‘३२५ एम संसारकै उत्कृष्ट डिष्ट्रिक्ट बनेको छ’

महेन्द्र पौडेल, डिष्ट्रिक्ट गभर्नर, लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपाल

‘लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपाल’ ‘लायन्स क्लब इन्टरनेशनल ३२५ बि-१’ बाट आएको हो । जुन संसारमै अब्बल डिष्ट्रिक्टको रूपमा रह्यो । हामी हाम्रो लिडरहरूको उपस्थितिमै डिष्ट्रिक्टलाई कसरी अब्बल बनाउन सकिन्छ भनेर शुरुआतमै रणनैतिक छलफल गरेका थियौं । फाउण्डेसन वर्ष भएको कारण डिष्ट्रिक्ट कम्तिमा लायन्सको ‘इथिक्स र नम्र्स’ मा बस्नुपर्छ भनेर हामीले तुम्लिङटारमा समिट गरेरै आचारसंहिता तथा घोषणापत्र अगाडि सारेका थियौं । कम्तिमा १० वर्ष डिष्ट्रिक्ट भित्र नेतृत्वको विवादमा नफस्ने र संस्थालाई बलियो बनाएर अगाडि बढ्ने कुरालाई प्राथमिकता दिएर अगाडि बढ्न हाम्रा लिडरबाट निर्देशन भएको थियो, त्यही अनुसार मैले आफ्ना कार्ययोजनालाई अगाडि बढाएँ ।

लायन्स अभियानमै उत्कृष्ट रहने प्रयास

विश्वमा ७४३ भन्दा बढी डिष्ट्रिक्ट छन् । ती डिष्ट्रिक्टका डिष्ट्रिक्ट गभर्नर इलेक्ट सेमिनारमा म सहभागी थिएँ, जहाँ विश्वभरीकै उत्कृष्ट गभर्नर बन्ने सौभाग्य मिलेको थियो । विश्वकै नं १ घोषित भएपछि त्यसलाई काममा कसरी देखाउने डिष्ट्रिक्टमा कसरी त्यसको छाप छाड्ने भन्ने कुराले मलाई सधै घच्घचाई रह्यो । यसको लागि मेरो लायन्स लिडरसँग व्यापक छलफल र सुझाव लिएर अगाडि बढें । जसकै कारण हाम्रो डिष्ट्रिक्ट विभिन्न सूचकका आधारमा विश्वभरीमै पहिलो स्थानमा आएको छ । हामी यो वर्ष २२ ओटा क्लब खोलेर पहिलो भएका छौं, सदस्य विस्तारमा राम्रो प्रस्तुति छ, त्यसमा पनि उत्कृष्ट पाँचमा पर्ने संभावना छ । नेपालका १५ डिष्ट्रिक्टको तुलनागर्दा यो सूचकमा हामी पहिलो मै छौं, नेपालको हकमा ‘कन्ट्रिव्युसन’ (आर्थिक योगदान) मा पनि डिष्ट्रिक्ट ३२५ एम उत्कृष्ट पाँचमा छ । लायन्स सेवाकार्यसँग जोडिएको संस्था भएको कारण कन्ट्रिव्युसन महत्वपूर्ण कुरा हो । ओरिएन्टेसन, ट्रेनिङ, सर्भिस, रिर्पोटिङमा हामी अगाडि छौं । क्लब अफिसर रिर्पोटिङमा शतप्रतिशत र नयाँ क्लबको हकमा बाहेक अरू गतिविधिको हकमा पनि शतप्रतिशत रिर्पोटिङ गरेर विश्वमै अब्बल डिष्ट्रिक्टको रुपमा आफूलाई स्थापित गराएका छौं । क्लब मोभिलाइजेसन र सेवाकार्यलाई व्यापक रूपमा प्राथमिकता दिँदै आएका छौं ।

नेपालमा ‘नेपाल लायन्स फाउण्डेसन गुठी’ छ । जुन कोषमा रहेको रकमको ब्याजबाट सामाजिक कार्य गर्दै आएका छौं । जसमा यस वर्ष काठमाडौं क्षेत्रका ६ र पोखरा क्षेत्रका ८ ओटा क्लब छनौट भएर यो कोषमार्फत सामाजिक काम गर्दै आएका छन् । डिष्ट्रिक्टअन्तरगत जनसहयोग माध्यामिक विद्यालय भार्से गुल्मीमा भवन निर्माणको लागि लायन्स अन्तराष्ट्रियबाट झण्डै ९५ हजार डलरको सहयोग पाएका छौं । हंगर रिलिफ, हंगर ग्राण्ट र हस्पिटललाई गर्ने सहयोग अहिले पाइपलाइनमा छन् ।

लायन्स आफैमा सेवाको क्षेत्रमा काम गर्दै आएको संस्था हो । त्यसमा पनि ३२५ एमको नारा शहरभन्दा दुर्गम गाउँ केन्द्रित भएर समस्या पहिचान गरि नागरिकले लाभ लिने गरि काम गर्नुपर्छ भन्ने मान्यताका साथ अगाडि बढेर हाम्रा क्लबहरूले काम गर्दै आएका छन् । रक्तदान, विद्यालयका स्टेशनरी, ब्याग तथा ड्रेस वितरण, वृद्ध आश्रम तथा बालगृहमा काम गर्दै आएका छौं । शिक्षक कम भएका विद्यालय तथा विद्यार्थी कम भएका विद्यालयमा हामी सहयोग गर्दै आएका छौं ।

अगाडिका नेतृत्वका अभियानलाई निरन्तरता

डिष्ट्रिक्टमा एनएलएफ गुठी राख्ने प्रावधान दुई दशकभन्दा लामो अभ्यास हो । जसलाई हामीले पनि आत्मसात् गरेर अगाडि बढाएका छौं । हाम्रा लिडर पास्ट गभर्नर धनराज आचार्यले अगाडि सार्नुभएको ‘पढाऔं अभियान’ लाई डिष्ट्रिक्टले प्राथमिकता दिएर अगाडि बढेको छ । यस अभियानमा एक करोड कोषको व्यवस्था गरिएको छ, त्यसको ब्याजबाट ६० जनाले सहयोग पाएका छन् । विश्वेश्वर आचार्यले शुरू गर्नुभएको ‘वेल फर बैंक’ भनेर उत्पादनमूखी कार्यक्रममार्फत मोडल भिलेजको अवधारणामा हामीले अहिले पनि काम गर्दै आएका छौं । अहिले स्याङ्जा, गुल्मी र अर्घाखाँचीमा गरि तीन ओटा मोडल भिलेजमा ३४ लाख रुपैयाँ सहयोग गरेर कार्यक्रम अगाडि बढाएका छौं । यसबाट अर्घाखाँचीमा पहिले एक–डेढ करोडको सुन्तला विक्री गरिँदै आएकोमा अहिले त्यही कार्यक्रम प्रवद्र्धनमार्फत ३३–३४ करोडको सुन्तला उत्पादन गरिएको सुन्नमा आएको छ । गुल्मी र स्याङ्जामा पशुपालन तथा कृषिमा सहयोग भएका छन् ।

संस्था तथा क्लबको क्षमता विकास

क्लबको क्षमता विकासमा हामीले अभियानका साथ अगाडि बढेका छौं । क्लबमा विभिन्न लिडर खटाएर लिडरसिप ट्रेनिङ चलाएका छौं । जोन, रिजन र मेन्टर लिडर परिचालन गरेर क्लबका कस्ता समस्या छन् र उनीहरूको क्षमता विकासमा के कार्यक्रम गर्न सकिन्छ भन्ने कुरालाई पहिचान गरेर अभियानमार्फत नै काम गरिरहेका छौं । हाम्रा डिष्ट्रिक्टका लिडरहरूले यही अवधिमा उत्कृष्टस्तरको ‘एफडीआई’ र ‘एएलएलआई’ तालीम दिनुभएको छ । यसका अतिरिक्त ‘आरएलएलआई’, ‘एलएलफी’ तालीममा समेत लिडरहरूले लिएर क्लबको क्षमता विकासमा काम गर्दै आउनुभएको छ ।

अन्य डिष्ट्रिक्टबीचको सौहार्दपूर्ण सम्बन्ध

नेपालमा १५ ओटा डिष्ट्रिक्ट छन् । १५ डिष्ट्रिक्टलाई मोनिटरिङ गर्ने काउन्सिल हुन्छ, म सोही काउन्सिलको सेक्रेटरीको रूपमा छु । मेरो सबै डिष्ट्रिक्ट गभर्नरहरूसँग राम्रो सम्बन्ध छ । नेपालमा लायन्स अभियानलाई कसरी सफल बनाउन सकिन्छ भन्ने कुरामा हामीले व्यापक छलफल गर्दै आएका छौं । मेम्वरसिप, फेलोसिप तथा सर्भिसका क्षेत्रमा कसरी प्रभावकारी काम गर्न सकिन्छ भनेर हामीले आपसमा समन्वय गर्दै आएका छौं ।

उत्कृष्टताका सहयात्री

डिष्ट्रिक्ट ३२५ एमलाई अब्बल बनाउनको लागि हाम्रा लिडरहरूले योगदान गर्नुभएको छ । हाम्रो अभिभावको रूपमा पास्ट काउन्सिल चियरपर्सन गिरिधारी शर्मा र पीडीजी धनराज आचार्यले अभिभावकत्व प्रदान गर्नुभएको छ । त्यस्तै फस्ट भीडीजी भीमलाल पौड्याल, सेकेन्ड भीडीजी चण्डीप्रसाद अर्याल, चिफ एडभाइजर धनिराम बराल लगायतको निरन्तर सहयोगविना डिष्ट्रिक्टले यो उपलब्धि हासिल गर्न सक्ने थिएन । क्याविनेटका लिडरहरू रत्न पराजुली, शिवनारायण श्रेष्ठ लगायत अन्य लिडर, क्लब पदाधिकारी लगायत सबै सदस्यको सक्रियताका कारण हामीले यो उत्कृष्टता हासिल गरेका छौं । उहाँहरूले हाम्रो कार्यकालको बाँकी समयमा पनि उत्कृष्टताका साथ काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । मेरो नेतृत्वलाई उत्कृष्टताको लागि फस्ट लेडीको रूपमा मन्दिरा खनाल पौडेलको पनि साथ रहेको छ, उहाँ आफै लायन्सको अभियानमा संलग्न हुनुहुन्छ ।

lcci
You might also like

Comments are closed.