नेपाल जलविद्युतमा सन् २०२६ सम्म आत्मनिर्भर बन्ने कुलमान घिसिङकाे दाबी

काठमाडौं । नेपालमा पछिल्लो समय जलविद्युत् उत्पादन क्षमता बढ्दै गएकाले सन् २०२६ सम्म नेपाल जलविद्युतमा आत्मनिर्भर बन्ने विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दाबी गरेका छन् ।

मंगलबार काठमाडौंमा भएको नेपालमा जलविद्युत् क्षेत्रमा वित्तीय लगानी विषयक कार्यक्रममा बोल्दै निर्देशक घिसिङले सो कुरा बताएका हुन् । उनले जलविद्युतमा आत्मनिर्भर भएर पनि त्यो समयमा २५ सय मेगावट बिजुली बढी हुने उल्लेख समेत गरे ।

घिसिङले सन् २०३५ सम्ममा नेपालमा ८ हजार मेगावट बिजुली उत्पादन क्षमता पुग्ने अनुमान प्राधिकरणको रहेको बताए । उनले सन् २०४२ र४३ सम्ममा २० हजार मेगावट बिजुली उत्पादन क्षमता पुग्ने अनुमान रहेको पनि बताए ।

उनले भने, ‘उर्जामा निजी क्षेत्रले लगानी गरिरहेको छ । ११ हजार मेगावट जलविद्युत् उत्पादनका लागि पीपीएका लागि पाइपलाइनमा रहेका छन् । झन्डै ७ हजार मेगावटको पीपीए भइसकेको छ । यसमा ८ सय मेगावट बिजुली उत्पादन भएर आइसकेको छ । अहिले २५ सय ४४ मेगावट उत्पादन क्षमता भएको छ । प्रत्येक वर्ष ८ सय मेगावट बिजुली उत्पादन बढ्दै गएको छ । सन् २०३५ सम्म ८ हजार मेगावटको माग पुग्ने देखिन्छ । यसरी हेर्दा सन् २०४२र४३ सम्ममा २० हजारसम्म आउँछ भन्ने अनुमान हो । सन् २०२६ सम्म नेपाल सुक्खायाममा पनि जलविद्युतमा आत्मनिर्भर हुन्छ ।’

त्यस्तै, सरकारले जलविद्युतमा लगानी र बजेट विनियोजन गर्न सम्भव नभएको कार्यकारी निर्देशक घिसिङले बताए ।  निर्देशक घिसिङले जलविद्युत् उत्पादनका लागि १ दशमलव २ मिलियन डलर लगानी प्रतिबद्धता भइसकेको बताए ।

उनले एजीम बैंकबाट ७ सय मिलियन, जाइकाले १ सय ४० मिलियन, विश्व बैंक र एडीबीबाट २ मिलियन लगानी प्रतिबद्धता आएको उल्लेख गरे ।

You might also like

Comments are closed.