शैक्षिक परामर्शः आकर्षक र सम्मानित व्यवसाय

लक्ष्मण पौडेल (एन्ड्रयु), प्रथम उपाध्यक्ष, नेपाल शैक्षिक परामर्श संघ (इक्यान)

शैक्षिक परामर्श क्षेत्रमा करिब दुई दशक लामो अनुभवसहित म निरन्तर पेशागत अभ्यास र संस्थागत विकासमा संलग्न रहँदै आएको छु । यस अवधिमा मैले विद्यार्थी, अभिभावक, शैक्षिक संस्था तथा व्यवसायीहरूसँग नजिकबाट काम गर्ने अवसर पाएको छु । यसले मलाई शैक्षिक परामर्श क्षेत्रका वास्तविक चुनौती, सम्भावना र भविष्यका दिशाहरू गहिरोसँग बुझ्ने आधार प्रदान गरेको छ ।
इक्यानको प्रथम उपाध्यक्षको रूपमा कार्य गर्दा संस्थाभित्रको संगठनात्मक संरचना, सदस्यहरूले भोगिरहेका समस्या तथा सुधारका सम्भावित क्षेत्रहरूलाई नजिकबाट बुझ्ने अवसर प्राप्त भएको छ । यस अनुभवका आधारमा शैक्षिक परामर्श क्षेत्रलाई केवल जीविकोपार्जनको माध्यमका रूपमा होइन, व्यवस्थित, आकर्षक र सम्मानित व्यवसायका रूपमा स्थापित गर्न आवश्यक छ भन्ने मेरो दृढ विश्वास छ ।

इक्यानको दायरा र प्रभावकारिता अझ फराकिलो बनाउन संस्थाको मर्यादा, विश्वसनीयता र पेशागत अनुशासनलाई प्राथमिकतामा राख्दै दीर्घकालीन कार्यक्रमहरू अघि बढाउनुपर्छ । वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीहरूलाई लक्षित गरी ‘इक्यान स्कलरशिप’ जस्तो कार्यक्रम लागू गर्न सकेमा संस्थाको गरिमा वृद्धि हुनुका साथै अभिभावक, विद्यार्थी र इक्यानबीचको सम्बन्ध अझ सुदृढ र विश्वासिलो बन्नेछ ।
साथै, सदस्य संस्थाहरूको क्षमता अभिवृद्धि, आचारसंहिता प्रभावकारी कार्यान्वयन, सेवा गुणस्तरमा एकरूपता र नीतिगत तहमा सरकारसँगको समन्वयलाई अझ बलियो बनाउनु आवश्यक छ । समग्र इक्यान टिमको अनुभव, स्पष्ट दृष्टिकोण, व्यावहारिक योजना र प्रभावकारी कार्यान्वयन क्षमताका आधारमा इक्यानलाई नयाँ उचाइमा पु¥याउन सकिन्छ भन्नेमा म पूर्ण रूपमा विश्वस्त छु । संस्थागत एकता, पारदर्शिता र पेशागत मर्यादालाई केन्द्रमा राख्दै इक्यानलाई अझ सक्षम, विश्वसनीय र उदाहरणीय संस्थाका रूपमा विकास गर्नु नै हाम्रो दायित्व हो ।

 

You might also like

Comments are closed.