घर जग्गालाई व्यवस्थित र पारदर्शी बनाउन ‘ल्याण्ड मार्केट’

पोखरा । घरजग्गा व्यवसायलाई व्यवस्थित गर्नुपर्ने माग निजी क्षेत्रले गर्दै आइरहेको छ । विशेष गरी घर जग्गा व्यवसायलाई व्यवस्थित र आधुनिकीकरण गर्ने अभियानमा नेपाल जग्गा तथा आवास विकास महासंघ सक्रिय बनिरहेको छ । महासंघले देशभरका व्यवसायीलाई एउटै छातामुनी गोलबन्द गर्दै सरकारलाई समेत ध्यानाकर्षण गराउँदै आएको छ ।

आर्थिक क्षेत्र चलायमान बनाउन घर जग्गा कारोबार फस्टाउनुपर्ने महासंघको भनाइ छ । महासंघका अध्यक्ष भेषराज लोहनी घरजग्गालाई आधुनिक तथा व्यावसायिक बनाउँदै व्यवस्थित गर्ने अभियानमा आफूहरु सक्रिय रहेको बताउँछन् । घर जग्गा कारोबारलाई व्यवस्थित गर्न स्टक मार्केटको जस्तै अवधारणामा ‘ल्याण्ड मार्केट’को व्यवस्था हुनुपर्ने उनले बताए । ‘यसका लागि राज्यसँग हामीले पहल पनि गरिरहेका छौं,’ उनले भने, ‘ल्याण्ड मार्केटको अवधारणा विकास हुँदा कारोबार पारदर्शी र व्यवस्थित पनि हुन्छ ।’ कारोबार व्यवस्थित र पारदर्शी नहुँदा राज्यले धेरै राजश्वसमेत गुमाइरहेको व्यवसायीहरुको भनाइ छ ।

ल्याण्ड मार्केटको अवधारणा घरमै बसीबसी सेयर खरिद गरेजस्तै घर जग्गा खरिद गर्न सकिने डिजिटल प्लेटर्फमको अवधारणा हो । आफूलाई आवश्यक पर्ने घर जग्गा आफ्नो बजेट अनुसार खरिद गर्न सकिन्छ । जसले गर्दा करोबार शतप्रतिशत पारदर्शी हुनेछ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ल्याण्ड मार्केटको अवधारणा अगाडि बढाएपनि कार्यान्वयन हुन सकेको छैन ।

त्यस्तै ल्याण्ड पोलिङ गरेर ठूला ठूला टाउन सिटहरु बनाउनुपर्ने, ठूला आयोजनाहरु ल्याण्ड पोलिङमार्फत गर्नुपर्ने, व्यवस्थित शहर बनाउने अभियानमा सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने, हदबन्दी हटाउनुपर्ने, विदेशीहरुले अपार्टमेन्ट खरिद गर्न पाउनुपर्ने लगायत माग महासंघले गर्दै आइरहेको अध्यक्ष लोहनीले जानकारी दिए । घरजग्गा व्यवसायलाई व्यवस्थित गर्नका लागि अनुमति प्राप्त कम्पनीहरुबाट मात्रै कारोबार गर्ने व्यवस्था गर्नुपर्ने पनि निजी क्षेत्रले माग गर्दै आइरहेको छ ।

वैज्ञानिक एवं व्यवस्थित शहरी एवं बस्ती विकासको माध्यमद्वारा नेपाललाई सुन्दर मुलुकको रुपमा परिचित गराउन सकिने महासंघका महासचिव विष्णुप्रसाद घिमिरे (ध्रुव) बताउँछन् । संघ तथा प्रदेशस्तरमा संचालन हुने ठूलाठूला रियल इस्टेट परियोजनाहरु (ल्याण्ड पुलिङ, हाउस पुलिङ, स्मार्ट सिटी, स्याटलाईट सिटी आदि) मा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्नुपर्ने उनले बताए । ‘रियल इस्टेट उद्योग प्रतिकूलका विद्यमान अव्यवहारिक तथा झन्झटिला कानूनी प्रावधानलाई संशोधन तथा परिमार्जन गर्नका लागि सरोकारवाला निकायहरुसँग समन्वय गर्ने तथा सोका लागि सम्बन्धित निकायहरुलाई दवाव दिने काम महासंघले गरिरहेको छ,’ उनले भने ।

कति छ कारोबार ?

आर्थिक वर्ष २०७७÷७८ मा रजिष्ट्रेशन पास र लाभकरबाट ७१ अर्ब उठेको भूमि व्यवस्था तथा मालपोत कार्यालयको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७८÷७९ मा ७५ अर्ब राजश्व उठ्यो । त्यसपछि भने यो दर निकै घटेको देखिन्छ । आर्थिक वर्ष २०७९÷८० मा ४१ अर्ब मात्रै राजश्वमा योगदान देखिन्छ । आर्थिक क्षेत्रमा देखिएको मन्दीको प्रभाव तथा घरजग्गाको कित्ताकाट रोकिनु यसको मुख्य कारण मान्न सकिन्छ । आर्थिक वर्ष २०७९÷८० मा झन्डै साढे ७ खर्बको कारोबार भएको देखिन्छ । आर्थिक वर्ष २०७८÷७९ मा करिब ७ लाख ४५ हजार लिखत पास भएकोमा आर्थिक वर्ष २०७९÷८० मा करिब ४ लाख ६३ हजार मात्रै लिखन पास भएर घरजग्गा कारोबार भएका देखिन्छ । व्यवसायमा पारदर्शीता कायम हुँदा घर जग्गा कारोबारको तथ्यांक झण्डै दोब्बरले बृद्धि हुने र राजश्वमा पनि योगदान बढ्ने व्यवसायीहरु बताउँछन् ।

पोखरामा महासभा

घर जग्गा कारोबारमा आबद्ध व्यवसायीहरुको छाता संस्था नेपाल जग्गा तथा आवास विकास महासंघले पर्यटकीय नगरी पोखरामा दोस्रो वार्षिक महासभा गर्दैछ । माघ २७ गते शनिबार होटल ग्राण्डी पोखरामा हुने महासभाको सम्पूर्ण तयारी पुरा भएको आयोजकको भनाइ छ । महासंघको आयोजना तथा गण्डकी जग्गा तथा आवास विकास व्यवसायी संघ पोखराको सहआयोजनामा महासभा हुँदैछ । महासभामा देशभरबाट झण्डै ५ सय जना घरजग्गा व्यवसायीहरु सहभागी हुने आयोजकको भनाइ छ ।

You might also like

Comments are closed.