लेखनाथ महोत्सवको तयारी तिब्र, आमा तथा महिला समूहको साथ रहने

लेखनाथ । लेखनाथ महोत्सवको तयारी तिब्र बनाइएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी पुस १८ गतेदेखि हुने ‘२०औँ लेखनाथ महोत्सव’लाई तिब्र बनाइएको हो ।

यसैक्रममा महोत्सव सफल बनाउन लेखनाथका विभिन्न आमा तथा महिला समूहहरुसँग छलफल तथा अन्तरक्रिया भएको संघकी महासचिव तथा प्रचारप्रसार संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिइन् ।

माघ १ गतेसम्म सञ्चालन हुने महोत्सवको विषयमा आयोजित छलफल कार्यक्रममा सहभागी विभिन्न आमा तथा महिला समूहका प्रतिनिधिहरुले आ–आफ्नो तर्फबाट सक्रियतापूर्वक सहभागी भई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका संयोजक विनोद श्रेष्ठले महोत्सवको तयारीका विषयमा जानकारी दिंदै यहाँका विभिन्न संघसंस्था र समूहहरुले आफ्नो महोत्सवको रुपमा अपनत्व लिएका कारणले लेखनाथ महोत्सव महोत्सवहरुको पनि महोत्सव हुन सफल भएको बताएका थिए । महोत्सवमा महिला तथा आमा समूहको सहभागिता रत्यौेली र नाचगान कार्यक्रमहरुमा मात्र नभई संघले विभिन्न तालिमहरुको माध्यमबाट उद्यमी भएको हेर्न चाहेको बताएका छन् ।

महिला तथा आमा समूह परिचालन उप–समितिकी संयोजक सन्ध्या दाहालले महिलाहरुको सक्रिय सहभागिताका कारण झाँकी र्याली, रत्यौली लगायतका कार्यक्रमहरु सफल भएको बताउँदै यस पटक पनि सहयोगको अपेक्षा गरेको बताइन् ।

रत्यौली कार्यक्रम उप–समितिकी संयोजक गंगा मल्लले कार्यक्रमले महोत्सवमा बेग्लै रौनक प्रदान गर्नुका साथै कला संस्कृतिको समेत जर्गेना गर्ने बताउँदै विगत भएका कमजोरीहरुलाई सुधार गर्दै यसपालीको कार्यक्रम अझै परिष्कृत र उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा निवर्तमान अध्यक्ष क्षत्रधर आत्रेय, पूर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, झाँकी र्याली व्यवस्थापन उप समितिकी संयोजक बुद्धि कुमारी मगर, हाजिरी जवाफ प्रतियोगिताकी संयोजक प्रभा कुमारी पौडेल, ग्रामीण रैथाने प्रविधि व्यवस्थापन उप–समितिकी संयोजक पार्वती थापा लगायतले बोलेका थिए ।

महिला तथा आमा समूह परिचालन उपसमितिकी संयोजक सन्ध्या दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धन्यवाद ज्ञापन सहसंयोजक अञ्जली पण्डितले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन संघकी महासचिव जानुका पराजुली अधिकारीले गरेकी थिइन् ।

lcci
You might also like

Comments are closed.