काठमाडौं । देशभर दैनिक करिब पाँच हजार सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को माग बढ्दै जाँदा यातायात व्यवस्था विभाग माथि दबाब बढ्दो देखिएको छ । विभागका अनुसार हालसम्म आवेदन दिइसकेका करिब २५ लाख सेवाग्राहीलाई लाइसेन्स उपलब्ध गराउन बाँकी छ।
विभागका महानिर्देशक राजीव पोखरेलले अत्यावश्यक परेकाहरूलाई प्राथमिकतामा राखेर लाइसेन्स वितरण भइरहेको जानकारी दिए । उनका अनुसार दैनिक करिब ६०० जना ‘इमर्जेन्सी’ भन्दै विभाग पुग्ने गरेका छन् र सोही अनुपातमा लाइसेन्स उपलब्ध गराइँदै आएको छ ।
अनलाइन वा भौतिक रूपमा आवेदन दिएपछि सम्बन्धित विवरण सेक्युरिटी प्रिन्टिङ प्रेसमा पठाइन्छ। त्यहाँबाट पाँचदेखि सात दिनभित्र लाइसेन्स छपाइ भई विभागमा आइपुग्छ र त्यसपछि सेवाग्राहीलाई वितरण गरिन्छ ।
हाल विभागले सेक्युरिटी प्रिन्टिङ प्रेस, बनेपासँग सम्झौता गरेर लाइसेन्स छपाइ कार्य अघि बढाएको छ । विभागले नागरिक एप मार्फत डिजिटल लाइसेन्स देखाउन सकिने व्यवस्था मिलाएको छ । ट्राफिक प्रहरीले समेत यसलाई मान्यता दिने गरेको छ । ट्राफिक नियम उल्लंघन भएमा सोही डिजिटल लाइसेन्सका आधारमा चिट काट्ने र जरिवाना अनलाइन तिर्ने सुविधा उपलब्ध छ । यस व्यवस्थाले कागजी लाइसेन्स वा रसिद बोकेर हिँड्नुपर्ने बाध्यता हटेको विभागको दाबी छ ।
जेनजी आन्दोलनका क्रममा विभागमा आगलागी हुँदा करिब अढाई लाख लाइसेन्स जलेर नष्ट भएका थिए । लाइसेन्स छाप्ने मेसिनसमेत क्षतिग्रस्त भएपछि छपाइ प्रक्रिया प्रभावित भएको थियो । आन्दोलनबाट ठूलो क्षति पुगे पनि करिब ६० लाख ड्राइभिङ लाइसेन्ससम्बन्धी डेटा पुनर्जीवित (रिभाइभ) गर्न सफल भएको महानिर्देशक पोखरेलले जानकारी दिए ।
सेक्युरिटी प्रिन्टिङ प्रेसले पहिलो चरणमा १२ लाख लाइसेन्स छपाइ गरी उपलब्ध गराउने प्रक्रिया सुरु गरेको छ । वैदेशिक रोजगारी वा अन्य आपतकालीन प्रयोजनका लागि निवेदन दिनेहरूलाई प्राथमिकतामा राखिएको छ ।






Comments are closed.