नेपालको सेयर बजारमा सामाजिक सञ्जालको प्रभाव

कुलचन्द्र रिजाल

सामाजिक सञ्जालको अभूतपूर्व विकास र प्रयोगले संसारलाई एकै साथ जोडेर निकै नजिक र सामिप्यता स्थापित गरेको छ । यसले सम्पूर्ण दुनियाँलाई सञ्चारको माध्यमको परिभाषालाई आमूल परिवर्तन गर्दै हाम्रो जीवनशैलीलाई पनि व्यापक रुपमा प्रभावित पारिरहेको छ । सञ्चारको दुनियाँमा लागत कम गरी एक अर्काको दुरीलाई सामाजिक सञ्जालले निकै नजिक तुल्याइदिएको छ । सामाजिक सञ्जालले आधुनिक समाजको लागि एक क्रान्तिकारी परिवर्तनको संवाहकको रुपमा व्यापक भूमिका खेलेको छ । कुनै पनि क्षेत्रमा तुरुन्त च्भब ित्ष्mभ द्यबकष्अ मा सूचना तथा जानकारी प्राप्त गर्नको लागि सामाजिक सञ्जालको महत्व दिन प्रतिदिन बढ्दै गइरहेको अवस्था छ । सामाजिक सञ्जालको व्यापक प्रयोग र विस्तारले निकै प्रभावित पारेको क्षेत्र सेयर बजार पनि हो । यस लेखमा सामाजिक सञ्जालले सेयर बजारमा पारेको प्रभावबारे विस्तारमा चर्चा गरिएको छ ।

विश्वव्यापी रुपमा सामाजिक सञ्जालको प्रयोग निरन्तर रुपमा बढ्दै गइरहेको छ । हालसालैको एक अध्ययन अनुसार विश्वमा कुल जनसङख्याको करिब ६४ प्रतिशत कुनै न कुनै रुपमा सामाजिक सञ्जालको प्रयोग गरिरहेका छन् । नेपालमा पनि सामाजिक सञ्जालको प्रयोग र बिस्तार व्यापक रुपमा बढिरहेको छ । ग्लोबल डिजिटल रिपोर्ट २०२४ को अध्ययन अनुसार नेपालमा कुल जनसङख्याको करिब ४५ प्रतिशत भन्दा बढीले सामाजिक सञ्जालको प्रयोग गर्दछन् । नेपालको सन्दर्भमा पनि सेयर बजारमा सामाजिक सञ्जालको प्रभाव परेको देख्न सकिन्छ । विशेष गरी कोभिड–१९ को महामारी पश्चात् सेयर बजारमा आम लगानीकर्ताको उपस्थिति व्यापक रुपमा वृद्वि भए पश्चात् सेयर बजार सम्बन्धी सूचना तथा जानकारीको आदान प्रदान गर्न सामाजिक सञ्जालको व्यापक प्रयोग र विस्तार भएको छ । साथसाथै विभिन्न किसिमका सामाजिक सञ्जाल जस्तै फेसबुक, एक्स, युट्युव, भाइबर, इन्टाग्राम, क्लवहाउस, वाट्सएप जस्ता प्लेटफर्म मार्फत आजकाल सेयर बजारको बारेमा व्यापक छलफल, चर्चा परिचर्चा तथा सेयर सम्बन्धी सूचना जानकारी आदान प्रदानका साथसाथै सेयर बजारमा लगानीकर्ताले लगानी सम्बन्धी निर्णय लिन पनि सहज भएको विद्यमान अवस्था कायम रहेको छ, जसले सेयर बजारमा लगानीकर्ताहरूको उपस्थिति तथा प्रभावकारी लगानी बढाउन सहयोग पुगेको देखिन्छ ।

सेयर बजार र लगानी – हिजो र आज
करिब एक दशक अगाडिसम्म सेयर बजारमा लगानीको लागि लगानीकर्ताहरू सेयर बजार सम्बन्धी सूचना तथा जानकारीको लागि अधिक रुपमा पत्रपत्रिका अध्ययन गर्ने तथा घरपरिवार, नजिकका आफन्त साथीभाइ र सेयर बजार सम्बद्व जानकार व्यक्तिसँग छलफल गरी लगानीको निर्णयमा पुग्दथे । हाल सामाजिक सञ्जालको अधिक विकास तथा विस्तारले गर्दा धेरै लगानीकर्ताहरू सामाजिक सञ्जालको विभिन्न माध्यमहरू जस्तै फेसबुक, एक्स, युट्युव, भाइबर, इन्टाग्राम, क्लवहाउस, वाट्सएप जस्ता स्रोतहरूबाट सेयर बजार सम्बन्धी सूचना तथा जानकारी प्राप्त गर्ने र उक्त सूचना तथा जानकारीलाई आधार बनाएर सेयर बजारमा लगानीको निर्णयमा पुग्दछन् ।

हालसालै छिमेकी मुलुक भारतमा भएको एक अध्ययन अनुसार सेयर बजार सम्बन्धी सूचना तथा जानकारी र लगानीको निर्णय गर्न लगानीकर्ताहरू २१ प्रतिशत युट्युव, १६ प्रतिशत फेसबुक तथा १४ प्रतिशत एक्स जस्ता सामाजिक सञ्जालका माध्यम प्रयोग गरेको पाइन्छ । त्यस्तै साइप्रस सेक्युरिटी एण्ड एक्सचेञ्ज कमिसनको अध्ययन अनुसार करिब २२ प्रतिशत साना लगानीकर्ताहरू सामाजिक सञ्जालबाट प्रकाशित तथा प्रसारित सेयर बजार सम्बन्धी सामग्रीहरू हेरेर लगानीको निर्णयमा पुग्दछन् । यी आँकडाहरूले सामाजिक सञ्जालमा आवद्व लगानीकर्ताहरूले सेयर बजार सम्बन्धी सूचना तथा जानकारी प्राप्त गर्न र लगानीको निर्णय गर्न सामाजिक सञ्जालको व्यापक प्रयोग गर्ने गरेको देखिन्छ । पछिल्लो समयमा सामाजिक सञ्जालको अभूतपूर्व प्रयोग र विस्तारले नेपालको सेयर बजारमा पनि यसको प्रभाव पर्दै गएको छ ।

सामाजिक सञ्जालका विभिन्न माध्यमहरू फेसबुक, एक्स, युट्युव, भाइबर, इन्टाग्राम, क्लबहाउस, वाट्सएपद्वारा सेयर बजारको गतिविधिको बारेमा व्यापक बहस, छलफल तथा सूचनाको आदान प्रदानले नेपालमा आम लगानीकर्तालाई सेयर बजारप्रति तिब्ररुपमा आकर्षित गरेको छ । साथसाथै नेपालका सम्पूर्ण मूलधारका सञ्चार माध्यमले पनि सामाजिक सञ्जालका विभिन्न माध्यम प्रयोग गरी सेयर बजार सम्बन्धी सूचना तथा जानकारीहरू प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गरेका छन् । यसरी सामाजिक सञ्जालको माध्यमबाट प्रवाहित सूचना तथा जानकारीको समुचित प्रयोग गरी आमलगानीकर्ताहरूलाई सेयर बजारमा लगानीको निर्णयमा पुग्न सहयोग हुनुका साथै सेयर बजारमा सामाजिक सञ्जाल सूचना आदान प्रदान गर्ने सञ्चारको अभिन्न माध्यम बन्दै गइरहेको छ ।

फिनफ्लुएन्सर र लगानीकर्ता सचेतना (Finfluencer & Investor’s Awareness)

विश्वव्यापी रुपमा पछिल्लो समय अर्थतन्त्र, वित्त, सेयर बजार, लगानी सम्बन्धी सूचना तथा जानकारी आदान प्रदान, लगानी सम्बन्धी विश्लेषण, राय सुझाव दिनको लागि विभिन्न व्यक्तिहरूले सामाजिक सञ्जालको माध्यम प्रयोग गरिरहेका छन् । जसले सेयर बजारमा प्रभाव गरिरहेको छ । सेयर बजार सम्बन्धी सूचना जानकारी, बजारको उतारचढाव, भविष्यवाणी, लगानी सम्बन्धी राय सुझाव, व्यक्तिगत अनुभव, सेयर बजार जानकारहरूको अन्तर्वार्ता आदि विषयवस्तुमा आधारित सामग्रीहरू उत्पादन गरेर सामाजिक सञ्जालको माध्यमबाट प्रशारित गरी आमलगानीकर्ताहरूलाई प्रभाव पार्ने कार्यलाई फिनफ्लुएन्सरको रुपमा हेर्न सकिन्छ । नेपालमा पनि पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग गरी फिनफ्लुएन्सरले सेयर बजार सम्बन्धी सामग्रीहरू तयार गरी सूचना तथा जानकारी आदान प्रदान गर्दै आएका छन्, जसले लगानीकर्ताहरूलाई प्रत्यक्ष फाइदा पनि पुगेको छ । यसले गर्दा आमलगानीकर्ताहरूले सेयर बजार सम्बन्धी सूचना तथा जानकारी सुलभ र सहज तरिकाले प्राप्त गर्न सक्षम भएका छन् । साथसाथै नेपालका मूलधारका सञ्चार माध्यमले पनि सामाजिक सञ्जालको अत्यधिक प्रयोग गरी सेयर बजार सम्बन्धी सामग्रीहरू उत्पादन गरी आमलगानीकर्ताहरूलाई सुसूचित गर्न सहयोग गरेका छन् । पछिल्लो समय सामाजिक सञ्जालको व्यापक प्रयोग र विस्तारले हरेक क्षेत्रमा जस्तै नेपालको सेयर बजारमा पनि सकारात्मक तथा नकारात्मक प्रभाव पार्दै गइरहेको छ ।

सामाजिक सञ्जाल सेयर बजार सम्बन्धी सूचना जानकारी तथा विश्लेषण र सम्पेषण गर्ने एक सहज र सुलभ माध्यम बनेको छ । आमलगानीकर्ताहरूले यसको समुचित प्रयोगबाट सहज रुपमा सेयर बजार सम्बन्धित सूचना जानकारी, बजारको उतारचढाव, भविष्यवाणी, लगानी सूत्र, आधारभूत र प्राविधिक विश्लेषण जस्ता पक्षहरूको सूचना सहज, सुलभ र तुरुन्त प्राप्त गर्न सक्दछन् । सामाजिक सञ्जाल पारम्परिक सञ्चार माध्यमलाई विस्थापित गरी सहज, सुलभ र तुरुन्त सूचना आदान प्रदान गर्नै साधनको रुपमा विकसित हुन पुगेको छ । सामाजिक सञ्जालले आमलगानीकर्ताहरूलाई लगानी, सेयर बजार सम्बन्धी जनचेतना जगाउन पनि महत्वपूर्ण भूमिका खेलेको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगले साना लगानीकर्ताहरूको सेयर बजारसँग सम्बन्धित सूचना तथा जानकारीमा सहज पहुँच पुगेको देखिन्छ । साना लगानीकर्ताहरू पनि विभिन्न लगानी सम्बन्धी छलफल, ज्ञान/विचार आदान प्रदान गर्न सक्षम बन्दै गईरहेका छन् साथै उनीहरूको पनि आवाज सेयर बजारमा मुखरित हुन पाएको छ ।

एक सिक्काका दुई पाटा भए जस्तै सामाजिक सञ्जालको प्रयोग र विस्तारले सेयर बजारमा पनि विभिन्न विसङ्गति तथा विकृतिहरू पनि देखिन थालेको पाइन्छ । सामाजिक सञ्जालमा लगानी सम्बन्धी जुन शिक्षा, मन्त्र, मोडल तथा उपायहरू साझा गरिन्छ, त्यो सबै लगानीकर्ताको लागि काम नगर्न सक्दछ ।One Size Fits All भन्ने मोडलले काम गर्ने होइन कि आमलगानीकर्ताहरूले आफ्नो आवश्यकता, लगानी समय, लगानीको स्रोत आदिले प्रभावित गर्ने भएकोले त्यस सम्बन्धी जागरुक हुन आवश्यक छ । आमलगानीकर्ताहरूले लगानी गर्दा पुरै सामाजिक सञ्जालमा प्रचारित विचार, सूचना तथा जानकारीमा मात्र भर पर्दा लगानी डुब्न सक्ने हुन्छ । साथै यसले लगानीकर्ता स्वयम् मिहनेत, अध्ययन नगर्ने र सञ्जालमा प्रशारित विचारलाई फिल्टर नगर्ने बानीको विकास हुदै जाँदा लगानीमा समस्या आउन सक्दछ । सामाजिक सञ्जालमा केही फिनफ्लुएन्सरले आफ्नो व्यक्तिगत लाभ आर्जन गर्नको लागि कहिले काँही गलत सूचना तथा जानकारी प्रसारित गर्ने साथसाथै गलत लगानीको सल्लाह दिने गरेको पनि पाईनछ, त्यसले आमलगानीकर्ताहरूलाई गलत सूचनाको पासो  मा पार्न सक्दछन् ।

नियामक निकायको भूमिका
सामाजिक सञ्जालले सेयर बजारमा सकारात्मक प्रभाव पार्ने भएता पनि पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जालको उपयोग गरी नेप्से बजार परिसूचक यति बढ्ने, यति घट्ने, अमूक सूचीकृत संगठित संस्थाको सेयरको मूल्य बढ्ने वा घट्ने भन्दै निश्चित सेयरहरू खरिद गर्न वा बिक्री गर्न उत्साहित गराउने सूचना जानकारी तथा छलफलहरू प्रचार प्रसार भएको देख्न पाइन्छ । साथसाथै सामाजिक सञ्जालका विभिन्न माध्यमहरू जस्तै फेसबुक, एक्स, युट्युव, भाइबर, इन्टाग्राम, क्लबहाउस, वाट्सएपबाट सेयर बजारलाई प्रभावित पार्ने संवेदनशिल सूचना, अमूक सेयर किन्न वा बेच्न उक्काहट गराउने जस्ता गलत अभ्यास भएका छन् । पछिल्लो समयमा सामाजिक सञ्जाल युट्युव मार्फत बजार बढ्ने वा घट्ने, अमुक कम्पनीको सेयर मूल्य बढ्ने वा घट्ने, सेयर खरिद वा बिक्री गर्ने समय यही बेला नै हो जस्ता विषयमा आफूलाई सेयर बजार विज्ञ हु भनी बजारको बारेमा टिकाटिप्पणी गर्ने, अन्तर्वार्ता लिने वा दिने जस्ता क्रियाकलापहरू पनि निकै बढ्दै गएका छन् । यस्ता क्रियाकलापले धितोपत्र बजारको स्वच्छ, पारदर्शी र प्रभावकारी सञ्चालनको सिद्वान्तलाई खिल्ली मात्र उडाएको छैन, आमलगानीकर्ताहरू पनि त्यस्ता भ्रामक सूचना तथा जानकारीको पछि लागि लगानीको निर्णय गर्दा आफ्नो लगानीको ठुलो हिस्सा गुमाएको उदाहरण प्रशस्तै पाउँदछौं । त्यसैले आमलगानीकर्ताहरूले पनि धितोपत्र बजारमा लगानी गर्दा यस्ता हल्ला र निराधर अनुमानका पछाडि नलागी विश्व अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र तथा सूचीकृत संगठित संस्थाको वित्तीय स्थितिको विश्लेषण, संस्थागत सुशासनको अवस्था एवम् जोखिम वहन गर्न सक्ने क्षमता तथा लगानीको सुरक्षा आदि वृहत पक्षलाई दृष्टिगत गरी सुझबुझ पूर्वक लगानी गर्नुपर्ने देखिन्छ ।

धितोपत्रको बजारको स्वच्छ, पारदर्शी र प्रभावकारी सञ्चालन गरी आमलगानीकर्ताको हित संरक्षण र प्रबद्र्वन गर्न पँुजी बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले यस्ता गलत अभ्यास तथा विकृतिहरूलाई समयमा रोक्न प्रभावकारी कदम अविलम्व चाल्न आवश्यक छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरुसँग मिलि धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको र सो गरेमा धितोपत्र सम्बन्धी कसूर गरेको मानिने व्यवस्था गरेको छ । उक्त कानूनी व्यवस्थाले मात्र धितोपत्र बजारमा सामाजिक सञ्जालको नकारात्मक प्रभावलाई निरुत्साहित गर्न प्रयाप्त नहुने देखिएकाले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नको लागि सेयर बजारमा यसको सञ्चालन, प्रयोग र नियन्त्रणको लागि निर्देशिका निर्माण गरी लागू गर्न अत्यन्तै आवश्यक देखिन्छ ।

विश्वका अन्य मूलुकका धितोपत्र बजार नियमन निकायमा जस्तै नियमन निकायबाट अनुमति प्राप्त गरेका रजिष्टर्ड व्यक्ति वा संघसंस्थाले विस्तृत अध्ययन तथा अनुसन्धानको आधारमा मात्र दोस्रो बजार परिसूचक, सेयर बजार, सूचीकृत संगठित संस्थाको सेयर मूल्य, बजारको उतारचढावको दिशा, सेयर लगानी सम्बन्धी सल्लाह सुझाव जस्ता विषयवस्तुमा सामाजिक सञ्जालबाट सार्वजनिक अभिव्यक्ति दिन पाउने व्यवस्था गर्नु आवश्यक देखिन्छ । यसले गर्दा सामाजिक सञ्जालमा स्वघोषित सेयर बजार विज्ञ बनेर सेयर सम्बन्धी शिक्षा दिने क्रम पनि रोकिन्छ । हालै छिमेकी मूलुक भारतको धितोपत्र बजारको नियमन निकाय भारतीय प्रतिभूति और विनियम बोर्ड (सेबी) ले पनि सामाजिक सञ्जाल मार्फत सेयर बजारमा भ्रामक सूचना प्रसारण गर्ने तथा गलत लगानी सम्बन्धी राय सल्लाहलाई निरुत्साहित गर्नको लागि एक निर्देशिका जारी गरेको थियो । उक्त निर्देशिका अनुसार सेबीमा रजिष्टर्ड हुनुपर्ने र रजिष्टर्ड व्यक्ति वा संघसंस्थाले सेबीद्वारा जारी भएका निर्देशिकाको अक्षरस पालना गरेर मात्र सामाजिक सञ्जालमा सेयर बजार सम्बन्धी सूचना जानकारी तथा लगानी सल्लाह दिन पाइने उल्लेख गरेको थियो ।

नेपालमा सामाजिक सञ्जालको बढ्दो प्रयोग र विस्तारले सेयर बजारमा सकारात्मक प्रभावका साथै नकारात्मक प्रभाव सिर्जना गरी धितोपत्र बजारको स्वच्छ, पारदर्शी र प्रभावकारी सञ्चालनको सामान्य सिद्वान्तमा अवरोध खडा गर्नुका साथै आमलगानीकर्ताहरूलाई गलत सूचना प्रवाह गरी अन्योलताको वातावरण निर्माण गरिरहेको अवस्था विद्यमान छ । त्यसैले नेपालको धितोपत्र बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले यस्ता विसंगति र विकृत क्रियाकलापलाई यथाशक्य निरुत्साहित गर्नको लागि सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी निर्देशिका निर्माण र लागू गरी सेयर बजारमा सामाजिक सञ्जाललाई व्यवस्थित बनाउन आवश्यक छ ।

साथसाथै आमलगानीकर्ताहरूले पनि सामाजिक सञ्जालमार्फत प्रशारित भएका गलत सूचनाको बाढीलाई फिल्टर गरी राम्ररी अध्ययन अनुसन्धान पश्चात् मात्र आफ्नो लगानीको निर्णय स्वतन्त्रपूर्वक लिन अत्यन्तै आवश्यक छ । यस सम्बन्धमा अहिलेका प्रसिद्व लेखक युवाल नोह हरारीले एक अन्तर्वार्ताको क्रममा हरेक व्यक्तिले खानामा फुड डाइटिङ  गरे जस्तै सूचनाको बाढीमा सबैले इन्फरमेशन डाइटिङ  गर्नुपर्ने सुझाव दिएका छन् । जसको ताप्पर्य आमलगानीकर्ताहरूले सामाजिक सञ्जालबाट सेयर बजार सम्बन्धी सूचनाहरू लिन त सक्दछन् तर निर्णय आफै गर्नुपर्दछ अर्थात इन्फरमेशन डाइटिङ  Information Dieting  गर्नुपर्दछ अन्यथा इन्फरमेशन पोइजनिङ (Information Poisoning) हुन सक्दछ ।

(लेखक रिजाल नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का.मु. सहायक प्रबन्धक हुन् ।)

 

You might also like

Comments are closed.