जनता आधारभूत विद्यालयलाई लुम्बिनी विकास बैंकको सहयोग

काठमाडौं । लुम्बिनी विकास बैंक लि. ले जनता आधारभूत विद्यालय लालबन्दी ११ सर्लाही हिरापुरमा सञ्चालित विद्यालयलाई आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत बैंकले विद्यालयलाई ५० हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकालले जानकारी दिए ।

बैंकका मधेश प्रदेश प्रमुख मोहनराज गिरीले विद्यालयका प्रधानाध्यापक शत्रुधन महतोलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । जनता आधारभूत विद्यालयमा सुबिधा सम्पन्न शौचालय निर्माणमा सहयोग गर्न पाउँदा खुसी लागेको गिरीले बताए ।

विद्यालयका प्रधानाध्यापक महतोले सहयोगप्रति बैंकलाई आभार व्यक्त गरे । कार्यक्रममा बैंकका लालबन्दि शाखाका शाखा प्रवन्धक आशिष कुमार भट्टराई, कर्मचारी दयाराम गौतम तथा दिप्ती अधिकारी र विद्यालयको तर्फबाट लालबन्दी नगरपालिकाका शिक्षा शाखा प्रमुख लक्ष्मी शिवाकोटी, वडा नं. ११ का वडा सदस्य उमेश महतो, विद्यालय व्यवस्थापन समितिका भूतपूर्व अध्यक्ष संग्राम सिंह गोले लगायतको उपस्थिति थियो ।

विद्यालयमा हाल २ सय ५३ जना विद्यार्थी छन् । विद्यालय २०३५ सालदेखि सञ्चालन भइरहेको छ ।

बैंकले ७ वटै प्रदेशमा ७९ वटा शाखाहरुमार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

 

You might also like

Comments are closed.