उपेन्द्रराज सुवेदी (राजु), प्रथम उपाध्यक्ष, लेखनाथ उद्योग वाणिज्य संघ
एवं प्रचारप्रसार संयोजक, १९औं लेखनाथ महोत्सव २०८०
महोत्सवको पनि महोत्सवको रुपमा चर्चा कमाएको लेखनाथ महोत्सव आफैंमा एउटा व्राण्ड बनिसकेको छ । ‘सुन्तला प्रदर्शनीदेखि १९ औं संस्करणको लेखनाथ महोत्सवसम्म आइपुग्दा अग्रज व्यवसायीहरु, शुभचिन्तकहरु, विभिन्न जातजाति, भाषा भाषी, आमा/महिला समूहहरु एवं सम्पूर्ण लेखनाथबासीहरु एकतावद्ध भएर गरेको योगदान अतुलनीय छ । लेखनाथ महोत्सव हाम्रो हो भन्ने अपनत्वको भावना सबैमा रहेको पाइन्छ । महोत्सव सफल बनाउन लागि लेखनाथ क्षेत्रमा रहनुभएका सबैको महत्वपूर्ण भुमिका रहन्छ ।
देशको अर्थतन्त्र शिथिल अवस्थामा रहेकाले महोत्सव गर्नु चूनौतिपूर्ण रहेपनि विभिन्न व्यावसायीक प्रतिष्ठानहरु एवं व्यवसायीहरुको तर्फबाट महोत्सवलाई राम्रो साथ मिलेको छ । महोत्सव सञ्चालनले यस क्षेत्रको आर्थिक गतिविधि वढाउने र आर्थिक चलयमान भई व्यवसायीहरुमा उत्साह थपिने छ ।
लेखनाथ महोत्सव लेखनाथबासीको एउटा पर्वको रुपमा विकसित हुँदै आएको छ । लेखनाथ महोत्सव सफल बनाउन यहाँका विभिन्न संघसंस्था, आमा समूहदेखि लिएर टोल विकास तथा यहाँका सम्पूर्ण व्यवसायी एकजुट भएर अगाडि बढिरहेको अवस्था छ । यहाँ उत्पादन भएका वस्तुहरुलाई प्रवद्र्धन तथा बजारीकरण गर्नका लागि पनि महोत्सवले महत्वपूर्ण भूमिका खेलेको महसुस हामीले गरेका छौं । त्यसकारण पनि लेखनाथ महोत्सवलाई सबैको साझा चाडको रुपमा, सबैको भेटघाटको थलोको रुपमा लिएका छौं ।
लेखनाथ महोत्सवलाई महोत्सवको पनि महोत्सव भनिरहँदा साविकको लेखनाथ ‘टुरिजम हब’ भएको क्षेत्र पनि हो । यहाँको टुरिजमलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्ने उद्देश्यले हामीले प्रयास गरिरहेका छौं । टुरिजमको रुपमा प्रवद्र्धन गर्न सकिने सम्भावनाहरु के–के छन् भन्ने कुराको चिन्तन गरेर तयारी गरिरहेका छौं ।
लेखनाथ महोत्सव एउटा नामका लागि मात्रै महोत्सव नभइ यहाँ उद्यमी बन्न चाहनेहरुका लागि त्यही अनुसारको वातावरण सिर्जना गर्ने, विभिन्न शिक्षा, औद्योगिक, कृषि, पर्यटनलाई जोड्ने खालका व्यावसायिक क्रियाकलापलगायत एकै स्थानमा सबै खालका उत्पादनदेखि लिएर उपभोग गर्ने उपभोक्ताबीचको सम्बन्धमा एउटा पुलको काम महोत्सवले गरिरहेको छ । सबैलाई समेट्ने महोत्सव भएका कारण पनि यो लेखनाथ महोत्सव अन्य भन्दा फरक छ । एकपटक मेलामा आएर अवलोकन गरीदिनहुन म सबैमा अनुरोध गर्दछु ।
Comments are closed.