पोखरा । आज बिहान रसुवा जिल्ला र चीनको सीमाक्षेत्र केरुङ–टिमुरे क्षेत्रभन्दा करिब ८ किलोमिटर टाढा चीनको तिब्बती भू–भागबाट आएको विनाशकारी बाढी भोटेकोशी नदीमा मिसिएर नेपालतर्फ अकल्पनीय धनजनको क्षति प्रति लेखनाथ उद्योग वाणिज्य संघ र सिंगो निजी क्षेत्रलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको लेखनाथ उद्योग वाणिज्य स.घले जनाएको छ ।
यस भीषण बाढीका कारण भोटेकोशी नदी आसपासका क्षेत्रमा रहनुभएको स्थानीय बासिन्दाका धनजन, उद्योगी व्यवसायीले सञ्चालन गरेका व्यवसाय, भवनहरु, कृषियोग्य जमिन, बेलिब्रिज तथा पक्की पुल, पर्यटकीय पूर्वाधार र भन्सारमा रहेका मालवाहक कन्टेनर तथा सामानमा ठूलो क्षति पुगेको छ । यसका साथै, गोसाइँकुण्ड जाँदै गरेका तीर्थयात्रुहरु समेत बाढीमा परेको, सयौंको संख्यामा नागरिकहरु बेपत्ता भएका र दर्जनौं सवारीसाधन बगाएको छ ।
यस अकल्पनीय घटनाबाट सिन्धुपाल्चोक, रसुवा लगायत अन्य जिल्लाका उद्योगी व्यवसायीहरुले ठूलो आर्थिक र भौतिक क्षति व्यहोर्नु परेको छ । यस दुःखद र विपद्को घडीमा मानवीय भावनाका साथ उद्धार र राहत कार्यमा आ–आफ्नो ठाउँबाट सक्दो सहयोग पु¥याउन सम्पूर्ण उद्योगी, व्यवसायी, नागरिक समाज र सामाजिक संघ–संस्थालाई संघले आह्वान गरेको छ । साथै बाढीका कारण थप क्षति हुन सक्ने जोखिम अझै उच्च रहेकोले नदी तटीय क्षेत्र तथा प्रभावित इलाकाका सम्पूर्ण नागरिक तथा व्यवसायीलाई नआत्तिन, उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहनपनि संघले आग्रह गरेको छ ।
यस अकल्पनीय प्राकृतिक विपत्तिमा परी अकालमै ज्यान गुमाउने सम्पूर्ण नागरिक तथा तीर्थयात्रुप्रतिश्रद्धाञ्जली अर्पण गर्दै संघले शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । प्रभावित क्षेत्रमा बेपत्ता भएकाको तत्काल खोजी, जोखिममा परेकाको सकुशल उद्धार, र पीडितका लागि राहत तथा सुरक्षित बासस्थानको प्रभावकारी व्यवस्थापन गर्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय, सरोकारवाला निकायहरू लगायत स्थानीय संघ संस्था र आम नागरिक सँग संघले अनुरोध गरेको छ ।




Comments are closed.