लेखनाथ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि’ नाराका साथ आयोजित लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजना हुने महोत्सवको उद्घाटन पुस ५ गते हुँदैछ । महोत्सव पुस १६ सम्म चल्नेछ । बाह्य सम्पूर्ण तयारी सकेर उद्घाटनको तयारीमा आफूहरु जुटेको संघका अध्यक्ष बिनोद श्रेष्ठले जानकारी दिए ।
‘विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दिका कारण थला परेको देशको अर्थतन्त्रलाई चलायमान बनाउन महोत्सव सहयोगी हुनेमा हामी विश्वस्त छौं,’ उनले भने । पर्यटन प्रवद्र्धन गर्न, देशमा रहेका औद्योगिक उत्पादनलाई बढवा दिन, हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन र सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातीय भेषभुषा, कला संस्कृति, रितिरिवाजको जगेर्ना गर्न, आन्तरिक एवं वाह्य पर्यटकहरु आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पुर्याउने महोत्सवको मुख्य उद्देश्य रहेको वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिए ।
महोत्सवका आकर्षणहरुमा राष्ट्रिय औद्योगिक उत्पादन प्रदर्शनी, औद्योगिक व्यापार मेला, घरेलु तथा हस्तकलाका सामान बिक्री वितरण, शैक्षिक प्रदर्शनी अन्तर्गत राष्ट्रिय आविस्कार केन्द्रद्वारा आविष्कार गरिएका प्रविधि प्रदर्शनी, घरेलु तथा ग्रामिण प्रविधि प्रदर्शनी, दैनिक उपभोग्य एवं खाद्यान्न सामान, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरु, विद्युतीय उपकरण, मेशेनरी सामाग्री, फर्निचरका सामानहरु, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामग्रीहरुको खरिद तथा बिक्री, सूचना प्रबिधि तथा सञ्चारका उपकरणहरु, पर्यटन तथा लेखनाथ क्षेत्रका गतिविधिहरु, फुड फेस्टिवल, अटोमोवाइल प्रदर्शनी, वित्तीय तथा अन्य सेवामुलक संघ संस्थाको सेवा तथा जानकारी, स्थानीय स्तरमा उत्पादित सुन्तला, माछा, मौरी, कफी र दुग्ध उत्पादन, ताजातरकारी, जैविक विविधता लगायतका प्रदर्शनी रहेको प्रथम उपाध्यक्ष एवं प्रचारप्रसार संयोजक उपेन्द्रराज सुवेदी (राजु)ले जानकारी दिए । ‘थप आकर्षणको रुपमा यस वर्ष थ्रिडी पिक्चरमार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, एलइडी स्टेजबाट प्रायोजकहरुको प्रवद्र्धन, दर्शकहरुका लागि ई(सेवाबाट टिकट काट्न सकिने गरि व्यवस्था मिलाईएकोे छ,’ उनले भने ।
राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रीतिरिवाज झल्कने साँस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरु पनि आकर्षण बन्ने बनाइएको छ । जातजातिहरुका सांस्कृतिक जर्गेना कार्यक्रम तथा मातृशक्तिको सम्मानमा आयोजना गरिदै आएको महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गीत प्रतियोगिता, ख्याती प्राप्त कलाकारहरुबाट दैनिक प्रस्तुती, युवा वर्गको ढुकढुकी सुगम संगीत अन्तर्गत कन्सर्ट लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरुको प्रस्तुती पनि आकर्षण बन्ने आयोजक संस्थाका महासचिव जानुका पराजुली अधिकारीले बताइन् ।
साहित्यिक कार्यक्रम अन्तर्गत पुस २ गते कवि शिरोमणि लेखनाथ पौड्यालको सम्झनामा साहित्यिक कार्यक्रम अन्तर्गत वर्तमान समयमा कविका कविताहरुको सान्दर्भिकता र महत्व विषयक विचार गोष्ठी, कविता बाचन तथा प्रवचन कार्यक्रम संघको सभाहलमा सम्पन्न भइसकेको छ ।
विद्यालय स्तरीय कार्यक्रम पुस १ गते विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । जसमा १७ वटा विद्यालयहरुको सहभागिता थियो । विद्यार्थीहरुबाट कोरिएका चित्रहरु महोत्सवस्थलबाट बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको आयोजकको भनाइ छ ।
महोत्सवमा ३ सय ३४ वटा स्टल रहनेछन् । अटो ६, घरेलु तथा ग्रामीण/शैक्षिक प्रदर्शनी १२, कृषि २९, राष्ट्रिय उत्पादन प्रदर्शनी १६, किचन ३६, मेशनरी १०, हेन्डिक्राफ्ट १६, रेडिमेट तथा गार्मेन्ट ९६, जुत्ता तथा चप्पल १५, जनरल, २१, फुड एण्ड बेभरेज १२, डेरी १५ रेष्टुरेन्ट १७, बैंक, सरकारी तथा गैह्रसरकारी/वित्तीय/संघसंस्था ११, प्रायोजकका २२ स्टल रहनेछन् । पोखरा विश्वविद्यालय इन्जिनियरिङ फेकेल्टी, रोबटिक क्लब, गण्डकी विश्वविद्यालय आविस्कार केन्द्र तथा विभिन्न विद्यालयहरुबाट शैक्षिक प्रदर्शनी पनि महोत्सवमा हुनेछ ।
‘लेखनाथ क्षेत्र भित्र रहेका विभिन्न जातजातिहरुको मौलिक संस्कृति झल्कने सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुति पनि रहेनछ,’ प्रचारप्रसार संयोजक सुवेदीले भने ‘महोत्सव उद्घाटन कार्यक्रम शोभायमान बनाउनका निमित्त प्रस्तुत गरिने झाँकी र्यालीका लागि ४ सय भन्दा बढि समूह दर्ता भइसकेका छन् ।’
महोत्सवमा सुरक्षा व्यवस्था चुस्त र दुस्त राख्नका लागि नेपाल प्रहरी तथा सेक्युरिटि गार्डलाई परिचालन गर्ने व्यवस्था र विभिन्न स्थानहरुमा सि.सि क्यामराको प्रवन्ध मिलाइएको उनले जानकारी दिए । महोत्सवमा लेखनाथ खानेपानी उपभोक्ता संस्थासँग समन्वय गरि डिजिटल प्रविधिमा महोत्सव परिसर भित्र पिउन योग्य खानेपानीको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
महोत्सवमा साधारण टिकट ८० रुपैयाँ र विद्यार्थी टिकटका लागि ५० रुपैयाँ शुल्क कायम गरिएको छ । साँझ कन्सर्टको टिकट १५० रुपैयाँ कामय गरिएको छ । स्थायी प्रवेश पास शुल्क ३ सय रुपैयाँ काम गरिएको छ ।
२ लाख ५० हजार जनाले महोत्सवको अवलोकन गर्ने आयोजकको अपेक्षा छ । अनुमानित आर्थिक कारोवार ९ करोड रुपैयाँ हुने तथा अनुमानित आम्दानी ९० लाख रुपैयाँ र अनुमानित खर्च ८० लाख रुपैयाँ भइ १० लाख रुपैयाँ बचत हुने आयोजकको अनुमान छ ।
प्रदर्शनी स्थल र संघको भवनको स्तर उन्नति, औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकासतर्फ बेगनासतालमा बराह मन्दिर संरक्षण, स्थानीय महिला तथा युवा उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रवद्र्धनका लागि उत्कृष्ट स्तरको कोशेली घर निर्माण, संघद्वारा बेगनासतालमा निर्माण गरिएको लेटर बोर्डको परिसरमा चेम्बरपार्क निर्माण लगायतका विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा आम्दानी भएको रकम खर्च गरिने आयोजकको भनाइ छ ।
लेखनाथ महोत्सव २०८० लाई व्यवस्थित रुपमा संचालन गर्नका लागि १ सय ३० सदस्यीय कार्यसम्पादन समिति, ९ सदस्यीय निर्देशक समिति, ४० सदस्यीय सल्लाहकार समिति, ४५ वटा उपसमिति बनाइएको छ । सम्पूर्ण समितिले आआफ्नो जिम्मेवारी अनुसार कार्यसम्पादन गरिरहेको आयोजकको भनाइ छ ।
Comments are closed.