काठमाडौं । भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागले निश्चित मूल्यभन्दा माथिको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य लिनुपर्ने व्यवस्था पुनः स्मरण गराउँदै सार्वजनिक सूचना जारी गरेको छ ।
विभागले २०७४ मा जारी गरिएको सूचना परिमार्जन भई २०७८ असार ९ गते Nepal Gazette (नेपाल राजपत्र) मार्फत प्रकाशित व्यवस्थाअनुसार घरजग्गा खरिद–बिक्री तथा स्वामित्व हकसम्बन्धी कारोबार तोकिएको मूल्य सीमा भन्दा बढी भएमा इजाजतपत्र प्राप्त गर्नुपर्ने स्पष्ट पारेको छ ।
सूचना अनुसार महानगरपालिका तथा उपमहानगरपालिकाभित्र १ करोड रुपैयाँभन्दा बढी, नगरपालिका क्षेत्रमा ५० लाख रुपैयाँभन्दा बढी र गाउँपालिका क्षेत्रमा २५ लाख रुपैयाँभन्दा बढी मूल्यको सम्पत्ति कारोबार गर्न इच्छुक व्यक्तिले अनिवार्य रूपमा विभागबाट इजाजतपत्र लिनुपर्नेछ ।
विभागले २०७८ पुस २३ गतेदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार आवश्यक कागजातसहित public.dolma.gov.np मार्फत ३० दिनभित्र अनलाइन आवेदन दिन सकिने जनाएको छ । आवेदकले सम्बन्धित नियमनावली, २०७८ (सम्शोधन २०८०) बमोजिमका कागजातहरू समावेश गर्नुपर्नेछ ।
विभागले घरजग्गा खरिद–बिक्री प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्ने, अवैध धन प्रयोग रोकथाम गर्ने तथा आर्थिक दुरुपयोग न्यूनिकरण गर्ने उद्देश्यले इजाजतपत्र प्रणाली कडाइका साथ लागू गरिएको उल्लेख गरेको छ ।
इजाजतपत्र बिना गरिएको कारोबार कानूनी दायरामा आउने चेतावनीसहित विभागले तोकिएको प्रक्रिया समयमै पूरा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ
।








Comments are closed.