पोखरा । भ्रमणका लागि पोखरा नेपालको उत्कृष्ट गन्तव्य हो । शैक्षिक भ्रमणका लागि पोखरा अझै आकर्षक गन्तव्य बन्ने गरेको छ । पोखराको सुन्दरता सबैलाई मन पर्छ । शैक्षिक भ्रमणका लागि पोखरा आइसकेपछि यहाँको सुन्दरतालाई नजिकबाट अनुभव गरेसँगै कुमुदिनी होम्स माध्यमिक विद्यालय नपुगि फर्कन धेरैलाई मन लाग्दैन । त्यसैले शैक्षिक भ्रमणको सिजनमा यो विद्यालयमा अवलोकनका लागि आउनेहरुको भिड लाग्छ । विद्यालयको भौतिक संरचना, यहाँभित्र भएको सुन्दरता, भवन, आर्ट ग्यालरी लगायतका संरचनाले शैक्षिक भ्रमणमा आउनेहरुलाई आकर्षित गर्ने गरेको छ ।
पोखराको मध्यभाग गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालय २०४४ सालमा स्थापना भएको हो । कुमुदिनीमा नर्सरीदेखि कक्षा १२ सम्म पठनपाठन हुँदै आइरहेको छ । विद्यालयमा ११ र १२ मा साइन्स, म्यानेजमेन्ट र यस वर्षबाट होटल म्यानेजमेन्टको पढाइ सञ्चालन भइरहेको छ । अहिले यस विद्यालयमा १ हजार ३ सय विद्यार्थी अध्ययनरत छन् । ‘दक्ष तथा अनुभवी शिक्षकहरुबाट साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको पढाइ भइरहेको छ,’ पालिखेले भने ।
करिब १४ रोपनी क्षेत्रफलमा फैलिएको यस विद्यालय पोखराको मुख्य बजार गैह्रापाटनमा अवस्थित भएकाले पनि धेरैको पायक पर्छ । विद्यालय परिसरभित्र प्रवेश गर्नासाथ सुन्दर, शान्त तथा हरियाली वातावरणको अनुभव गर्न सकिन्छ । जहाँ करिब ३ सय वर्ष पुराना ऐतिहासिक तथा कलात्मक झ्यालहरुले सजाइएको अत्याधुनिक भवनले थप सुन्दरता प्रदान गरिरहेको छ । भक्तपुरबाट ल्याइएको नेपाली इटाहरुको प्रयोग भवनमा गरिएको छ ।
विद्यालय कम्पाउण्ड भित्र नेपालका प्रशिद्ध कलाकारहरुको चित्रकला संग्रहालय छ । ‘नेपाल सरकारले नै नबनाएको आर्ट म्युजियम हामीले बनाएका छौं,’ पालिखे भन्छन् । जहाँ १ सय ७० जनाभन्दा बढि वरिष्ठ चित्रकारहरुको करिब ३ सय वटा चित्रहरु संग्रहित रहेको अध्यक्ष अशोक पालिखेले जानकारी दिए । जुन संग्रहालयको अवलोकनका लागि देशभरका विद्यार्थीहरु, शिक्षकहरुसहित देशविदेशका कलाप्रेमीहरुको उपस्थिति समय समयमा हुने गर्छ ।
विद्यालयको कम्पाउन्ड भित्रको बगैंचामा ३५ प्रकारका जडिबुटीका बिरुवाहरु रोपिएका छन् । ‘विद्यार्थीलाई जडिबुटीका बारेमा ज्ञान होस् भनेर बगैंचामा बिरुवा रोपिएको हो,’ पालिखेले भने । विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप अन्तर्गत संगीत, नृत्य, खेलकुल, चित्रकलामा विद्यालयले अभिप्रेरित गर्दै आएको उनले बताए ।
समय सापेक्ष पठनपाठनका लागि पोखराकोे कुमुदिनी होम्स मावि प्रशिद्ध छ । ‘अतिरिक्त क्रियाकलापमा हाम्रो स्कुल सधैं अब्बल रहँदै आइरहेको छ,’ पालिखेले भने, ‘विद्यालयमा सुन्दर, शान्त वातावरणमा पढाइ हुने हुँदा धेरै विद्यार्थीको रोजाईको गन्तव्य बनिरहेको छ ।’
गण्डकी प्रदेशमा नै सबैभन्दा राम्रो फिजिक्स, केमेस्ट्री र बायोलजीको ल्याब रहेको पालिखेले बताए । कम्प्युटर ल्याब, लाइब्रेरी, इङलिस रिसोर्स सेन्टरको समेत सुविधा उपलब्ध छ । ‘डिजिटल सिस्टमबाट अभिभावकहरुलाई विद्यालयको सूचना सम्प्रेषण गरिन्छ,’ उनले भने । हेम्जादेखि तालचोकसम्म, बाटुलेचौर, लामाचौरदेखि छोरेपाटनसम्मका विद्यार्थीहरुलाई बस सेवा उपलब्ध छ ।
रिजल्टमा पनि कुमुदिनी होम्स उत्कृष्ट रहेको बताउँछन् पालिखे । यहाँबाट पासआउट भएका विद्यार्थीले भविष्यमा राम्रो अवसर पाउने गरेको उनले जानकारी दिए । गत वर्ष कक्षा १२ का पहिलो व्याचका साइन्सका विद्यार्थी १८ जनामा ३ जना पोखरा युनिभर्सिटीमा फुल स्कलरसिपमा र एक जना अमेरिकाको युनिभर्सिटीमा फुल स्कलरसिपमा पढिरहेको पालिखेले बताए ।
कर्मचारी र शिक्षकहरु गरी १ सय २५ जनालाई विद्यालयबाट प्रत्यक्ष रोजगारी प्रदान भइरहेको छ । आगामी दिनमा पनि विद्यार्थीलाई थप समय सापेक्षा वैज्ञानिक शिक्षा दिदै अगाडि बढ्ने योजना रहेको पाखिले बताउँछन् ।
Comments are closed.