‘ग्लोबल मनी वीक’ अन्तर्गत कुमुदिनीमा पूँजी बजारबारे अभिमुखीकरण

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ मा रहेको प्रतिष्ठत विद्यालय कुमुदिनी होम्समा विद्यार्थीका लागि पूँजी बजारबारे अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

Global Money Week को अवसरमा पोखरामा पूँजी बजारसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको हो। कार्यक्रममा नेपालमा पूँजी बजारमा लगानी कसरी गर्ने भन्ने विषयमा जानकारी दिइएको थियो। कार्यक्रममा प्रस्तोता विक्रम चित्रकारले “Investors’ Guide to Capital Market in Nepal”  विषयमा प्रस्तुति दिएका थिए।

प्रस्तुतिमा नेपालमा सेयर बजारमा लगानी गर्न आवश्यक पर्ने आधारभूत प्रक्रियाबारे जानकारी दिइएको थियो। लगानीकर्ताले दोस्रो बजारमा कारोबार गर्नका लागि बैंक खाता, डिम्याट खाता र ट्रेडिङ (ब्रोकर) खाता आवश्यक हुने बताइएको थियो। साथै बैंक खातालाई आईपीएस वा इन्टरनेट बैंकिङसँग जोडेर अनलाइन कारोबार गर्न सकिने जानकारी पनि दिइयो।

कार्यक्रममा सेयर कारोबारका लागि अपनाउनुपर्ने चरणहरूबारे पनि स्पष्ट पारिएको थियो। सहभागीहरूलाई बैंक खाता, डिम्याट खाता, ब्रोकर खाता र टीएमएस खाता खोल्ने प्रक्रिया बारे जानकारी दिँदै दोस्रो बजारमा सेयर किनबेच कसरी गर्ने भन्ने विषयमा व्यावहारिक जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा विभिन्न क्यापिटल कम्पनी तथा वित्तीय संस्थाहरूको सहकार्य रहेको छ। आयोजकका अनुसार यस्तो कार्यक्रमले विशेषगरी युवा तथा नयाँ लगानीकर्तालाई वित्तीय साक्षरता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विद्यालयका सँस्थापक अध्यक्ष अशोक पालिखेले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा वित्तीय सचेतना बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले आजको समयमा केवल औपचारिक शिक्षा मात्र पर्याप्त नभई आर्थिक साक्षरता पनि उत्तिकै आवश्यक रहेको उल्लेख गरे। “विद्यार्थीहरूले सानैदेखि बचत, लगानी र पूँजी बजारका आधारभूत विषय बुझ्न सके भविष्यमा सही आर्थिक निर्णय गर्न सक्षम हुन्छन्,” उनले भने।

अध्यक्ष पालिखेले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई सेयर बजार, लगानीको प्रक्रिया र वित्तीय अनुशासन बारे प्रारम्भिक ज्ञान दिने बताउँदै भविष्यमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको जानकारी दिए।

You might also like

Comments are closed.