कुमुदिनीले मनायो ३७औं स्थापना दिवस

पोखरामै अन्तर्राष्ट्रियस्तरको शिक्षा दिन सफल छौंः अध्यक्ष अशोक पालिखे

पोखरा । पोखराको गैह्रापाटनमा रहेको कुमुदिनी होम्स उच्च माविले मंसिर ३० गते शनिबार ३७औं स्थापना दिवस मनाएको छ । पोखराको अग्रणी विद्यालयको पहिचान बनाएको कुमुदिनीले स्थापना दिवससँगै वार्षिक पुरस्कार बितरण तथा अभिभावक दिवस पनि मनाएको हो ।

विद्यालयका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा तथा पोखरा महानगरका मेयर धनराज आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

विद्यालय २०४४ साल पुस २ गते स्थापना भएको थियो । ‘विभिन्न उतारचढावका बीच हामी आजको स्थानमा आइपुगेका छौं । वार्षिकोत्सवमा हामीले हाम्रा सम्पूर्ण शुभचिन्तक, शुभेच्छुक, अभिभावक एवं सबैलाई सम्झेका छौं,’ अध्यक्ष पालिखे भन्छन् ।

नर्सरीदेखि १२ सम्म उत्कृष्ट हुने विद्यार्थीलाई विद्यालयले पुरस्कृत गरेको छ । विद्यालयमा विभिन्न उत्कृष्ट गतिविधि गर्ने विद्यार्थीलाई पनि विद्यालयले पुरस्कृत गरेको छ ।

विद्यालयले औपचारिक शिक्षा मात्र नभई अन्य अतिरिक्त क्रियाकलाप पनि जोड दिएको अध्यक्ष पालिखेले बताए । ‘विभिन्न प्रतियोगितामा विद्यार्थीले कला तथा प्रतिभा प्रर्दशन गरि उत्कृष्ट बन्न सफल हुनुभएको छ । जसमा विद्यार्थीले नगद पुस्कारसहति विभिन्न पुरस्कार प्राप्त गर्नुभएको छ,’ उनले भने ।

करिव ८ रोपनी जग्गामा विद्यालय फैलिएको छ । ‘हामीले विद्यालय भवन मात्र बनाएका छैनौं त्यसमा संस्कृति पनि झल्काएका छौं । करिव २ सय वर्ष पुराना संस्कृति झल्कने खालका झ्याल ढोका राखेका छौं । यसलाई सम्पदाको रुपमा विकास गर्ने हाम्रो उद्देश्य छ,’ अध्यक्ष पालिखेले भने । विद्यालयमा जेके आर्ट म्युजियम पनि छ । उनले भने, ‘चित्रकलाको संकलन र संरक्षण गरेका छौं । चतुररत्न नेपाली, नेपालकै पहिलो विएफए गरेका कलाकारदेखि अहिलेका नाम चलेका कलाकारको पेन्टिङ राखेका छौं । करिव ३ सय भन्दा धेरै पेन्टिङ छन् । विद्यालयलाई घर कै रुपमा हामीले विकास गरेका छौं । पर्यावरण जोगाउनुपर्छ भन्ने सन्देश दिनका लागि विद्यालय परिसरमा विरुवा पनि रोपेका छौं । हरेक विरुवामा त्यस वायोलोजिकल र साइन्टिफिक नाम लेखेका छौं ।’

पठनपाठनलाई आधुनिक र समय सापेक्ष बनाउन आफूहरु सफल रहेको अध्यक्ष पालिखेले बताए । ‘पोखरामा रहेर हामीले विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्न सफल छौं,’ उनले भने ।

lcci
You might also like

Comments are closed.