सडक महोत्सवको आफ्नै गौरवशाली इतिहास छ (भिडियोसहित)

रेवान पोखराले सडक महोत्सवलाई निरन्तरता दिएको छ । कोरोना जोखिमलाई मध्यनजर गरी स्वास्थ्य सुरक्षा मापदण्डमा विशेष ध्यान दिएर ३ दिन पोखरामा महोत्सव हुँदैछ । पोखरा खुल्ला छ भन्ने सन्देश दिन महोत्सवलाई निरन्तरता दिइएको रेवान पोखराका अध्यक्ष लक्ष्मण बराल बताउँछन् । यसैक्रममा अध्यक्ष बरालसँग २२औं संस्करणको महोत्सवका सन्दर्भमा केन्द्रित रहेर गरिएको कुराकानी यहाँ प्रस्तुत छः

कोरोना महामारीको त्रास छ, सडक महोत्सवलाई निरन्तरता कसरी दिनुहुन्छ ?
रेवान पोखराले विगत २१ वर्षदेखि गर्दै आएको सडक महोत्सवलाई यसपटक पनि निरन्तरता दिएका छौं सडक महोत्सवको आफ्नै गौरवशाली इतिहास छ । जस्तोसुकै परिस्थितिमा पनि महोत्सव संचालन गरिएको थियो । पर्यटन व्यवसायी र स्थानीय बासिन्दाले महोत्सवलाई निरन्तरता दिनुपर्छ भन्ने मान्यताकै कारण महोत्सव अहिलेको अवस्थामा आएको हो । यसपटक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरि सामान्य तरिकाले महोत्सव संचालन हुन्छ । अहिलेको परिस्थिति फरक छ । कोरोना महामारीको त्रास छ । महोत्सव गर्ने वा नगर्ने भन्ने वारेमा धेरै पक्षसँग छलफल गर्यौं । मोडालिटी परिवर्तन गरेर महोत्सव गर्नुपर्छ भन्ने कुरा आयो । विगतमा जस्तो धेरै भिडभाड नगर्ने तथा सामान्य तरिकाले महोत्सव सञ्चालन गर्ने तयारीमा हामी लाग्यौं ।

jutta mela

यस पटक महोत्सवमा गत वर्ष भन्दा के फरक रहन्छ ?
महोत्सवको समय घटाएर ३ दिन मात्र गर्नेछौं । पुषको १५, १६ र १७ गते महोत्सव हुनेछ । महोत्सवमा गरिदै आएका ठुला कार्यक्रम कटौती गरेका छौं । कोमोगाने पार्कमा गरिने कार्यक्रम स्थगित गरेका छौं । लाइभ कन्सर्ट पनि हुनेछैन । महोत्सवका सम्पूर्ण गतिविधि सडकमा हुनेछन् । बढी भिडभाड नगरी महोत्सव गर्ने हाम्रो उद्देश्य छ ।

महोत्सवको मुख्य आर्कषण के हो ?
महोत्सवको मुख्य आकर्षण भनेको अन्तर्राष्ट्रिय स्तरका खानाका स्वाद सडकमा नै पस्कने हो । नेपाली खानाको स्वाद पनि महोत्सवमा लिन सकिन्छ । विभिन्न जातजातिका सांस्कृतिक कार्यक्रम सडकमा प्रदर्शन हुन्छन् ।

पर्यटक आउने सम्भावना कस्तो रहला ?
विगतलाई हेर्ने हो भने महोत्सवको समयमा पोखर भरीभराउ हुन्थ्यो । अहिलेको अवस्था फरक छ । अहिलेको उद्देश्य भनेको दर्शक धेरै भित्र्याउनु भन्दा पनि लामो समयदेखि हुँदै आएको महोत्सव रोक्न हँुदैन भन्ने हो । पोखरा खुला र सुरक्षित छ भन्ने सन्देश दिन पनि महोत्सव गर्न लागिएको हो । महोत्सवमा नयाँ वर्षलाई पनि स्वागत गर्छौं । इभको दिनको लागि होटल बुकिङ भएका छन् । करिव ६० देखि ७० प्रतिशत बुकिङ भइसकेको छ ।

अन्य संघसंस्थाको भुमिका कस्तो छ ?
रेवान पोखराले महोत्सव आयोजना गरेपनि पर्यटनसँग सम्वद्ध विभिन्न संघसंस्था तथा आम पोखरेलीको साथ र सहयोग विगतदेखि नै रहदै आएको छ । होटल संघले महोत्सवको समयमा पोखरा आउने पर्यटकलाई ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । प्याराग्लाइडिङले पनि ५० प्रतिशत छुट दिने भएका छन् । रेवानले पनि पुरानो रेगुलर मेनुमा परिवर्तन गरि मूल्य घटाएर नयाँ मेनु ल्याउने छन् ।

You might also like

Comments are closed.