लेखनाथ महोत्सव आजबाट

लेखनाथ । ‘लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि’ नाराका साथ लेखनाथ उद्योग वाणिज्य संघले वर्षेनी लेखनाथ महोत्सव आयोजना गर्दै आइरहेको छ । यस पटक महोत्सवको २०औं संस्करण पोखरा २७ स्थित डाडाँकोनाक तालचोकमा पुस १८ देखि माघ १ गतेसम्म हुँदैछ । आज महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नेछन् ।

स्थानीय कृषि तथा औद्योगिक उत्पादनको प्रवद्र्धन, हस्तकलाका वस्तुहरुको बजार प्रवद्र्धन तथा पहिचान, लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको संघका अध्यक्ष विनोद श्रेष्ठ बताउँछन् । ‘आवश्यक ज्ञान, सिप र प्रविधि हस्तान्तरण, उद्यमशिलता, सृजनशिलतामा जोड, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकमा उत्पादित वस्तु तथा सेवाको प्रदर्शनी, जातीय भेषभुषा, कला संस्कृति, रीतिरिवाजको जर्गेना, नवप्रतिभा प्रस्फुटन साथै आन्तरिक एवं वाह्य पर्यटक प्रवद्र्धन गर्न पनि महोत्सव सहयोगी बन्नेछ,’ उनले भने ।

महोत्सवमा ३३६ वटा स्टल रहनेछन् । अटो, शैक्षिक तथा ग्रामीण प्रविधि, कृषि, किचन सामग्री, मेशिनरी, हस्तकला, गार्मेन्ट तथा रेडिमेट सामग्री, फुड एण्ड बेभरेज, डेरी, नेपाली उत्पादन, खाना, बैंक तथा वित्तीय संघसंस्थाका स्टल महोत्सवमा राखिने संघका महासचिव तथा प्रचारप्रसार उपसमिति संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिइन् ।

लेखनाथ उत्पादित सुन्तला, माछा, मौरी, कफी, ताजा तरकारी, जैविक विविधता, दुग्धजन्य उत्पादन लगायतको बिक्री एवं प्रदर्शनी, नेपाली उत्पादनलाई प्राथमिकता राख्दै छुट्टै स्टल (पेभिलियन) को व्यवस्था महोत्सवमा गरिएको छ । महोत्सव स्थलमा शान्तिकादुत गौतम बुद्धको प्रतिमा निर्माण गरिएको छ । नव प्रतिभा खोजी अन्तर्गत खुल्ला जोडी नृत्य प्रतियोगिता आयोजना गरिएको छ । ‘हामीले महोत्सवमा फरक शैली अपनाएका छौं । थुप्रै आकर्षणहरु थप गरेका छौं,’ अधिकारीले भनिन्, ‘दर्शकलाई भरपुर मनोरञ्जन प्रदान हुनेछ ।’ महोत्सवमा उपस्थित भएर अवलोकन गर्न संघले सम्पूर्णमा आग्रह गरेको छ ।

lcci
You might also like

Comments are closed.