कामना सेवा विकास बैंकका कर्मचारीलाई स्तन क्यान्सर आत्ममूल्यांकन तालिम

काठमाडौं ।  कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना कर्मचारीलाई स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्न स्तन क्यान्सर आत्ममूल्यांकन तालिम सम्पन्न गरेको छ । वरिष्ठ सर्जन डा. सुजिता हिराचनद्वारा तालिम प्रदान गरिएको थियो ।

तालिममा मुख्य रूपमा स्तन क्यान्सरको प्रारम्भिक मूल्यांकन, लक्षण पहिचान, आत्मपरीक्षणको महत्व र उपचार प्रक्रियामा केन्द्रित विषयहरू समेटिएको थियो । डा. हिराचनले क्यान्सरका प्रारम्भिक लक्षणहरू, जस्तै स्तनमा गाठा, स्तनमा साना–साना पोर्स, स्तनमा कोठी जस्ता देखिने बारेमा जानकारी दिँदै, समयमै परीक्षण र उपचार गरिएमा स्तन क्यान्सर सफलतापूर्वक निको हुन सक्ने कुरा स्पष्ट पारिन् ।

स्तन क्यान्सर केवल महिलामा मात्र नभई पुरुषहरूमा पनि देखिन सक्ने समेत उल्लेख गरिन् । यदि प्रारम्भिक चरणमै स्तन क्यान्सर पहिचान गरिएर उपचार सुरु गरिने हो भने यो रोग पूर्ण रूपमा निको पार्न सकिने सम्भावना धेरै रहने जानकारी गराइन् । तालिमको क्रममा बैंकका क्यान्सर विजेता कर्मचारीहरूले आफ्नो जीवनका अनुभवहरू सुनाउँदै सबैलाई हरेक ५–६ महिनामा स्तन क्यान्सरको नियमित परीक्षण गराउन समेत प्रेरित गरिन् ।

कामना सेवा विकास बैंकले स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू निरन्तर गर्ने जनाएको छ । यस्ता कार्यक्रमहरूले कर्मचारीहरूको मात्र होइन, सम्पूर्ण समाजमा क्यान्सर सम्बन्धी सचेतना फैलाउन र यसप्रति सकारात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बैंकले विश्वास लिएको छ ।

डा. हिराचन एक अनुभवी कन्सल्टेन्ट ब्रेस्ट अंकोसर्जन हुनुहुन्छ । डा.हिराचन त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, प्रिमेरा अस्पताल तथा नेपाल ब्रेस्ट क्यान्सर फाउन्डेसनसँग आबद्ध छिन् । ब्रेस्ट र थाइराइड अंकोसर्जरीमा १४ वर्षभन्दा बढीको विशेषज्ञ अनुभवका साथ ब्रेस्ट क्यान्सर बिरामीको जीवनदर सुधारमा महत्वपूर्ण प्रभाव पारेको छ ।

You might also like

Comments are closed.