काठमाडौं । विश्वकै प्रतिष्ठित पर्यटन प्रदर्शनी वर्ल्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) लण्डन २०२५ मा नेपालले आफ्नो प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र साहसिक पर्यटनका सम्भावनाहरू प्रस्तुत गरेको छ । नोभेम्बर ४ देखि ६ तारिखसम्म लण्डनको एक्सेल लण्डन मा भइरहेको यो मेला विश्वभरका पर्यटन व्यवसायी, लगानीकर्ता, ट्राभल मिडिया र सरोकारवालाहरूको सहभागितामा सम्पन्न हुँदैछ ।
नेपाल पर्यटन बोर्डको नेतृत्वमा २७ वटा नेपाली पर्यटन व्यवसायिक कम्पनीहरू — टुर अपरेटर, होटल, एयरलाइन्स प्रतिनिधि, संरक्षण साझेदार तथा सामुदायिक पर्यटन उद्यमहरू सहभागी छन् । नेपालले यस अवसरमा हिमाली साहसिकता, सांस्कृतिक सम्पदा, बौद्ध एवं आध्यात्मिक यात्रा, ग्रामीण अनुभव र वन्यजन्तु संरक्षणका सफल कथाहरू प्रस्तुत गर्दै नेपाललाई विश्वबजारमा “लाइफटाइम एक्सपेरियन्स डेस्टिनेशन” को रूपमा पुनःस्थापित गर्ने लक्ष्य राखेको छ ।
नेपाल प्रतिनिधिमण्डलको नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव एवं नेपाल पर्यटन बोर्डका अध्यक्ष हरि प्रसाद मैनालीले गरेका छन् भने समग्र समन्वय र प्रवर्द्धन अभियानको नेतृत्व प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले गरिरहेका छन् । अध्यक्ष मैनालीले विश्व पर्यटन बजारमा देखिएका परिवर्तनशील प्रवृत्तिलाई सम्बोधन गर्दै भने, “नेपाल सुरक्षित, आकर्षक र विविध अनुभव प्रदान गर्ने गन्तव्य हो । डब्ल्यूटीएम लण्डनजस्तो विश्वस्तरीय मञ्चमा नेपालको सहभागिताले हाम्रो पर्यटन पहिचानलाई अझ सुदृढ बनाउनेछ ।”
उनले थपे, “नेपालले जिम्मेवार पर्यटनलाई आफ्नो मूल दर्शनको रूपमा अवलम्बन गरेको छ। नयाँ सुरक्षा प्रोटोकल, वातावरणमैत्री नीतिहरू र समुदाय–आधारित संरक्षण कार्यक्रमहरूले प्रत्येक आगन्तुकलाई स्थानीय समुदाय र वातावरणमा सकारात्मक योगदान गर्न प्रेरित गर्छ ।”
त्यस्तै, नेपाल पर्यटन बोर्डका सीईओ दीपक राज जोशीले नेपाललाई “जीवनभर सम्झनलायक गन्तव्य” को रूपमा पुनर्स्थापित गर्न केन्द्रित भएको बताउँदै भने, “डब्ल्यूटीएम लण्डनमा हाम्रो सहभागिताले अन्तर्राष्ट्रिय साझेदारी विस्तार, आगन्तुक आगमन वृद्धि र नेपालको पर्यटन अर्थतन्त्र सुदृढिकरणमा निर्णायक भूमिका खेल्नेछ ।”
“हामी विश्वका यात्रुहरूलाई नेपाल पुनः खोज्न निम्तो दिन्छौं,” उनले भने, “जहाँ विशाल हिमाल, जीवन्त संस्कृति, अद्वितीय वन्यजन्तु र समर्पित समुदायहरू एकै ठाउँमा भेटिन्छन् । हाम्रो पुनरुत्थान सशक्त छ, संरक्षणप्रतिको प्रतिबद्धता अटल छ, र नेपाल यात्रुहरूका लागि पुनः खुला भइसकेको छ ।”
डब्ल्यूटीएममा रहेको नेपाल पविलियन (स्टल नम्बर N-12-511) ले “जहाँ प्रकृति, संस्कृति र संरक्षणको मिलन हुन्छ” भन्ने नारासहित नेपालको विविधता प्रस्तुत गरेको छ । पविलियनमा नेपालका प्राकृतिक दृश्य, सांस्कृतिक सम्पदा, धार्मिक–आध्यात्मिक स्थलहरू, साहसिक गतिविधि र सामुदायिक पर्यटनका दृश्यात्मक तथा अन्तरक्रियात्मक प्रस्तुतीकरणहरू प्रदर्शित छन् ।
आगन्तुकहरूले यहाँ हिमाली गन्तव्यहरू, ग्रामीण पर्यटन मोडेल, वेलनेस तथा ध्यान यात्रा, र संरक्षणमा स्थानीय समुदायको योगदानबारे प्रत्यक्ष अवलोकन गर्न सक्छन् । साथै, बीटु–बी (व्यापारिक भेटघाट) सत्र, नेटवर्किङ कार्यक्रम र अन्तर्राष्ट्रिय मिडिया तथा ट्राभल पार्टनरसँग सहकार्यका अवसरहरू पनि उपलब्ध हुने नेपाल पर्यटन बोर्डले जनाएको छ ।








Comments are closed.