ । यसले पनि होटेल सञ्चालनमा सहयोग भइरहेको छ । कम्पनीअन्तर्गत सिद्धार्थ हस्पिटालिटी पनि सञ्चालनमा छ । जहाँ अध्ययन गरेका विद्यार्थीले सिद्धार्थमै काम पनि पाउँछन् । पछिल्लो समय सिद्धार्थ हस्पिटालिटी र लुम्बिनी बौद्ध विश्वविद्यालयबीचको सहकार्यमा ‘पढ्दै, सीप सिक्दै, कमाउँदै’ योजना अघि सारिएको छ । यसअन्तर्गत विद्यार्थीले चार वर्षको पढाइ अवधिमा भएको अधिकांश खर्च उठाउन सक्छन् । त्यति मात्रै होइन, पढाइ सकिएलगत्तै कम्तीमा सुपरभाइजर तहको जागिर सहजै पाउँछन् ।

त्यस्तै, सबै सामान एकै ठाउँमा उपलब्ध गराउने प्रयास स्वरूप सिद्धार्थ हस्पिटालिटी मार्ट पनि सञ्चालनमा छ । यसले स्थानीय उत्पादनलाई प्रवर्धन मात्र गरेको छैन होटेल सञ्चालनलाई थप सहज बनाएको छ । सिद्धार्थले भारतीय पर्यटकलाई नेपाली आकाशबाट चीनमा रहेको कैलाश पर्वतको दर्शनसमेत गराउँदै आएको छ । कोरोना महामारीअघि भारतीय पर्यटकहरू नेपालगन्ज हुँदै पदमार्गबाट कैलाश पर्वतको दर्शन गर्न जान्थे । तर कोरोनापछि भारतीय पर्यटक चीनमा जान नसक्ने अवस्था भयो । पर्यटक नआएपछि नेपालगन्जका होटेल समस्यामा पर्न थालिसकेका थिए । यस्तो अवस्थामा हामीले नेपाली आकाशबाट कैलाश मानसरोवर दर्शन गराउन थालेपछि नेपालगन्जमा भारतीय पर्यटक बढेका छन् ।

पहिले कैलाश जाने यात्रुका कारण जेठ, असारदेखि असोजसम्म नेपालगन्जमा भारतीय पर्यटकको चहलपहल हुने गरेकामा अहिले बाह्रैमहिना आउन थालेका छन् । यसले नेपालगन्जको अर्थतन्त्रमा पनि ठुलो राहत मिलेको छ । कैलाश पर्वत जान मात्रै पछिल्लो एक वर्षमा तीन हजारभन्दा बढी भारतीय पर्यटक नेपालगन्ज आएका छन् । त्यसका लागि भारतीय एक पर्यटकले ६० हजार रुपैयाँसम्म खर्च गर्ने गरेका छन् । यहाँबाट बर्दिया, पोखरा, काठमाडौं, मुक्तिनाथ, चितवनलगायत स्थानमा पनि ती पर्यटक जाने भएकाले नेपालको पर्यटन क्षेत्रमा महत्त्वपूर्ण भूमिका निभाएको छ भन्न सकिन्छ । त्यस्तै, सिद्धार्थले मुलुकको पर्यटन प्रवर्धनका लागि भारतबाट भ्लगरहरू ल्याएर प्रचारप्रसार गराइरहेको छ । त्यसबाहेक सिद्धार्थले सदगुरु, विभिन्न भारतीय सेलिब्रेटी तथा राजनीतिज्ञलाई ल्याएर समय–समयमा पर्यटन प्रवर्धन गरिरहेको छ ।

कर्मचारीलाई मालिक बनाउने अभियान

सिद्धार्थले कम्पनी सुरु गर्दा नै एकल मालिकबाट चल्ने कम्पनी होइन भन्ने अवधारणाबाट सुरु गरेको हो । धेरै मालिक भएर पनि धेरै स्थानमा कम्पनी सञ्चालन गर्न सकिन्छ भन्ने सिद्धार्थले प्रमाणित गरेको छ । सिद्धार्थको ५० प्रतिशत लगानी, स्थानीयको ३० प्रतिशत र कर्मचारीको १५ प्रतिशत लगानी गर्ने सोचबाट सिद्धार्थ अगाडि बढेको छ । सिद्धार्थले नेपालमै काम गर्छु, लगानी गर्छु भन्नेलाई एउटा अवसर दिएको छ । यसले सानो पुँजी लगानी गर्न चाहनेका लागि अवसर पनि सिर्जना गरेको छ ।

लगानी गरेपछि नीतिगत तहमा काम गरेर कम्पनी सञ्चालनको ढाँचा स्तरीय बनाउन सकिन्छ । हामीले सुरु गर्न लागेको एस होटेल र एस क्याफेमा यो अवधारणा पूर्णरूपमा लागु गर्ने तयारीमा छौं । एसमा कर्मचारीहरूको लगानी स्थापित भएपछि अन्य ब्रान्डमा पनि लागु हुँदै जानेछ ।

सिद्धार्थमा लगानी गर्न सुरुमा सम्पत्तिको स्रोत हेरिन्छ । त्यसपछि लगानी गर्नुको उद्देश्य र मनसाय । कम्पनीमा लगानी गर्न सहयोगी भावना चाहिन्छ । हामीकहाँ कर्मचारीका रूपमा लगानी गर्ने हो भने कर्मचारीले जागिर छाड््दा लगानी पनि फिर्ता लैजान पाउँछ र नयाँ आउने कर्मचारीले फेरि लगानी गर्न पाउँछ । अहिले पनि यहाँ कमाउँदै लगानी गर्नेहरूको संख्या ठुलो छ ।

चुनौती

नेपालमा पछिल्लो समय आन्तरिक र विदेशी दुवै पर्यटकको संख्या बढ्दो छ । पर्यटन प्रवर्धनमा उल्लेख्य काम पनि भइरहेका छन् । यस क्षेत्रमा ठुलो लगानी भएको छ । जसरी लगानी भइरहेको छ, त्यसरी नै राज्यले जिम्मेवारी पूरा नगरेको हो कि भन्ने लाग्छ । राज्यले सुरक्षाको प्रत्याभूति दिन सक्नुपर्छ । सडकलगायत पूर्वाधारको विकासमा राज्य चुकेको छ । सरकारले विमानस्थलमा ओर्लिएपछि गन्तव्यमा पुगेर विमानस्थलमा फर्कंदासम्मको भौतिक सुविधा उपलब्ध गराउने हो भने पर्यटन क्षेत्रले ठुलो फड्को मार्न सक्छ । त्यसैले राज्य गम्भीर भएर लाग्ने हो र संस्कृति तथा पर्यटनलाई प्रवर्धन गर्ने हो भने पर्यटन क्षेत्रमा धेरै काम गर्न सकिन्छ । त्यसका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्छ ।

नाफिजद्वारा प्रकाशित ‘अर्थचित्र’बाट साभार :

lcci
You might also like

Comments are closed.