लेखनाथ । पोखरा विश्वविद्यालयका उपकुलपति प्रेम नारायण अर्यालले सबैको सामुहिक पहलमा मेडिकल कलेज बनाउने अभियानमा जुट्न अनुरोध गरेका छन् । उपकुलपति अर्यालको सम्मानमा बुधबार लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा बोल्दै उनले पोखरा विश्वविद्यालयले आफ्नै मेडिकल कलेज बनाउने भनेर शिलान्यास गरेपनि मेडिकलन कलेज बन्न नसकेको बारेमा चिन्ता जाहेर गरे । अब समुदायको तर्फबाट पहल कदमी गर्नुपर्ने उनको सुझाव छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै उप–कुलपति अर्यालले शैक्षिक संस्थानमा राजनीतिक गतिविधि धेरै हुने गरेको बताए । विकास तथा शिक्षाका लागि राजनीति गर्न उनको सुझाव छ । अर्यालले आफू आएको ६ महिना बितिसक्दा पनि अझै रजिष्टार नियुक्ति हुन नसकेको बताउँदै यसका लागि आफूले प्रधानमन्त्रीदेखि नेताहरुको ढोकासम्म धाउँदा धाउँदा हैरान भएको बताउए । अब अन्तिम विकल्पको रुपमा जनता उठ्नुपर्ने उनले बताए ।
आफ्नो कार्यकालमा विश्वविद्यालयको आफ्नै हस्पिटल खोल्ने आफ्नो सोच रहेको बताउँदै ७ वटै प्रदेशमा विश्वविद्यालयको आंगिक क्याम्पसको लागि समेत पहल गर्ने बताए ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले संघले लेखनाथ नगरपालिका हुँदादेखि यस क्षेत्रको आर्थिक, सामाजिक तथा शैक्षिक विकासका लागि सरकारी निकायहरुसँग लभिङ गर्दै आएको बताए । पोखरा विश्वविद्यालयमा देखिएको राजनीतिक गतिविधिले पठन पाठनमा नै समस्या देखिएकाले यसमा सुधार हुनुपर्ने सुझाव राखे ।
सोही अवसरमा लेखनाथ उद्योग वाणिज्य संघका सस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले पोखरा विश्वविद्यालय स्थापना गर्नमा यस क्षेत्रका जनताको ठुलो सहयोग भएपनि सोचे अनुसारको काम हुन नसकेकाले पोखरा व्रिश्वविद्यालयले आफ्ना गतिविधि संचालन गर्दा स्थानीयलाई प्रथामिकता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष सुमनमोहन भट्टराई र संस्थागत विद्यालयहरुको तर्फबाट प्रेम प्रसाद शर्माले पोखरा विश्वविद्यालय लेखनाथमा हुनु गौरवको विषय भएकाले यसले आफ्नो योजना मुताविकको काम गर्न सक्नुपर्ने धारणा राखे । संघका महासचिव गोपिचन्द्र वास्तोलाले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले गरेका थिए ।
Comments are closed.