लेखनाथ । ‘लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि’ नाराका साथ लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको लेखनाथ महोत्सवको आज दोस्रो दिनका कार्यक्रम हुने भएका छन् । महोत्सवमा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति रहने संघका महासचिव तथा प्रचारप्रसार उपसमिति संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिइन् ।
महोत्सवको बिहीबार भव्य उद्घाटन भएको छ । पोखरा २७ स्थित डाडाँकोनाक तालचोकमा आयोजित महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका हुन् । उद्घाटनको दिन करिब ३५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको आयोजकको भनाइ छ । करिब ९० लाख रुपैयाँ बराबरको कारोबार भएको अधिकारीले जानकारी दिइन् । त्यस्तै उद्घाटनको दिन झाँकी र्यालीमा स्थानीयहरुको उत्साह जनक उपस्थिति रह्यो । करिब ६ सय झाँकी र्याली प्रदर्शनी भएको छ । लेखनाथस्थित विभिन्न आमा तथा महिला समूहसहित विभिन्न जातजाति, कला र संस्कृति झल्कने झाँकीहरु निकालिएको थियो । संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षमा कार्यक्रम आयोजना भएको हो ।
महोत्सवको दोस्रो दिन आज शुक्रबार दर्शकको उपस्थिति उत्साह जनक रहने आयोजकको विश्वास छ । आज महोत्सवमा रामजी खाँण, मधु रसाइली, कृष्ण सुवेदी, सबिना गुरुङ, केशव देवकोटा, सरस्वती लामिछाने, रमा गौतमको प्रस्तुति रहने प्रथम उपाध्यक्ष एवं कलाकार व्यवस्थापन उपसमिति संयोजक उपेन्द्रराज सुवेदी (राजु)ले जानकारी दिए । साँझ कन्सर्टतर्फ प्रकाश दुतराज, सञ्जिव सिं रानाको विशेष प्रस्तुति रहनेछ ।
स्थानीय कृषि तथा औद्योगिक उत्पादनको प्रवद्र्धन, हस्तकलाका वस्तुहरुको बजार प्रवद्र्धन तथा पहिचान, लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको हो । महोत्सवमा ३३६ वटा स्टल राखिएका छन् ।
Comments are closed.