पोखरा । पोखराको गैरपाटनस्थित यस क्षेत्रको परिचित विद्यालय कुमुदिनी होम्स माध्यामिक विद्यालयमा कक्षा ११ का विद्यार्थीहरूलाई कक्षा १२ विद्यार्थीले स्वागत गरेका छन् । यसपटकको कार्यक्रम उनीहरुले गायीका प्रीति आलेको विशेष साँगीतिक प्रस्तुतिसँगै सम्पन्न गरेका छन् ।
प्रमुख अतिथि विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले नवआगन्तुक विद्यार्थीलाई स्वागत गरे। उनले कुमुदिनी होम्सले विगत लामो समयदेखि गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजा पस्कँदै आएको स्मरण गराउँदै नयाँ शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीले पनि सोही गौरवमय इतिहासलाई कायम राख्ने विश्वास व्यक्त गरे।
‘माध्यमिक तहको यो दुई वर्ष (कक्षा ११ र १२) तपाईँहरूको भविष्य निर्माणको जग हो,’अध्यक्ष पालिखेले भने, ‘केवल किताबी ज्ञानमा मात्र सीमित नभई अनुशासन, कडा मिहिनेत र नैतिक मूल्य(मान्यतालाई आत्मसात् गरेर अगाडि बढेमा मात्रै जीवनमा सफलता हासिल गर्न सकिन्छ।’
उनले विद्यालयले विद्यार्थीहरूको चौतर्फी विकासका लागि सधैँ उपयुक्त वातावरण, प्रविधिमैत्री शिक्षा र अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको र आगामी दिनमा पनि यसलाई अझ परिष्कृत गर्दै लैजाने प्रतिबद्धता जनाए। विद्यार्थीलाई आफ्ना गुरुवर्गको आदर गर्न र समयको सही सदुपयोग गर्दै आफ्नो लक्ष्यप्रति केन्द्रित हुन उनले विशेष आग्रह गरे।
सहायक प्राचार्य मुकेश कुमार अधिकारीले लगनशिलता र मेहनतले लक्ष्यमा पुग्न सकिने भएकोले कक्षाकोठामा नियमित हाजिर हुन अनुरोध गरे । यो समय र उमेर अध्ययन गर्ने समय र उमेर भएकोले उज्ज्वल भविष्य निर्माणका लागि अनुशासन र मेहनत अपरिहार्य भएको बताए । उनले असुविधा वा समस्या परेको खण्डमा तत्काल सरसल्लाह गर्न अनुरोध गरे ।
सो अवसरमा विजनेश तथा म्याथ तर्फ शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल शिक्षक विशाल विक्रम कुँवर र केमेष्ट्रिकी अञ्जु कार्कीलाई अध्यक्ष पालिखेले सम्मान पत्रले सम्मान गरे ।
कार्यक्रममा गायीका प्रीति आले विशेष आकर्षको रुपमा रहेकी थिईन् । उनले आफ्नो चर्चित गीतहरुले सहभागिहरुलाई भरपुर मनोरञ्जन दिएकी थिईन्। उने झोरा गीत, बामरी, दाईलाई चिनिन मैले लगायतका गीतहरु गाएकी थिईन् ।
कक्षा १२ का विद्यार्थीले नयाँ साथीहरूको स्वागतमा विभिन्न गीत, नृत्य र प्रहसनहरू प्रस्तुत गरेका थिए भने नयाँ विद्यार्थीका तर्फबाट पनि विद्यालयमा प्रवेश गर्दाको उत्साह र आगामी शैक्षिक यात्राप्रतिको प्रतिबद्धता जनाइएको थियो।
यसअघि कार्यक्रममा सहभागिलाई कक्षा १२ की विद्यार्थी दीपिसा बिकेले स्वागत् गरेकी थिईन् । कार्यक्रम कक्षा १२ की विद्यार्थी कृति देवकोटाको अध्यक्षतामा भएको थियो । निकै उल्लासमय र सौहार्दपूर्ण वातावरणमा भएको कार्यक्रम सुवासी शर्मा र जन श्रेष्ठले सन्चालन गरेका थिए ।







Comments are closed.