नाइमा मोबिलिटी एक्सपोमा लक्ष्मी ग्रुपद्वारा ईभी ‘क्यारी’ सार्वजनिक गरिने

काठमाडौं । लक्ष्मी ग्रुप अन्तर्गतको एलएक्सजी मोटर्स प्रालिले चिनियाँ प्रख्यात व्यावसायिक विद्युतीय सवारी ब्रान्ड ‘क्यारी’ (Karry) लाई नेपाली बजारमा भित्र्याउने औपचारिक घोषणा गरेको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) द्वारा आयोजना हुने नाइमा मोबिलिटी एक्सपो २०२५ मा ब्रान्डका दुई नयाँ इलेक्ट्रिक भ्यान सार्वजनिक गरिने भएको हो।

लक्ष्मी ग्रुप, जुन पहिले नै हुन्डाई, बीएमडब्ल्यू तथा एसएमएल इसुजु जस्ता विश्वविख्यात ब्रान्डका अधिकृत वितरकका रूपमा परिचित छ, अब विद्युतीय सवारीको क्षेत्रमा नयाँ अध्याय सुरु गर्दैछ। ‘क्यारी’ ब्रान्ड विश्वकै अग्रणी कम्पनी चेरी कमर्सियल भेहिकल्स अन्तर्गत पर्दछ, जुन विश्वसनीयता, सुरक्षा, र प्रदर्शनका दृष्टिकोणले ख्यातिप्राप्त छ।

कम्पनीले ‘क्यारी’ अन्तर्गत केभान १केभान २ नामका दुई भेरियन्टका इलेक्ट्रिक भ्यान ल्याउने तयारी गरेको छ। तीमध्ये, व्यावसायिक प्रयोजनका लागि खैरो रङमा ‘कमर्सियल भेरियन्ट’ र स्कुल तथा कलेज प्रयोजनका लागि पहेँलो रङमा ‘स्कुल भेरियन्ट’ उपलब्ध हुने जानकारी दिइएको छ।

यी विद्युतीय भ्यानहरूमा ५३ किलोवाट आवर क्षमताको सीएटीएल (CATL) ब्याट्री प्रयोग गरिएको छ, जसले एक पटकको पूरै चार्जमा ३०० किलोमिटर रेन्ज दिन सक्ने कम्पनीको दाबी छ। सवारी साधनको औपचारिक लञ्च तथा विस्तृत विवरण साउन २१ गतेदेखि सुरु हुने नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक गरिने बताइएको छ।

एलएक्सजी मोटर्सले नेपाली बजारमा वातावरणमैत्री, भरपर्दो र उच्चस्तरीय विद्युतीय सवारी भित्र्याएर दिगो यातायात प्रणाली निर्माणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ।

You might also like

Comments are closed.