पुरुषोत्तम सुवेदी/अञ्जली थापा, वाग्मती । मकवानपुरको हेटौँडामा निजी क्षेत्रको लगानीमा सञ्चालित दुई ठूला सिमेन्ट उद्योगले सञ्चालन गर्दै आएका चुनढुङ्गा खानीका कारण स्थानीयवासी समस्या भोग्दै आएका छन् । हटियामा रहेको शिवम् सिमेन्ट उद्योग र हेटौँडाको चुरियामाईमा रहेको रिद्धिसिद्धी सिमेन्ट उद्योगले चुनढुङ्गा खानीबाट मापदण्डविपरीत जथाभावीरुपमा खानी क्षेत्र उत्खनन गर्दा स्थानीय बासिन्दा सस्यामा परेका हुन् ।
खानी क्षेत्रको आसपासको सडक बिग्रिने भत्किने समस्या, धुलो धुवाँको समस्या, ध्वनि प्रदूषणलगायतका वातावरणीय समस्या स्थानीयवासी झेल्न बाध्य छन् । यसबाहेक चुनढुङ्गा झिक्दा पन्छाएका अन्य ढुङ्गा, गिटी, माटो सर्वसाधारणको जग्गामा फाल्ने कारण पनि अर्को समस्या भोग्न बाध्य भएको स्थानीयवासीको गुनासो छ ।
विशेषगरी सिमेन्ट उद्योगद्वारा सञ्चालित चुनढुङ्गा खानीका क्षेत्रमा दिनहुँ उत्खखनजन्य कार्य हँुदा हेभी मेसिन उपकरणको प्रयोग, टिपरको आवतजावत हुनेहुँदा सडक बिग्रिएकाले स्थानीयवासीमा समस्या हुँदै आएको हो । खानीमा चुनढुङ्गा उत्खनन गर्दा पाँच प्रतिशत चुनढुङ्गा निकाल्नका लागि ९५ प्रतिशत अरु ढुङ्गा, गिटी, माटो पन्छाएर बाहिर फाल्नुपर्ने हुन्छ । व्यवस्थितरुपमा उत्खनन कार्य नहुँदा समस्या बल्झिँदै गएको छ ।
शिवम् सिमेन्ट उद्योगले जिल्लाको गढी गाउँपालिकाको सुकौरा र बुढीचौरमा खानी सञ्चालन गरेको छ । त्यसैगरी चुरीमाईमा रहेको रिद्धिसिद्धी सिमेन्ट उद्योगले भीमफेदी गाउँपालिकाको भैंसे र कैलाश गाउँपालिका–४ लिक्चेडाँडामा रहेको गुराँस सिमेन्ट उद्योगको खानीबाट चुनढुङ्गा उत्खनन गर्ने गर्दछ ।
रिद्धिसिद्धी सिमेन्ट उद्योगको खानी क्षेत्रका व्यवस्थितरुपमा चुनढुङ्गा खानीको उत्खनन नगर्दा खानी आसपास क्षेत्रमा निस्कने धुलोका कारण एक दर्जन परिवारले गाउँ छाड्नुपर्ने अवस्था आएको स्थानीयवासीको भनाइ छ । स्थानीयवासी बलराम चेपाङले आफ्नो घर नजिकै डोजर चल्न थालेपछि खानी आसपासका क्षेत्रबाट निस्कने धुलोका कारण घर धुलाम्य हुने अवस्था आएको बताए ।
उद्योगले एकसाथ खानी आसपास क्षेत्रको जग्गा खरीद गरी रकम दिएमा पनि अन्य स्थानमा जाने स्थानीयवासी राममाया चेपाङले बताइन् । चुरीयामाईमा सञ्चालनमा रहेको रिद्धिसिद्धी सिमेन्ट उद्योगले गुराँस सिमेन्ट उद्योगको खानी कैलाशको लिक्चेबाट चुनढुङ्गा उत्खनन गर्दा यस क्षेत्रका धेरै परिवारलाई वातावरणीय दृष्टिकोणले प्रभावित पार्ने गरेको कैलाश गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तान बताउछन् ।
वर्षायाम लाग्नेबित्तिकै सडक सबै हिलाम्य भएर घर नै छोडेर जानुपर्ने बाध्यता भएको मकवानपुर गढी गाउँपालिका वडा नं ५ ज्यामिरेका भरतप्रसाद फुयाँलले बताए । उद्योगले खानी सञ्चालन गरेकै कारण स्थानीयले रोजगारीको अवसर पाएको रिद्धिसिद्धी सिमेन्ट उद्योगका खानी क्षेत्र हेर्ने इञ्जिनियर गणेशकुमार सिंह जिकिर गर्छन् ।
उनका अनुसार उद्योगले आफ्नो ओभरबटमका लागि तारबार लगाएको छ । उनले बाटो नभएका स्थानमा उद्योगले बाटो बनाएको बताए । इञ्जिनीयर सिंहले बाटोमा पानी छर्किएर धुलो उड्न कम गरेको जानकारी दिए । साथै ढुङ्गा निकाल्नका लागि रुख काटिएको भए पनि अन्य स्थानमा रोपिएको उनले बताए ।
शिवम् सिमेन्ट उद्योगले गढी गाउँपालिकाको सुकौरा, बुढीचौर र आमभञ्ज्याङका बासिन्दासँग खानी व्यवस्थितरुपमा सञ्चालन गर्ने भनेर धेरैपटक लिखित सहमति गरेको तर कार्यान्वयन भने नगरेको स्थानीय बासिन्दाको गुनासो छ । ती दुवै उद्योगले सम्झौताअनुसारको कार्य नगर्दा समस्या भएको जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल बताउछन् ।
जिल्लाका विभिन्न सिमेन्ट उद्योगले सञ्चालनमा ल्याएका चुनढुङ्गा खानीका कारण स्थानीयवासीका समस्या देखा परेकाले उद्योगसँग समन्वय गरी समस्या समाधान गर्न पहल गरिने योजना रहेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल बताउछन् । उद्योगले वर्षमा अर्बौं रकम नाफा कमाउने तर निजी स्वार्थका लागि गाउँलेलाई चपेटामा पारेर विस्थापित गर्न लागिएको भन्दै स्थानीयले विरोध गरिरहेका छन् ।
चुनढुङ्गा उत्खनन् गर्दा वन क्षेत्रमा समस्या
शिवम् सिमेन्ट उद्योगले सुकौरामा रहेको खानीमा चुनढुङ्गा उत्खनन गर्ने क्रममा जङ्गलका रुखसमेत नष्ट भएको पाइएको छ । उत्खनन गरेपछि निस्कने अरु ढुङ्गा, गिटी, माटो पन्छाउने क्रममा सयौं रुखका बिरुवा मरेका बताइएको छ । खानीमा चुनढुङ्गा उत्खनन गर्दा पाँच प्रतिशत चुनढुङ्गा निकाल्नका लागि ९५ प्रतिशत अरु ढुङ्गा, गिट्टी, माटो पन्छाएर बाहिर फाल्नुपर्ने हुन्छ ।
शिवम खानी क्षेत्रमा चुनढुङ्गा उत्खननपछि ओभरबटम बाहिर फाल्दा केही रु बिरुवा नष्ट भएको डिभिजन वन कार्यालय हेटौँडाका सूचना अधिकारी अच्युत उपाध्यायले बताए ।
रासस
Comments are closed.