पोखराबाट अन्तर्राष्ट्रिय उडान नियमित हुनुपर्छ

राजेन्द्र ओझा, वरिष्ठ उपाध्यक्ष, लेखनाथ उद्योग वाणिज्य संघ

निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघले वर्षेनी लेखनाथ महोत्सव आयोजना गर्दैै आइरहेको छ । महोत्सवको २०औं संस्करण पुस १८ बाट सुन्दर नगरी लेखनाथमा सञ्चालन भइरहेको छ ।

लेखनाथमा आयोजित महोत्सवले बेगनासताल लगायत यहाँका अन्य ताल तथा पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसार तथा प्रवरद्धन गरिरहेको छ भन्ने हाम्रो विश्वास छ । त्यस्तै यहाँको कृषि तथा औद्योगिक विकासमा पनि महोत्सव सहयोगी बनिरहेको छ ।

लेखनाथ साना तथा मझौला उद्योगहरुको लागि राम्रो सम्भावना बोकेको क्षेत्र होे । पोखरामा रहेको औद्योगिक क्षेत्र सानो भइसकेको छ भने बजारको बीचमा छ । अब फराकिलो ठाउँमा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्नुपर्ने देखिन्छ । नयाँ औद्योगिक क्षेत्रका लागि लेखनाथ उपयुक्त छ । लेखनाथ क्षेत्रमा बनाउने भनिएको औद्योगिक क्षेत्रको कामलाई सरकारले तिब्रता दिन जरुरी छ । अहिलेको अवस्थामा जग्गा किनेर उद्योग सञ्चालन गर्न कठिन छ । लगानी नै जग्गामा जाने भएकाले दीर्घकालीन रुपमा उद्योग, व्यवसाय सञ्चालन गर्नका लागि औद्योगिक क्षेत्र आवश्यक छ ।

त्यसैगरी लेखनाथ तथा समग्र पोखरा क्षेत्र पर्यटकीय गतिविधिका लागि राम्रो सम्भावना बोकेको ठाउँ हो । पोखरामा अन्तर्राष्ट्रिय बिमानस्थल सञ्चालनमा आएर पनि अन्तर्राष्ट्रिय उडानहरु नियमित हुन सकेको छैन । अब पोखराबाट नेपालका नजिकका गन्तव्यहरुको सिधा उडान गर्न जरुरी छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न सकेमा विदेशी पर्यटकको संख्या बढ्नेछ र यहाँको पर्यटनमा सकारात्मक योगदान पुग्नेछ । हामीले आफ्नो ठाउँबाट दबाब दिने काम गरिरहेका छौं ।

लेखनाथ महोत्सवमा मैले महोत्सवको सहसंयोजक सहित अतिथि सत्कार उपसमिति संयोजकको जिम्मेवारी बहन गरिरहेको छु । हामीले यस पटकको महोत्सवमा अलि फरक ढंगबाट अतिथि स्वागत सत्कार गर्ने कार्यक्रम राखेका छौं । महोत्सव अवलोकन गर्न आउने अतिथिको सहजताका लागि महोत्सव स्थलको प्रवेशद्वार बाहिर अतिथि समन्वय कक्षको व्यवस्था गरिएको छ । अतिथि समन्वय कक्षमा दुई जना व्यक्तिलाई जिम्मेवारी दिइएको छ । अतिथि समन्वय कक्षबाट हाम्रा अतिथिहरुलाई मञ्चस्थलमा लैजाने व्यवस्था गरिएको छ ।

lcci
You might also like

Comments are closed.