पोखरा । दोस्रो ‘कुमुदिनी होम्स एसईई कप’ २०८३ आजदेखि सुरु भएको छ ।
एसईई दिएर बसेका विद्यार्थीहरुलाई खेलकुद सहभागि गराउन र बढावा दिन तथा भाईचाराको विकास गराउन प्रतियोगिता आयो जना गरिएको विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले जानकारी दिए । विद्यालयले पढाईका साथमा अतिरिक्त क्रियाकलापमा पनि जोड दिदै आएको छ ।
पालिखेले भने, ‘सम्पदा, कला, संस्कार, संस्कृति, पर्यावरण, पर्यटन र नेपाली मौलिक कुराहरुमा विद्यार्थीलाई उत्प्रेरित गर्दै आएका छौं ।’
शिक्षा विकास तथा समन्वय इकाई पोखराका प्रमुख लोकनाथ आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष पालिखेले बास्केटबल छात्रतर्फ ३२ टोली, छात्रातर्फ १३ टोली र फुटसलमा ६० वटा टोलीको सहभागिता रहेको जानकारी दिए। उनका अनुसार बास्केटबल कुमुदिनी होम्सकै कोर्टमा खेलाईएको छ भने फुटसल गणेश टोलमा रहेको फुटसल मैदानमा आयोजना गरिएको छ ।
प्रतियोगितामा प्रथम हुने हरेक टोलीका सदस्यहरुलाई कक्षा ११ र १२ मा अध्ययनका लागि पूर्ण छात्रबृत्तिको व्यवस्था गरिएको पालिखेले बताए । उनका अनुसार छात्र बास्केटबल र फुटसलतर्फ प्रथम हुनेले नगद २०, दोस्रोहुनेले १० हजार र तेश्रो हुनेले ७ हजार, मेडल र प्रमाणपत्र पाउनेछन् । छात्रातर्फ प्रथम हुनेले नगद १५ हजार, दोश्रो हुनेले १० हजार र तेश्रो हुनेले ५ हजार, मेडल र प्रमाणपत्र पाउनेछन् ।
उद्घाटन सत्रलाई संवोधन गर्दै प्रमुख अतिथि आचार्यले खेल विकास, स्वास्थ्य, अनुशासन र व्यक्तित्व विकासका लागि महत्वपूर्ण भएको बताए । विद्यार्थीको प्रतिभालाई बाहिर ल्याउनका लागि विद्यालयले सघाउ पुर्याएकोमा खुसि व्यक्त गरे ।
खेलमा विद्यार्थीको सिप, कौशल र अनुशासनको प्रदर्शन हुने भएकोले जिवनको बलियो आधारशिला भएको बताए । उनले भने, ‘आजका खेलाडी भोलि राष्ट्रका लागि खेल्ने अग्रस्थानमा पुग्ने आशाका किरण हुन् ।’
पोखरा महानगर शिक्षा महाशाखाका अधिकृत जीवन आचार्यले नेपालको खेलकुदको आधार क्षेत्र विद्यालय भएको बताए । विद्यालयस्तरबाटै खेलमा दिएको योगदानले भोलिको राष्ट्रका खेलाडीको रुपमा दर्ज हुने बताए ।
खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबि आस्थाले खेलकुदको विकासको लागि विद्यालयले महत्वपूर्ण योगदान दिईरहेकोमा खुसि व्यक्त गरे । उनले मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको स्पोर्टस् अवार्डमा कुमुदिनी होम्सको सहयोग हुँदै आएको र आगामी वर्षहरुमा पनि सहकार्य र सहयोग रहिरहने अपेक्षा व्यक्त गरे ।
उद्घाटन सत्रको कार्यक्रम शिक्षक सुरेन्द्र सदिक्षाले संचालन गरेका थिए ।






Comments are closed.