विन्ध्यबासिनी प्राकृतिक चिकित्सालय भवनलाई लायन्स क्लब अफ पोखराद्वारा २५ लाख सहयोग

पोखरा । विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समिति अन्तर्गत बन्न लागेको विन्ध्यबासिनी प्राकृतिक चिकित्सालयको भवन बनाउन लायन्स क्लब अफ पोखराले सहयोग गरेको छ । क्लबले मंगलबार एक कार्यक्रमबचि प्राकृतिक चिकित्सालयको एउटा भवन बनाउन २५ लाख रुपैयाँ सहयोग गरेको हो ।

क्लबका अध्यक्ष डिल्लिराज सुवेदी (शिशीर) ले लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर विशेश्वर आचार्यको उपस्थितिमा विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठलाई सहयोगको चेक हस्तान्तरण गरेका छन् ।

२५ लाख रुपैयाँ सहयोगमा निर्माण हुने प्राकृतिक चिकित्सालयको एउटा भवनको नाम नै लायन्स क्लब अफ पोखरा राखिनेछ । लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशकै पहिलो लायन्स क्लब हो ।

कार्यक्रममा बोल्दै गभर्नर आचार्यले लायन्सको इतिहासमै एउटै क्लबले ठूलो रकम सहयोग गरेर उदाहणीय काम गरेको बताए । समितिका अध्यक्ष श्रेष्ठले सहयोगप्रति आभार व्यक्त गरे । चिकित्सालयको भवन निर्माणार्थ सहयोग गर्न पाउँदा खुसी लागेको अध्यक्ष सुवेदीले बताए । कार्यक्रमको सञ्चालन क्लबका सचिव दीपेन्द्र कोइरालाले गरेका थिए । कार्यक्रममा लायन्सका मोडर्न भिलेज चिफ कुलचन्द्र शर्मा, रिजन चियरपर्सन सन्तोष घिमिरे लगायतको उपस्थिति थियो ।

You might also like

Comments are closed.