पोखरा । लक्ष्मी ग्रुप प्रा.लि.ले आफ्नो ५१ औं स्थापना दिवस शुक्रबार एक समारोहको आयोजना गरि मनाएको छ । ग्रुपको प्रधान कार्यलय बागबजार पोखरामा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक सुनिल श्रेष्ठले आज भन्दा ५१ वर्ष अघि बुवाहरु द्वय बुद्धि बहादुर श्रेष्ठ र गणेश बहादुर श्रेष्ठले स्थापना गरेको लक्ष्मी मिठाई भण्डारले सबैको साथ, सहयोग र समर्थनले आजको यो रुप लिएको बताए । यसका साथै आगामी दिनमा समेत यस किसिमको साथ सहयोग निरन्तर रहने कुरामा आफु विस्वस्त रहेको बताए । सो अवसरमा कार्यकारी निर्देशक श्रेष्ठले सबैलाई आभार एवम् धन्यवाद ज्ञापन समेत गरेका थिए ।
बटुकद्वारा स्वस्ती वाचन गरि सुरु गरिएको कार्यक्रमलाई कम्पनिका कार्यकारी निर्देशक सुनिल श्रेष्ठ ले पानसमा दिप प्रज्वलन गरि समुद्घाटन गरेका थिए । कार्यक्रममा गु्रपमा लामो समयदेखी आवद्ध रही सेवारत कर्मचारीहरुलाई दीर्घ सेवा पदकद्वारा सम्मान गरिएको थियो ।
ग्रुप अन्तरगत रहेका विभिन्न औद्योगिक प्रतिष्ठानहरुमा ५ बर्ष सेवा गरेका २५ जना, १० बर्ष सेवा गरेका ४ जना, १५ बर्ष सेवा गरेका २ जना, २० बर्ष सेवा गरेका १० जना गरी जम्मा ४१ जना कर्मचारीहरुलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो । उक्त कर्मचारीहरुलाई कम्पनिका कार्यकारी निर्देशक सुनिल श्रेष्ठ, निर्देशकहरु कृष्ण बहादुर श्रेष्ठ, सुविन्द्र श्रेष्ठ, सुब्रत श्रेष्ठ एवम् नायव निर्देशक निरज श्रेष्ठले सम्मान स्वरुप मायाको चिनो एवम् प्रंशसा पत्र प्रदान गरेका थिए । यसका साथै ५१ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको महिला तथा पुरुष एकल ब्याटमिन्टन र फुट्सल प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो ।
त्यसैगरि ५१ औं स्थापना दिवस कै अवसर पारेर ग्रुपले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । पहिलो रक्तदाता केशव भट्टराईलाई ब्लड ब्याग हस्तान्तरण गरि सुरुवात गरिएको सो कार्यक्रममा जम्मा ९० जना कर्मचारीहरुले रक्तदान गरेका थिए । यस प्रकारको रक्तदान कार्यक्रम कम्पनिले सोसियल कर्पोरेट रेस्पोन्सीविलिटी अन्तरगत हरेक वर्ष नियमित रुपमा आयोजना गर्दै आएको कम्पनिले जनाएको छ ।
सो समारोहमा सम्मानितहरुको तर्फबाट मानव संसाधन विभागका महाप्रवन्धक श्याम मल्लले प्रतिष्ठानको उत्तरोत्तर प्रगतिको कमना गर्दै प्रतिष्ठानले संथागत सामाजिक उत्तरदायित्व अन्तरगत शिक्षा, स्वास्थ्य तथा खेलकुद एवम् धार्मिक क्षेत्रका विभिन्न सामाजिक कार्यहरुमा देखाएको सक्रियता तथा पु–याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रमलाई प्रताप आचार्यले सञ्चालन गरेका थिए ।
Comments are closed.